NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

साझा पार्टीले भन्यो : केसीलाई मार्न खोजेको हो ?

नेपाल वाच/साझा पार्टीले चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा. गोविन्द केसीलाई सरकारले मार्न खोजेको आरोप लगाएको छ । अनसन बसिरहेका केसीको स्वास्थ्य बिग्रिए पनि सरकार उदासीन हुनुले सरकार उनलाई मार्न उद्यत भएको भन्दै साझाले प्रश्न उठाएको हो ।‘डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गर्दछ’ पार्टीका सह–प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुप¥यो ।’ उस्तै माग राखी पटकपटक अनसनमा बस्नुपर्ने स्थिति दोहोरिनुलाई साझा पार्टीले बिडम्वना भनेको छ । ‘डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्’ साझाले भनेको छ, ‘तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ।’वर्तमान प्रधानमन्त्रीले केसीका विषयमा क्रुर असंवेदनशीलता देखाएको आरोप साझाको छ ।‘वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन’ विज्ञप्तिमा उल्लेख छ, ‘“कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’प्रधानमन्त्रीले पटकपटक सार्वजनिक प्रतिवद्धता जनाउने तर कार्यान्वयन नगरेको आरोप साझाको छ । ‘पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनस् अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’ विज्ञप्तिमा उल्लेख छ । डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको छ । सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने भन्दै साझाले सरकारलाई सचेत गराएको छ ।