NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सडक सञ्जालसँग जोडिँदै हुम्ला

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो । यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली –२, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट –४ र ५ मा आइतबार गाडी पुगेको हो । भौगोलिक रुपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । बाजुरा हुँदै हुम्लाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन् । कर्णाली करिडोरअन्र्तगत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ । सर्केगाड र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन् । काठमाडौँ, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए । माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्काे पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन् । ताँजाकोट– ४ पुईमा खोला हुँदै ताजाकोट– ४ र ५ मा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमा गाडी पुगेसँगै उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट– ४ का प्रदिप बोगटीले बताए । यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीयवासी अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट दुई वर्षदेखि शुरु गरी सडक निर्माण गरिएको हो । रासस