NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

काका र भाईलाई देखेर मैले लोक सेवा पास गरें

सभ्य शहरमा भव्य संघर्षः वि. सं. २०५८ सालमा एउटा निलो झोलाभित्र केही लुगाफाटा बोकेर रात्री बस चढेर शुरूमा काठ्माण्डौं आउँदा विश्वविद्यालयस्तरीय पढाईसँगै सानो जागिरको त्यान्द्रोमा अल्झिने र वुवासँग खर्चपानी माग्न नपर्ने अबस्था बनाउने बाहेक अरू केही ठूलो सपना थिएन । काठ्माण्डौंको खाल्डो वाहिरवाट जति सभ्य र भव्य देखिन्थ्यो, भित्रवाट त्यत्तिनै धेरै भवितव्य भएको कुरा सफल जिवनको मिठो सपना बोकेर दिनरात मेहनत र संघर्षसँग जुध्ने गरी काठ्माण्डौंको खाल्डोमा आउने देशभरीका विद्यार्थी लगायत अन्य सबैलार्ई नयाँ कुरा भएन । त्यसमा पनि हामी प्राय गाऊँघरवाट आउने र परिवारको आर्थिक अवस्था कमजोर हुनेको कुरा नै नगरौं । महिनाको शुरूवातमा कोठाभाडा तिर्न र भोक लाग्दा हात–मुख जोड्न पाउनुपनि ठूलो कुरो भैहाल्यो । वि.सं. २०६७ सालमा म भारतीय बोर्डको पाठ्यक्रम पढाई हुने राजधानीका प्रतिष्ठित स्कुलहरू मध्ये एक, रूपिज ईन्टरनेशनल स्कुल, ताहाचलमा अंग्रेजी शिक्षक थिएँ । विहान स्नातकोत्तरका विद्यार्थीहरूलाई पढाउने र साँझ रसियन एवम् कोरियन विद्यार्थीहरूलाई पढाउने काम कम्ति रमाईलो थिएन । आर्थिक हिसावले पनि राम्रै थियो । वा भनौ, सरकारी जागिरभन्दा मलाई नराम्रो लागेको थिएन । रातो बंगाला स्कुलको माध्यामिक विद्यालयस्तरीय तालीम समेत लिईसकेको त्यो वेलाको मेरो सोचाई वाध्यताले एकदशक अगाडी शुरू गरेको शिक्षण पेशालाई व्यावसायिकता दिने हिसावको थियो भन्दा फरक पर्दैन । सोचाई थियो, तत्पश्चात क्याम्पस पढाउने र मेरो काका, त्यो वेलाका नामी अंग्रेजी विषयविज्ञ र हाल परराष्ट्र सेवातर्फका सहसचिव श्री घनश्याम भण्डारी, जस्तै बन्ने । यदी आजसम्मपनि मैले कसैलाई पछ्याएको छु भने त्यो व्यक्ति मेरो काका नै हुनुहुन्छ । मैले मेरो काकाको जीवन नजिकवाट देखेको छु र उहाँको भोगाईरूपी कितावको सायद म पनि एउटा पाना हुँ । लोकसेवा आयोगको पढाई शुरू गर्नु अगाडीको मेरो पृष्ठभूमिः स्कुलमा पनि म खासै कमजोर त होईन, तर कहिल्यै टप हुने विद्यार्थीपनि थिईन । घरको काम गर्दै पढेर सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गरें । आई.ए. र वि.ए. पनि काम गर्दै पढ्नु परेको हुँदा सेकेण्ड डिभिजनमा नै पास गरें । तर एम. ए. मा भने पढ्ने भूत जाग्यो भन्दा फरक पर्दैन । हुन त म यो समयमा पनि काम त गर्थें तर विहान वेलुकीको समयमा विश्वविद्यालय तथा रत्नराज्यलक्ष्मी क्याम्पसका साथीहरूको टिम बनाएर जिन्दगीकै सबैभन्दा राम्रो पढाइ पढियो । लाग्यो यति सेटल्ड मान्छेले त आफ्नो पेशा परिवर्तन गर्छ भने सरकारी जागिरमा केही त पक्कै छ । भनिन्छ “ईख नभएको मान्छे र विख नभएको सर्पको केही काम छैन“ । हो यही इखले नै म मा सरकारी सेवाको भूत सवार भयो । ४ / ५ जनाको टोलीले पढ्दा हप्तामा हामीले खाना बनाउने पालो पनि बाढ्यौं । कुनै दिन मैले सबै साथीको लागि खाना पकाएँ भने अर्को ४ दिन अरूले पकाउने हुँदा पुरै समय पढ्ने काम गर्यौं । त्रिभूवन विश्वविद्यालयको जंगलमा विहान पढ्न पसेपछि एकैचोटी साँझ निस्किन्थ्यौं । Tony Morrison sf] ‘Jazz’ होस या Jeffrey Archer sf] ‘Not a Penny More, Not a Penny Less’, पाठ्यक्रमबाहेकका अंग्रेजी साहित्यपनि गज्जब पढियो । अनि फस्ट डिभिजनपनि ल्याईयो, त्यो पनि एस.एल.सि. पश्चात पहिलो पटक । आज मेरा साथीहरू तेजप्रसाद न्यौपाने वकालत गर्छन्, महेश कार्की प्राध्यापन गर्छन्, तिलकराज पाण्डे स्कुल चलाउछन् भने दुर्गेश भट्टराई अष्ट्रेलियामा छन् । शाखा अधिकृत देखि उपसचिवसम्मः सरकारी कार्यालयहरूमा मेरो अनुभव नागरिकता र पासपोर्टलगायतका कागजात बनाउन गए बाहेकको केही ज्ञान वा अनुभव थिएन, न त यसको महत्वमा नै धेरै घोत्तलिएको थिएँ । मेरो मनमा त ईमिली डिकिन्सनको ‘I am Nobody ! Who are you?’ नामक कवितामा भनिएझै सफल र उद्यमशील व्यक्ति बन्ने सपना त थियो नै तर प्रशिद्ध हुने ध्येय थिएन । वि.सं. २०६७ साल मेरो लोकसेवा आयोगप्रतिको आकर्षण रहेको बर्ष भन्नुपर्छ, जति वेला मेरा आदरणीय काका र मेरो प्यारो भाई मुक्तिराम भण्डारी सरकारी सेवामा प्रवेश गरे । मेरो भाई २० बर्षमा नै सरकारी सेवामा प्रवेश गर्नु ठूलै संयोग थियो भने मेरा काका, जो शिक्षण पेशाका एक हस्ती हुनुहुन्थ्यो, उहाँको सेवा प्रवेशले मलाई झनै तरंगित बनायो । लाग्यो यति सेटल्ड मान्छेले त आफ्नो पेशा परिवर्तन गर्छ भने सरकारी जागिरमा केही त पक्कै छ । भनिन्छ “ईख नभएको मान्छे र विख नभएको सर्पको केही काम छैन“ । हो यही इखले नै म मा सरकारी सेवाको भूत सवार भयो । जव मनमा ढृढ संकल्प हुन्छ, त्याग र समर्पण हुन्छ, तिब्र ईच्छाशक्ति हुन्छ, तव त्यो अठोटलाई तातो फलाम वा काँचो माटोलाई आकार दिने संघर्ष गरेजसरी मेहनत गरियो भने पक्कैपनि गन्तब्यमा पुग्न सकिन्छ । मैलेपनि यस्तै अठोट, संकल्प र परिश्रम गर्न थालें । यसरी वि. सं. २०६७ सालको अन्त्यदेखि लोकसेवा को परीक्षा तयारी गरी पहिलो पटकमा नै २०६८ सालमा मैले शाखा अधिकृत पास गरें भने त्यसको पाँच बर्ष पुग्ने वित्तिकै पहिलो परीक्षामा नै उपसचिवमा पनि सिफारिस भएँ । लोकसेवा आयोगको परीक्षामा मेरो अनुभवः छरितो नोट बनाएँ जति वेला मैले लोकसेवा आयोगको परीक्षाको तयारी गरें, मैले सबैभन्दा पहिले त पाठ्यक्रम अनुसार नोट बनाएँ । नोट लामो र बोझिलो नभई छरितो र स्मरणयोग्य थियो । सबैले प्रयोग गरेझै मैले पनि कुनै शिर्षक वा विषयवस्तुको परिभाषा घोक्ने काम गरें भने उद्देश्य, महत्व, आवश्यकता, असर-प्रभाव, समस्या र समाधानका उपायहरूलाई कुनै एक आयाम घोकेर अरूको लागि पनि मिल्ने गरी सोधेमा लेख्न सक्ने गरी तयारी गरें । मैले उद्देश्य घोकेको भरमा अन्य सबै कुरा मिलाएर लेख्न सक्ने जुक्ति पनि लगाएँ ताकी कम समयमा धेरै तयारी गर्न सकियोस तथा कम विषय स्मरण गरेर तयारी छरितो गर्न सकियोस । सबै विषय घोक्न पनि सकिदैन र यदि घोकेमा परीक्षाको समयमा अलमल हुने, भुल्ने वा मिसिने पनि हुन्छ । भाषामा शुद्धता तथा लेखनशीपमा निखारता ल्याउने काम गरें । प्राय परीक्षार्थीहरूको तयारी व्यापक तथा सैद्धान्तिक ज्ञानको किरो भएपनि भाषिक अशुद्धता, वाक्यगठन गर्न नसक्ने वा जानेको कुरा मिलाएर लेख्न जनान्ने, वा बढि लेख्ने गर्दा फेल भएका घटनाहरू धेरै छन् । मैले यही विषयमा सुधार गरें तथा पढेसँगै लेख्ने विषयमा राम्रै अभ्यास पनि गरें । विषयगत परीक्षाको लागि परिचय, पृष्ठभूमि, भूमिका वा निष्कर्ष परिच्छेदमा तथा अन्य विषय बुलेट वा पोईन्टमा लेखें । यसो गर्दा तोकेको समयमा तोकेको ढाँचामा तोकेको उत्तर लेख्न सकिन्छ । अन्यथा समय नपुग्ने, वढि समय लाग्ने वा लेखेको तरिका नमिल्ने हुने रहेछ । परीक्षा अत्यन्तै Competitive हुने भएकोले गर्दा पढन्ते र घोकन्ते भन्दापनि Technical तयारी गर्न सकेमा यो परीक्षा पास गर्न सकिन्छ । समय तथा तनाव व्यवस्थापन तरिका जति जानेपनि जानेको कुरा तोकेको समयमा लेख्न सकिएन भने लोकसेवाको परीक्षा पास गर्न सकिदैन । त्यसैले ५ वा १० अंकको प्रश्नलाई कुल समयले भाग गरी समय छुट्टाई फर्म्याट अनुसार लेख्ने अभ्यास परीक्षापूर्व नै गर्नुपर्छ । यसो गरेमा सबै प्रश्नहरू उत्तिकै अंकभार तथा महत्वको हुने हुँदा साच्चिकै परीक्षाको दिनमा समय व्यवस्थापन हुने तथा परीक्षाको दवाव वा तनावपनि नहुने हुन्छ । घरमा परीक्षापूर्व यसरी तयारी गर्दा आफ्नो कमजोरी आफै थाहा पाउनको लागि मैले पनि मेरो साथी शिरिष उपाध्यायसँग मिलेर लेख्ने र एक/अर्काको उत्तर जाँच्ने काम गरें । यसले साथीभन्दा आफु कहाँ र कस्तो लेवलमा छु भन्ने पनि थाहा भयो । परिणामस्वरूप शिरिष जि र म सँगै पास पनि भयौं । स्वास्थ्यको हेरचाह र आनी बानी परिवर्तन हुन त लोकसेवा कतिले लकसेवा हो भन्छन् तर मैले यसलाई ९५ प्रतिशत पढेको कुरा दिमागमा लक गरी बाँकी परीक्षा वरिपरि ५ प्रतिशत लकको पनि साथ हुने भन्छु । नमरी स्वर्ग देखिदैन भनेझै नपढी लोकसेवा पास भईदैन । तर लोकसेवा पढ्दा मैले मासु वा बढि चिल्लो(पिरो खाने कुरा पनि खाईन । मायो क्लिनिकको अनुसन्धान अनुसार मासु खानाले यसलाई पचाउन शरिरलाई २४ देखि ७२ घण्टा लाग्ने (पुरूषलाई ३३ र महिलालाई ४७ घण्टाको औषतानुसार), चिल्लो वा पिरो खाना खानाले पेटमा गडबडी हुने हुँदा यस्तो खाने कुरामा पनि मैले नियन्त्रण गरें । साँझ छिटो सुतेपनि म बिहानै उठ्ने गर्दथें । यसरी विहानको समयमा पढ्ने वा घोक्ने अनि साँझको समयमा लेख्ने काम गरें । कसैको राती ढिलोसमयसम्म बस्ने बानी छ भने साँझ वा राती नै पढ्नुपर्दछ र बिहान ढिलोसम्म सुतेपनि हुन्छ । तर आफ्नो सानै देखिको बानीमा अहिले आएर परिवर्तन गर्न खोजियो भने यसले सकारात्मक भन्दा नकारात्मक नतिजा दिन्छ । त्यसैले आफ्नो बानीलाई परिवर्तन गर्नुको साटो सुधार्नु, निखार्नु वा तिखो पार्नु जरूरी छ । कसैले १८ घण्टा पढ्नुपर्छ भनेको भरमा १८ घण्टा न त पढ्न सकिन्छ, न त पढेको कुरा दिमागमा बस्छ । त्यसैले मैले मुस्किलले १ घण्टा पढें भने १५ मिनटजतिको ब्रेक लिन्थें । अचानक मनमा सरकारी जागिरको भोकको सपनाले ब्यूझाउथ्यो र पुनः १ घण्टा समर्पणका साथ पढ्ने गर्दथें । यसो गर्दा पढेको कुरा मनन् हुने र स्मरण गरेको विषय लेख्न पनि सकिने हुन्छ । यसवीच मैले सुधारेको वानी भनेको घुमफिर बन्द गर्नु, भेटघाट घटाउनु र फेसवुक लगायतका सामाजिक सञ्जालको प्रयोग नगर्नुपनि हो । सबैको आ–आफ्नै बानी हुन्छ, तर यस्ता कुराहरूवाट ५–६ महिना टाढा हुँदा जिवनभरी फाईदा हुने कुरा मनन् गरेर सकेसम्म आफुलाई नियन्त्रण गरेकै राम्रो । अध्ययन गर्ने तरिका साधारण ज्ञान अध्ययन गर्दा घोकेर साध्य छैन । त्यसैले मैले यस्ता विषयहरू धेरैपटक दोहोर्याएर पढें । साथीसँग सोधेर आफ्नो तयारीमा निखार्ता ल्याएँ भने घरमा एक्लै पढ्दा उत्तर छोपेर प्रश्न पढी अनुमान गर्ने गरें । कत्ति कुराहरू जस्तै दिवस वा मितिमा कथा पनि बनाएँ ताकी परीक्षाको दिनमा मिति वा दिवसको याद नभएपनि कथा याद होस । उदाहारणको लागि (मैले पनि सुनेको) हात धुने दिवस, भोकमरी दिवस तथा गरिवि निवारण दिवस याद गर्न यसो गरें । October 15 मा हात धुने, October 16 मा खाना खाने र October 17 मा गरिवि निवारण हुन्छ । त्यस्तै मैले आफैले स्मरण गर्ने शुत्र पनि बनाएँ । July महिनामा ७ तारिख सबैलाई माफी गर्ने -Global Forgiveness Day_, माफी गरेपछि सोही दिन सबैसँग सहकार्य हुन्छ -July 7 मा नै International Day of Cooperation_ यसले गर्दा ११ तारिख संसारको सबै जनसंख्याको मानसिकतामा परिवर्तन आई -11 July, World Population Day_ पर्छ । , १२ तारिखदेखि सबै भन्दा कम उमेरमा नोवेल शान्ति पुरस्कार विजेता मलाला -July 12: World Malala Day_ बनिन्छ । सामान्य बौद्धिक परीक्षणको अध्ययन गर्दा स्कुलमा गणित पढेजसरी नै फर्मुला र टेक्निकको तयारी, स्मरण र अभ्यास गर्नु जरूरी छ । आजभोली त तयारी कक्षा लिन जाँदा त विभिन्न प्रशिक्षकहरूले यस्ता टिप्स धेरै नै दिने गर्छन् । यदि त्यो मात्र पनि सिकियो भने लोक सेवा पास गर्न खासै गाह्रो हुदैन । अन्य तरिकालाइ परिवर्तन रेडियो वा टिभीमा समाचार सुन्ने, राष्ट्रिय पत्रपत्रिका पढ्ने, यसमा पनि प्रशासकहरूको लेख रचना भएमा कटिङ गरेर फाईलिङ गर्ने, यसवाट सम्वन्धित विषयको टिपोट गर्ने । पूराना प्रश्नपत्रहरूको संगालोवाट शनिवारको दिन घरमा परीक्षा दिए जसरी लेखेर अभ्यास गर्ने, आफ्नो उत्तर आफै र साथीमार्फत जाँच्ने, छलफल गर्ने र कमजोरी पत्ता लगाउने । गाडीमा सवारी गर्दा वा काम गर्दा होस, हिड्दा वा खाली बस्दा होस, आफुले पढेको कुरा स्मरण गर्ने प्रयत्न गर्ने, उत्तर लेख्दा सबैले लेख्ने तरिका भन्दा जाँचकीले मन पराउने गरी केही Innovative तरिका प्रयोग गर्ने । वेभसाईटको सहयोगले कुनै पनि विषयमाथि गहिरो तरिकाले खोज गर्ने, पाठ्यक्रमले तोकेको विषयबाहेक समयसान्दर्भिक अन्य विषयपनि तयारी गर्ने तथा संभावित प्रश्नहरू आफैले बनाएर लेख्ने अभ्यास गर्ने गरें । अन्त्यमा लोकसेवा परीक्षाको तयारी गरिरहनुभएका पाठक तथा परीक्षार्थी साथीहरूलाई मेरो सुझाव के छ भने लोकसेवा आयोगको परीक्षा तयारी गर्दा के के कुरामा ध्यान दिने, कसरी पढ्ने तथा के कस्ता तरिकाहरू अवलम्वन गर्ने भन्ने विषयमा सेवा प्रवेश गरेका सफल व्यक्तित्वहरूसँग समन्वय र छलफल गर्नुपर्दछ । यदि यो संभव छैन भने यसरी नयाँपत्रिका लगायतका लोकसेवा आयोगसम्वन्धी पाठ्यसामाग्रीहरूमा अग्रज एवम् दिग्गजहरूको अनुभव पढेरपनि प्रभावित हुन सकिन्छ । लोकसेवा आयोगको परीक्षा सोचेजस्तो सहज त नहोला, तर असम्भवपनि छैन । परीक्षा तयारी बिधि र तौरतरिका बैज्ञानिक एवं व्यबस्थित बनाऊँदै यसप्रतिको लगाव र झुकाव बढाई सोही बमोजिम नियमित मेहनत गरेमा पास गर्न सकिन्छ । कडाभन्दा कडा परीश्रम गर्दापनि पास हुन नसक्ने, तर कसैले कम मेहनत गर्दा पनि एकै पटकमा यो परीक्षा पास भएका विद्यार्थीहरू हामीले थुप्रै देखेका छौ । तरिका मिलाएर पढ्नु नजान्नु यसको प्रमुख कारण हो भन्न सकिन्छ । लोकसेवा परीक्षा अन्धाधुन्धमा तयारी गर्ने कुरै होइन, पढ्दा सुत्रहरु बनाएर पढ्नुपर्दछ । पढ्नका लागि रूटिन बनाई दिनहुँ ३ देखि ४ घण्टा समय निकाल्नुपनि पर्छ । लेखेर पढ्ने तथा पढेर घोक्ने गर्दा परीक्षा तयारी प्रभावकारी बन्दछ । मरिमेटेर लेख्दैमा मात्र पनि हुँदैन, किताब हुबहु घोक्दैमा उत्तीर्ण भइन्छ भन्ने पनि छैन । पढेका कुराहरुलाई चिन्तन–मनन गर्ने तथा फर्म्याट बनाएर पनि लेख्ने गर्नुपर्दछ । परीक्षामा लेख्नु नै पर्ने हुँदा आफले जानेको नभई प्रश्नले मागेको व्यहोरा तोकिएको समयमा चातुर्यपूर्ण ढाँचाले प्रस्तुत गर्नुपर्छ । यसका लागि विद्यार्थीहरूले लेखन अभ्यासलाई नियमित बनाउनु नितान्त आबश्यक हुन्छ । समसामयिक विषयमा अप टु डेट हुनुपर्छ । यसले बजारमा उपलब्ध तयारी पाठ्यपुस्तकमा समेटिन नसकेका विषयमा जानकारी प्रदान गर्नुका साथै थप ज्ञान हासिल गर्न सहयोग पुर्याउने गर्दछ । पढेका कुराहरुलाई फुर्सद पाउने बित्तिकै स्मरण  र मनन् गर्नु पनि परीक्षा तयारीको अर्को तरिका हो । यसो गर्दा दिमागमा बिषयबस्तु सेट भइरहने र आवश्यकता अनुसार अभिव्यक्त गर्न सकिन्छ । लोकसेवा पढ्ने विद्यार्थी कल्पनाशील पनि हुन आवश्यक छ । भविष्यमा लोक सेवा आयोगको परीक्षा ऊत्रीर्ण भई कार्यालयबाट सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाह गरेको कल्पना गर्नुपर्छ । यस्तो अभ्यासले भित्रैबाट पढ्ने इच्छाशक्ति जागृत हुने तथा भित्रैवाट अभिप्रेरित हुने हुन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय समाचार तथा पत्रपत्रिकाहरू सुन्ने एवं पढ्ने, महत्वपूर्ण घटनाक्रमहरू टिपोट गर्ने, सार्बजनिक सेवामा आबद्ध व्यक्तित्वहरूसँग छलफल गर्ने । साथीभाईहरूसँग सहअध्ययन वा छलफल गर्नाले समेत पनि परीक्षार्थीलाई नतिजामूलक परीक्षाको तयारीका लागि अत्यन्तै फाइदा पुग्छ ।