NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

खोटाङमा मरेका मान्छेले पनि बुझ्छन् भत्ता

२० असोज, खोटाङ । खोटाङमा मरेका मान्छेले पनि सरकारसँग बुद्ध भत्ता बुझ्दै आएका छन् । साकेला गाउँपालिका–५ मात्तिमकी अबमायाँ खत्रीको वि.सं २०७३ मा मृत्यु भयो । मृत्यु भएको ५ बर्ष वितिसक्यो तर उनले सरकारको कोषबाट नियमित बृद्ध भत्ता लिदै आएकी छन् । उनले नियमित रुपमा भत्ता बुझेको भर्पाइ समेत भेटिएको छ । मृतक खत्रीको नाममा जस्तै त्यो वडामा मृत्यु भइसकेका बालुकादेवी खड्का, बलबहादुर खड्का, मनमायाँ गुरागाइँ, मधुमायाँ गुरागाइँ, विष्णुमायाँ पौडेल, तुलसादेवी खत्री, पवित्रा घिमिरे, मनसिला राई, जङ्गमान राई, बहुतमायाँ राई, मदनबहादुर कटवाल, छत्रबहादुर राई, शुक्रबहादुर राई, कौसिला कटवाल र होमादेवी कटवालको नाममा पनि नियमित रुपमा सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ । मरेका मान्छेका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको घटना वडा अध्यक्ष वीरबल राईले स्वीकारेका छन् । तर उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । “सामाजिक सुरक्षा भत्तामा अनियमितता हुनुमा मेरो कुनै संलग्नता छैन”, उनले भने, “कर्मचारीको गद्दारीले हामी जनप्रतिनिधिको मर्यादामाथि नै आँच पुग्ने काम भएको छ ।” साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फुलसरी राई सो वडामै छैनन् । अहिलेको उमेर ७१ वर्ष खुलाएर नियमित भत्ता बुझ्दै आएको देखाइएकी तीनै जना फुलसरी राईको नागरिकता नम्बर ८६५र७२७ उल्लेख छ । तीनै जनाले वडा सचिवमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्दा औँठा छाप लगाएका छन् । यति मात्र नभइ उक्त वडामा मृत्यु भएपछि स्थानीय पञ्जिकाधिकारीको आधिकारिक हस्ताक्षरसहित मृत्यु दर्ता गराएका व्यक्तिको नाममासमेत अहिले पनि नियमित रुपमा सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताको घटना सार्वजनिक भएपछि गाउँपालिकाले छानबिन प्रक्रिया अघि बढाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “कर्मचारीले मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहो¥याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरिरहेको पाइयो”, उनले भने, “राज्यको रकम दुरुपयोग गरेको पाएपछि उपप्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । अनियमितता गर्नमा संलग्न जोकोहीलाई कानूनी कारवाही गरिनेछ ।” साकेला गाउँपालिकामा भएको भत्ता वितरण सम्बन्धी अनियमितताका विषयमा गृह मन्त्रालयले समेत चासो देखाएको छ ।