NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

असफल हुँदा धैर्य गुमाइनँ, बरु असफलताका लागि जिम्मेवार कमजोरी केलाएर सुधार्दै लगेँ

बुबा निजामती सेवामा कार्यरत रहनुभएकोले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी जागिर खानुपर्छ भन्ने चाहना सानै देखि थियो । भक्तपुर बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा सकाएर नतिजाको पर्खाइमा बसेको थिएँ । वि.सं. २०५३ साल पुष ५ गते शुक्रवार लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले राजपत्र अनंकित तृतीय श्रेणी मुखिया पदको विज्ञापन गरेपछि बुबाको प्रेरणाले मैले फर्म भरेँ । पहिलो पटक लोक सेवा आयोगको परीक्षा दिँदा खासै पढ्ने तरिका थाहा नभए पनि बजारमा प्रकाशित भएका केही किताबहरु किनेँ । समसामयिक सामान्य ज्ञान तथा पत्रपत्रिकालाई आधार बनाएँ । १८ बर्षको हुँदा दिएको पहिलो परीक्षामा नै उत्तीर्ण भई वि.सं. २०५४ सालमा नेपाल सरकारको निजामती सेवाको मुखिया पदमा सिफारिस भई कार्यारम्भ गरेँ । त्यसपछि लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट विज्ञापन भएको राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदमा वि.सं. २०५९ सालमा, राजपत्र अनंकित प्रथम श्रेणी ना.सु. पदमा वि.सं. २०६० सालमा उत्तीर्ण भएँ । त्यस्तै लोक सेवा आयोग केन्द्रीय कार्यालयबाट विज्ञापन भएको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदको परीक्षामा वि.सं. २०६७ सालमा उत्तीर्ण भएँ भने आयोगबाट विज्ञापन भएको उपसचिव पदको परीक्षामा वि.सं. २०७४ सालमा उत्तीर्ण भई हाल संघीय संसद सचिवालयमा कार्यरतर रहँदै आएको छु । यस क्रममा मैले हुलाक, जिल्ला प्रशासन कार्यालय, नगर विकास, राष्ट्रिय सर्तकता केन्द्र, निर्वाचन आयोग, लोक सेवा आयोग लगायत कार्यालयहरुमा रहेर काम गर्ने अवसर पाएको छु । सफलता असफलता दुबै अनुभवनेपाल सरकारको मुखिया पदको परीक्षामा पहिलो प्रयासमा नै सफल भए पनि खरिदार र ना.सु. पदको परीक्षामा सफल हुनको मैले लागि असफलता पनि व्यहोर्नुप¥यो । त्यस्तै शाखा अधिकृत र उपसचिव दुबै पदको परीक्षामा पहिलो पटक असफल भएँ भने दुबै पदमा दोस्रो पटक सफल भएको हुँ । प्रतिस्पर्धाको परीक्षामा सबैजना सफल हुन सक्ने अवस्था रहँदैन । यसैले परीक्षामा असफल हुनुलाई पनि स्वाभाविक रुपमा लिनुपर्छ जस्तो मलाई लाग्छ । मैले असफल हुँदा पनि धैर्य गुमाइनँ, बरु असफलताका लागि जिम्मेवार म भित्रको कमजोरीलाई केलाउँदै र सुधार्दै आगामी परीक्षाको तयारीमा जुटेँ । परिणाम लोक सेवा आयोगबाट विज्ञापन भएको मुखिया, खरिदार, ना.सु., शाखा अधिकृत र उपसचिव क्रमशः सबै पदको परीक्षामा सफल हुनसकेँ । निरन्तरता नै सफलताको कडीलोक सेवा आयोगको परीक्षा विश्वविद्यालयको जस्तो निश्चित अङ्क प्राप्त गरेपछि मात्रै हुने नभै न्यूनतम उत्तीर्णाङ्क भन्दा बढी अङ्क ल्याउने परीक्षार्थीहरुमध्ये बढी अङ्क प्राप्त गर्ने परीक्षार्थी प्रतिस्पर्धाका आधारमा छनौट हुने हुँदा परीक्षार्थीको आफ्नो परीक्षाको गुणस्तरीयताले मात्र नभई अन्य प्रतिस्पर्धीको परीक्षाका आधारमा समेत सफलता वा असफलता निर्भर हुने गर्छ । एक पटक दुई पटक दिएर सफल भइएन भनेर निरास भएर परीक्षा नदिने वा तयारी गर्न अल्छी गर्ने हो भने सफलताको गन्तव्य अझै पर हुनसक्छ । यसैले हरेक सफलता वा असफलतासँगै मैले लोक सेवा अध्ययनलाई सधैँ निरन्तरता दिएँ र अझै पनि दिइरहेको छु । निरन्तरको प्रयासले सफलता हासिल गर्न असहज हुँदैन भन्ने कुरा विश्वास लाग्छ ।विषयवस्तुको अध्ययनसँगै बढी भन्दा बढी अभ्यासजुन तहको परीक्षाको लागि तयारी गर्ने हो आयोगबाट निर्धारित पाठ्यक्रमलाई समेट्ने किताब, सन्दर्भ सामग्री, पत्रपत्रिका, अनलाईन खबर, नेपाल सरकारका विभिन्न निकायका प्रगति प्रतिवेदनलगायत सामग्रीहरु जुटाई सरसर्ती हेर्दै टिपोट गर्ने, दैनिक घटना अध्ययनमा चासो दिने र यिनै अध्ययनसँगै दैनिकजसो लेख्ने अभ्यास गर्थेँ । परीक्षाको १५–२० दिन अगाडि पढ्ने भन्दा लोक सेवा आयोगबाट सोधिएका पुराना प्रश्नपत्रहरु तथा आफैँले सम्भावित नमूना प्रश्न बनाई हल गर्नेतर्फ केन्द्रित रहँदा म भित्र आत्मविश्वास अझै बढ्थ्यो । यसरी परीक्षाकै शैलीमा अभ्यास गर्नाले परीक्षामा समय व्यवस्थापन गर्न कठिन हुँदैनथ्यो । लोक सेवा तयारी कक्षाहुनत पहिले पहिले लोक सेवा आयोगको परीक्षा तयारी कक्षा अहिले जस्तो बजारमा छ्यास्छ्यास्ती थिएनन् । मैले मुखियादेखि शाखा अधिकृत पदको परीक्षा दिँदासम्म कुनै पनि तयारी कक्षामा सहभागी भइनँ । गत साल उपसचिव पदको परीक्षा दिनु अगाडि एक महिना तयारी कक्षामा सहभागी भएँ । तयारी कक्षाले विशेष गरी लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको अनुभव नहुने व्यक्तिहरुका लागि केही सहजै हुन्छ जस्तो लाग्छ । पृथक लेखन शैलीबजारमा सबै खालका अध्ययन समग्री पाइने तथा सबैले अध्ययन गर्ने हुँदा ज्ञानको कमी कसैसँग हुँदैन । प्रतिस्पर्धाको परीक्षा भएको हुँदा नतिजामा अब्बल आउनको लागि आफ्नो उत्तर दिने शैली अरुभन्दा पृथक र विशिष्ट प्रकृतिको हुनुपर्ने मैले अनुभव गरेको छु । धेरै पढेर र जानेर मात्रै सफल हुने होइन । यसका लागि प्रस्तुतीकरण उत्तीकै स्तरीय हुन जरुरी छ । यसैले हरेक प्रश्नको उत्तर दिने शैली आफ्नै पहलमा मौलिक बनाउने प्रयास गर्दै आएको छु । सुन्दर अक्षर, सादा कागजमा हरफ अनुशासन, थोरै वाक्यमा धेरै विषय समेट्न सक्ने गरी उत्तर दिने अभ्यास गर्नाले परीक्षामा सोही अनुरुप प्रस्तुती गर्न मलाई कहिल्यै पनि कठिन भएन । लोक सेवाको परीक्षा नसा जस्तैलोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन थालेपछि र उपल्लो तहमा पुग्ने भोकले गर्दा अध्ययन र सोको तयारी कुनै नसालु पदार्थको सेवनबाट नसा लागे भन्दा कम नहुने मेरो अनुभव छ । चाहे समाचार सुन्दा होस् वा लेख, रचना पढ्दा वा कुनै विषयमा विचार विमर्श गर्दा पनि त्यसलाई परीक्षाकै दृष्टिकोणबाट विश्लेषण गर्न मन लाग्ने । पढ्ने समय भएन, व्यस्त छु भने पनि आयोगको परीक्षामा सामेल हुनैपर्ने वाध्यता स्वस्फूर्त सृजना हुन्छ । यसैले लोक सेवा आयोगको तयारी दिनचर्याको अभिन्न अङ्ग भएको महसुस हुन्छ ।