NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्वास्थ्य क्षेत्र सुधारमा पहिलाे पटक राज्यद्वारा एक अर्ब ५४ करोड निकासा

सरकारले कोभिड–१९ को प्रभावकारी उपचारमा विभिन्न स्वास्थ्य सामाग्री खरिद गर्न देशभरका अस्पताललाई एक अर्ब ५५ करोड रुपैयाँ बजेट निकासा गरेको छ । कोभिड–१९को उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर, आइसीयु लगायतका स्वास्थ्य सम्वन्धी उपकरण खरीदका लागि उक्त पैसा निकासा भएको हो । नेपाल सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा एकै पटक यति धेरै पैसा निकासा गरेको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी, डडेलधुरा लगायतका अस्पतालहरुलाई उच्च प्राथमिकतामा बजेट निकासा गरेकोे छ । यी अस्पतालहरु प्रत्येकले पाँच वटा भेन्टिलेटर सहित १५ वटा आईसीयुको व्यवस्थापन गर्नुपर्ने छ । त्यसका लागि एक अस्पतालले तीन करोड रुपैयाँ बराबरको बजेट पाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार भेन्टिलेटर सहित दश आईसीयु बेड खरिदका लागि दुई करोड रुपैया निकासा गरेको हो । त्यसैगरी, मन्त्रालयले ०७७ साल भदौ २१ गतेको कोभिड कोषको निर्णयबाट त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा दश भेन्टिलेटर सहित १४ आइसीयुको लागि पाँच करोड ७५ लाख रुपैया बजेट निकासा दिएको छ । यस्तै धुलिखेल अस्पताल–धुलिखेलमा ५ भेन्टिलेर र १४ आईसीयुका लागि दुई करोड ८५ लाख रुपैया निकासा गएको छ । नेपाल प्रहरी अस्पताल–महाराजगञ्जमा २० आईसीयु सहित भेन्टिलेटर र अन्य व्यवस्थापनका लागि आठ करोड ४० लाख रुपैया निकासा गरेको छ । यस्तै, प्रदेशतर्फ धनकुटा अस्पताल, पाँचथर अस्पताल, सर्लाही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ्ग अस्पताल, दमौली अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, कालीकोट अस्पताल र सल्यान अस्पताल सहित प्रत्येक अस्पतालमा चार वटा भेन्टिलेटर, १० आईसीयुका दरले ५२ भेन्टिलेटर र एक सय २० आईसीयुका लागि दुई– दुई करोडका दरले २८ करोड रुपैया निकासा दिएको छ । मन्त्रालयले जाजरकोटको चौरझारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरीद र ल्याब व्यवस्थापनका लागि पचास लाखका दरले एक करोड रुपैँया दिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र–बाँसबारीलाई कोभिड– १९ सम्बन्धी उपकरण खरीदका लागि एक करोड रुपैँया र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई कोभिड–१९ तथा अन्य स्वास्थ्य सम्बन्धी विषयवस्तुमा अनुसन्धान गर्ने प्रयोजनका लागि दुई करोड बजेट निकासा दिएको छ । यसबाहेक, हालसम्म अस्पताल स्थापना नभएका स्थानीय तहहरुमा कम्तीमा पाँच वेडको अस्पताल सञ्चालन गर्न वेड, उपकरण र जनशक्ति व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा १० लाखको दरले छ सय ४९ स्थानीय तहमा ६४ करोड ९० लाख रुपैयाँ अनुदान दिएको छ । कोभिड–१९को उपचारमा भेन्टिलेटर, आइसीयुको व्यवस्थापनलाई लिएर धेरै प्रश्न उठेपछि कोभिड–१९को उपचार थप व्यवस्थित गर्न एकै पटक एक अर्ब ५५ करोड निकासा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष