NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ साउन २४ गते

रुप फेर्दै पहाडी जिल्लाका धावनमार्ग

बाग्लुङ । कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६र७७ भित्रै धावनमार्गको कालोपत्र गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोराना भाइरस र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बने पनि वर्षा रोकिएपछि कालोपत्रका लागि आवश्यक कामले तीव्रता पाएको छ । कालोपत्रका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माणकार्यले पुनः गति लिएको हो । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण प्रभावित बन्दै आएका कारण धावनमार्ग कालोपत्रको काम केही समय पछाडि धकेलिएको छ । अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले जानकारी दिए । ‘हामीले शुरुमा कोरोना भाइरस र लगातारको वर्षाका कारण काम गर्न सकेका थिएनौँं’, थापाले भने, ‘वर्षा रोकिएपछि दुई हप्ता अगाडिदेखि निर्माणमा तीव्रता दिँदा कटिङको काम सकिएको छ, ग्राभेल सङ्कलन गरिरहेको र तिहारलगत्तै ग्राभेल गरिने छ ।’ अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ । आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने ठेकेदार कम्पनीको दाबी छ । धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको थियो । आगामी फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा २२ मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । कोरोना र वर्षाका कारण निर्माणमा ढिलाइ भएकाले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रका लागि समस्या हुने देखिएको छ । विमानस्थलको धावनमार्ग र विमान पार्किङ कालोपत्रसँगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ । निर्माण कम्पनीका कारण कालोपत्रमा ढिलाइ नभए पनि कोरोना र वर्षाका कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दीपक बगालेले जानकारी दिए । बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र दुई इन्च कालोपत्र गरिनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।