राजधानी बुटवलबाट दाङ गएपछि कसले के भने ?

नेपाल वाच/ रुपन्देहीस्थित बुटवलमा प्रदेश ५ को संसदमा लामो रस्साकस्सी र कुर्सी तोडफोडपछि प्रदेशको स्थायी राजधानी टुंगो लागेको छ । राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव आएपछि बुटवल आसपासका नेकपा र कांग्रेसका सांसदहरु आक्रोसित हुन पुगेका थिए । तर, नेकपाले दाङका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप लगाएपछि दुई तिहाई मतले दाङलाई स्थायी राजधानी बनाउने निर्णय गर्यो । पक्षमा ६९ र विपक्षमा १३ मत खस्यो । प्रदेशको नामाकरणका पक्षमा भने ७९ मत खस्यो । नामाकरणमा जम्मा चार जनाले मात्रै विपक्षमा भोट हाले । नेकपा केन्द्रकोसमेत सहमति भएपछि अन्ततः दाङले प्रदेशको स्थायी राजधानी पाएको छ । राजधानी घोषणा भएलगत्तै प्रभावकारी भूमिका खेलेको भन्दै पोखरेललाई बधाई दिनेको ओइरो लागेको छ । प्रधानमन्त्री केपी ओलीका सचिवालयका व्यक्तिहरु पोखरेललाई बधाई दिनेमा सबैभन्दा अगाडि देखिएका छन् । सल्लाहकार विष्णु रिमालदेखि सूर्य थापासम्मले राजधानी र नामका विषयमा उपयुक्त निर्णय भएको भन्दै सामाजिक संजालमार्फत बधाई दिएका हुन् । सल्लाहकार रिमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–जुन नामाकरण गर्नुपर्ने थियो । त्यही गरियो, जहाँ स्थायी राजधानी हुनुपथ्र्यो त्यहीं तोकियो ! बधाई लुम्बिनी ! त्यस्तै, सूर्य थापाले पनि मुख्यमन्त्री पोखरेलसँगको फोटो सामाजिक संजालमा हाल्दै लेखेका छन्– दुई तिहाई बहुमतले लुम्बिनी प्रदेश र भालुवाङ राजधानी प्रदेश सभाबाट शानदार रूपमा पारित । ऐतिहासिक निर्णय । यस निम्ति ( मुख्यमन्त्री शंकर पोखरेलको कुशल नेतृत्व र अरू सबैलाई हार्दिक बधाई । गुल्मीबाट कांग्रेसमा प्रतिनिधित्व गर्ने कांग्रेस नेता डा. चन्द्र भण्डारीले सामाजिक संजालमा असन्तुष्टि पोख्दै लेखेका छन्– समय समयको खेल ।जनताले नचिनेका नेता !!! “नेता“को परिभाषा नबुझेका नेता । पार्टीको रसिद नभैदियको भय हसियाँले पनि यिनको हातबाट घाँस काट्न मान्ने थिएन ।दाङबाट कांग्रेसमा प्रतिनिधित्व गर्ने कांग्रेस नेता दिपक गिरीले सामाजिक संजालमार्फत खुशी व्यक्त गरेका छन् । ‘भालुवाङ राजधानी तोक्न सफलतापूर्वक प्रयत्न गर्ने प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्यहरू, वुद्धीजिवी, संचारकर्मी, कर्मचारी, नेतागण तथा आम समर्थकहरूलाई हार्दिक वधाई एवम् खुशीयालीपूर्वक दीपावली गर्नुहुन शुभकामना व्यक्त गर्दछौँ !’ सामाजिक संजालमा उनले लेखेका छन् ।
प्रतिक्रिया