NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

लागु औषध कारोबारीको गिरोहमा प्रहरी नै संलग्न

काठमाडौं । नेपालमा बढ्दो लागु औषध कारोबारमा एउटा डरलाग्दो दृश्य देखिएको छ । कारोबारीले प्रहरी अधिकृतलाई नै गिरोहमा आबद्ध गराउन थालेका छन् । पछिल्लो ६ महिनामा दुई प्रहरी अधिकृतको लागु औषध कारोबारमा संलग्नता देखिएको छ । जसमा एक इन्सपेक्टर र एक सइ छन् । गत साता लागु औषध नियन्त्रण ब्यूरो (एनसिबी) ले ब्राउन सुगर कारोबारी गिरोहमा संलग्नता देखिएपछि सइ पवन श्रेष्ठलाई पक्राउ गरेको छ । उनको लागु औषध दुव्र्यसन र कारोबार दुवैमा संलग्नता देखिएको ब्यूरोले जनाएको छ । उनी प्रहरी प्रधान कार्यालयअन्तर्गत सुरक्षा सेवा महाशाखामा कार्यरत थिए । भिआइपीको सुरक्षाको जिम्मेवारी भएका उनी साँझ बिहान ब्राउन सुगर कारोबार गर्दथे । ब्राउन सुगरसहित पक्राउ परेका रिकेशसिंह ठकुरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् । ठकुरीलाई ३८० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो । सो ब्राउन सुगर आफुले सइ श्रेष्ठसँग लिएको उनको बयान थियो । अनुसन्धानमा त्यो पुष्टि भएपछि श्रेष्ठ पक्राउ परेका हुन् । हाल उनी ब्यूरोको हिरासतमा छन् । सो गिरोहका दीपक नेपालीलाई पनि प्रहरीले ६४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । ललितपुरका स्थानीय श्रेष्ठ कलेजदेखि नै दुव्र्यसनमा फसेका थिए । आफुलाई खर्च जुटाउन उनी कारोबारमा समेत लागेको पाइएको छ । गत असारमा प्रहरीका एक इन्सपेक्टर नै लागु औषध कारोबारीको गिरोहमा संलग्न रहेको पाइएको थियो । ललितपुर परिसरमा कार्यरत रहेको बेला इन्सपेक्टर रुद्र शाही लागू औषध कारोबारमा संलग्न रहेका पुष्टि भएपछि उनलाई ब्यूरोले पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि जेलमा छन् । उनी पनि दुव्र्यसनबाट कारोबारमा लागेको खुलेको थियो । लकडाउनको समयमा उनले आफ्नै गाडीमा तराईबाट काठमाडौंमा लागु औषध ओसारपसार गर्दथे । ‘इन्सपेक्टर र सइ नै गिरोहमा संलग्नता देखिन थालेपछि हाम्रो चुनौती बढेको छ,’ ब्यूरोका एक अधिकारी भन्छन् ‘यसले लागु औषध कारोबारी शक्तिशाली हुँदै गएका छन् भन्ने दखाउँछ ।’ विगतमा पनि तल्लो तहका प्रहरीका लागु औषध ओासारपसारमा संलग्नता देखिएकोमा पछिल्लो समय अधिकृतहरुकै आबद्धता देखिन थालेको छ ।