NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मिलेनियम ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाल्यो

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो । बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्र सञ्चालनमा आएका कारण पछिल्लो समयमा पदमार्ग क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । उनका अनुसार समितिले पदयात्रा मार्ग र यसका सम्भावनालाई उजागर गर्दै अधिकतम पर्यटकलाई उक्त क्षेत्रमा पु¥याउने दीर्घकालीन सोचका साथ पूर्वाधार विकासका कामलाई पनि उच्च प्राथमिकतामा राखेको छ । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक एवम् ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरवासलगायत विषयलाई समेटेर विस्तृत गुरुयोजना बनाइएको उहाँले बताए । छवटा प्रमुख उदेश्यका साथै अन्य २४ वटा रणनीतिक उदेश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई समितिले गुरुयोजनामा समेटेको छ । पदयात्रा मार्गमा पर्यटक लक्षित होटेल तथा रेष्टुरेन्ट खोल्ने क्रमले पनि गति लिएको छ । हाल १७ वटा होमस्टे सञ्चालनमा आइसकेको छ । प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्न यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालन लगायतका संस्कृतिको संरक्षणलाई पनि जोडिएको छ । विश्वमा नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर यस क्षेत्रमा पर्याप्त पाइने र चरा पर्यटनमा रुचि राख्नेहरूका लागि पनि यो पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको उनको भनाइ छ । पदमार्गमा आउने पर्यटकलाई आफू पुग्ने स्थानको जानकारी होस् भन्ने उद्देश्यका साथ अघिल्लो वर्ष विभिन्न ४० स्थानमा सङ्केत दिने सूचना पाटी राखिसकिएको छ । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ समेतलाई लक्षित गरी पूर्वाधार निर्माण अघि बढाइएको भए पनि एकाएक रुपमा फैलिएको कोरोना भाइरसले विकास निर्माणमा प्रभाव पारेको महासचिव गुरुङको भनाइ छ । झण्डै छ महिनाभन्दा बढी सुनसान बनेको पदमार्ग क्षेत्रमा कोरोना सङ्क्रमणका बाबजुद सुरक्षा मापदण्ड पालना गर्दै पूर्वाधार विकासका धेरै काम गर्न सकिएको उनले बताए ।