NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सावर्जनिक प्रशासनमा रोलमोडलको खडेरी

नेतृत्व सम्बन्धी आधारभूत मान्यता नेपालको सार्वजनिक क्षेत्रको चर्चा परिचर्चा गर्ने सिलसिलामा चियापसलमा होस वा संसदमा वा प्राज्ञिक निकाय वा जमघटमा सदैव हुने गरेको टिप्पणी हो ‘हाम्रो देशमा नेतै भएनन्, रोल मोडल नै भएन, कसलाई मानक मान्ने?’ आदि आदि । यस्तो चर्चा केवल चर्चा वा समय कटाउने छलफल मात्र नभएर अन्तरमनबाट सिर्जित सुधारतर्फको तृष्णा वा राम्रो भइदिए हुन्थ्यो भन्ने उत्कृट अभिलाषा र वर्तमान अवस्था वा नेतृत्वप्रतिको असन्तुष्टिको उपज पनि हो । कुनै वैज्ञानिक अनुसन्धान भएर नेपालको प्रशासनिक नेतृत्व कस्तो छ भन्ने तथ्य छ कि छैन त्यो थप खोजेको विषय होला तर आमजनमानसले विभिन्न माध्यमबाट व्यक्त गरेको विचार र भावनालाई जनमत मान्ने हो भने पनि रोल मोडल नेतृत्वको अभाव धेरैलाई महशुस भएको हुनसक्छ । वृहद अर्थमा सबै वा वहुसंख्यक सरोकारवालाको भावना र उद्देश्यलाई वैध र वैधानिक संयन्त्रमा प्रशोधन गरी नतिजा तर्फ मुखरित गर्ने व्यक्ति हो नेता । परम्परागत परिभाषामा नेताले समर्थकहरु बनाउँछ र समर्थकहरुलाई विना हिच्किचाहट नीतिको कार्यान्वयन होमिन अभिप्रेरित गर्छ । नेतृत्व आम सरोकारवाला वा समर्थकहरु भन्दा मानसिक बौद्धिक वा मनोवैज्ञानिक तवरले भिन्न हुन्छ र भिन्न किसिमले विषयलाई प्रस्तुत गर्दछ । सीधा रेखामा नेतृत्व चल्दैन । नतिजा वा परिणाम र प्रभावको ख्याल गरेर कतिपय अवस्थामा ‘आउट अफ बक्स’ बाट सोच्दछ र अफ्ठ्यारो बाटोमा पनि यात्रा तय गर्ने साहस राख्दछ । आध्यात्मकि दृष्टिकोणबाट हेर्ने हो भने नेतृत्व मनलाई नियन्त्रण गर्नसक्ने, पारिवारिक-सामाजिक जञ्जालबाट आफूलाई तुलनात्मक रुपमा मुक्त पारी बहुजन हितायको भावले निर्देशित एवं मनोबैज्ञानिक सुद्धिकरण भएको हुनुपर्छ । महाभारतको युद्ध जित्ने क्रममा वा धर्मको रक्षा गर्ने क्रममा भगवान श्रीकृष्णले नेतामा धर्म, धैर्य र साहस हुन जरुरी हुने कुरा बताएको पाइन्छ । आर्थिक सामाजिक इतिहासको क्रममा बैज्ञानिक तथा दार्शानिक र सामाजिक विज्ञानका विद्वानहरुले नेतालाई विभिन्न रुपमा अर्थ्याएको भए पनि नेताले समर्थक वा सरोकारवालामा अभिप्रेरणा, ज्ञान, वफादारिता, कर्तव्यनिष्ठता र स्वतस्फूर्त परिचालनको प्रवाह गर्दछ वा गर्नुपर्दछ भनी उल्लेख गरिएको पाइन्छ । प्रशासनिक इतिहासका तवरले कुनै पनि मुलुकले विशुद्ध प्रशासनिक राष्ट्रिय नेतृत्वको ठूलो चर्चा भएको नपाइ तापनि राजनीतिक-प्रशासनिक नेतृत्वको चर्चा भने प्रशस्त पाइन्छ । विकासको कालखण्ड अनुसार प्रणाली बसाउने वा सञ्चालन गर्ने, मूल्य मान्यताको प्रवर्द्धन गर्ने, नियमित सुधार र श्रीवृद्धि गर्ने दृष्टिवाट नेतृत्वको महिमा लेखिएको पाइन्छ । नेपालको प्रशासनिक नेतृत्व नेपालको सार्वजनिक प्रशासनमा नेतृत्वको विकास पदमा आधारित छ । पदेन नेतृत्वको निर्माण पदसोपानका खुडकिलाहरु उक्लदै प्राप्त हुन्छ । लामो अनुभव र ज्ञानले नेतृत्व पैदा गरिरहेको पाइन्छ । निजामती सेवाको विभिन्न किसिमका पदपूर्ति र बढुवा प्रणालीबाट व्यक्ति माथिल्ला पदहरुमा उक्लदै जान्छ । यसरी मेरिटोक्रेसीमा आधारित भर्ना छनोट र बढुवाको अभ्यासबाट बन्ने नेतृत्वबाट सबैले गुणात्मक सुधार, सही मार्गदर्शन र अभिभावकत्वको अपेक्षा गरिएको हुन्छ । राज्यका कैयन आर्थिक सामाजिक विकासको नीतिगत विशेषज्ञता सहित नेपालका प्रशासनिक नेतृत्वबाट उत्कृष्ट योगदान दिएको कैयन उदाहरण हरु पनि छन् । कुशल नेतृत्व र अभिभावकत्व प्रदान गरी प्रशासनको साख र गरिमा उचो पार्न महत्वपूर्ण भुमिका निर्वाह भएका दृष्टान्तहरु पनि दिन सकिन्छ । तथापि आम रुपमा नेपालको सिंगो प्रशासन र खासगरी नेतृत्व तहप्रतिको असन्तुष्टि राजनीतिक, सामाजिक र स्वयं प्रशासनिक क्षेत्रबाट पनि बारम्बार प्रकट भइरहेका छन् । संज्ञानात्मक वेमेल जब जब माथिल्ला पदहरुमा व्यक्ति पदोन्नति हुँदै जान्छ क्रमश सेवा प्रवेश गर्दाको जोस, जाँगर र उर्जा क्रमश शिथिल भएको भान हुन्छ । तलका पदहरुमा रहँदा ‘कर्मचारीतन्त्र यस्तो बनाउनुपर्छ, यसो हुनु हुँदैन, संसारका यी देशहरुमा यस्ता व्यवस्था छन’ आदि आदि डिंग हाँक्ने व्यक्ति साँच्चै गर्न सक्ने/पाउने स्थानमा पुग्दै गर्दा किन शिथिल बन्न पुग्दछ ? यो ठूलो चिन्ताको विषय हो । हिँजो कार्यालय प्रमुख वा हाकिमबाट भएका नमीठा व्यवहार, बडप्पन, लाचारीपन र आत्मरतिको निन्दा गर्न नथाक्ने व्यक्ति त्यही पथमा आज हिँडन पुग्दछ । के त्यस्तो अहंकारले अन्धकारको सिर्जना गर्दछ जुन कुरा हिँजो देखिएको थियो आज देखिदैन? ‘म त व्यवसायिक कर्मचारी हुँ, काम नै मेरो धर्म हो, राजनीतिक दाउपेचको बलमा म अमर्यादित वा स्वार्थी हरकत गर्दिन’ भन्ने लाग्ने व्यक्ति किन आफ्नो आत्मस्वभिमानमा टिकिरहन सक्दैन ? यी अनेक प्रश्नहरु उब्जिन्छ जब हामी सार्वजनिक प्रशासनको नेतृत्व र अभिभावकत्वको कुरा गर्दछौं । कुनै व्यक्तिले अमुक जिम्मेवारीको चाहना राख्नु अस्वभाविक नहोला तर किन अमुक जिम्मेवारीका लागि न्यूनतम प्रशासनिक मूल्य र हिँजो आफैलाई अनुभूति भएको नकारात्मक अभ्यास गर्न लाचार हुन्छन र अवाञ्छित तरिका र पात्रलाई आमन्त्रण गरि गरी प्रशासनलाई धमिल्याउने काम गर्छन व्यक्तिहरु यो ठूलो खोजको विषय हो । वा लोभ लालचले सिर्जना गरेको आस वा त्रासको परिणति मात्र हो । यसरी हेर्दा नेपालको प्रशासनमा रहेको पदेन नेतृत्वले सही अर्थमा मुलुकी प्रशासनको श्रीवृद्धी र लाखौ राष्ट्रसेवकको अभिभावकत्व निर्वाह गर्ने सन्दर्भमा गहिरो चिन्तन जरुरी छ । रोल मोडल नेतृत्व सार्वजनिक प्रशासनका राष्ट्रसेवकहरु जो साँचै योगदान दिन चाहन्छन वा गल्ति कमजोरीहरु सच्च्याएर अघि बढन चाहन्छन उनीहरुले कसलाई आदर्श मान्ने ? को जस्तो हुन वा बन्न खोज्ने ? कसलाई रोल मोडल वा मानक मानेर अघि बढने ? ठूलो असमञ्जस्यता छन कमर्चारीवृत्तमा । जुनसुकै राजनीतिक नेतृत्व सत्तामा आए पनि मूलुक र नागरिकको हितलाई नकारात्मक असर पार्ने नीतिगत निर्णय प्रतिरोध गरेको, आफ्ना र आसेपासेको स्वार्थ भन्दा माथि प्रशासनिक मूल्य, मान्यता र प्रणालीको जगेर्ना गरेको, वा कसैको बहकावमा वा प्रभावमा नपरीकन निर्णय लिने गरेको, निजामती प्रशासनमा पूर्णतया कानून, विधि र प्रणाली अनुसरण गरेको, तथा आफ्नो पद, अधिकार, इज्जत वा स्वार्थलाई तिलाञ्जली दिएर पनि प्रणालीको बचाउका लागि त्याग गरेको यस्ता कैयन चरित्र र व्यवहारको कल्पना गर्दछन धेरै राष्ट्रसेवकहरु । तर यी सब कुरा लेखहरुमा लेख्ने र सपना बुन्ने कुरा मात्र हुन त भन्ने कुरा चिन्ता विषय बनेको छ । त्यसो त प्रशासनिक नेतृत्व सेवाकालमा नै पनि र सेवा निवृत्त भएपछि त झन प्राय गुमनाम हुने गर्दछ । तथापी राजनीति र समाजनीतिको कार्यान्वयन, राज्य वा सरकारको सफलता र साख साथै बलियो राज्यप्रणाली सहितको समुन्नत र समृद्ध समाज निर्माणमा प्रशासनिक नेतृत्वको भूमिका महत्वपूर्ण रहन्छ । प्रशासनिक व्यवसायिकता सहितको दरो प्रणाली स्थापित भएको मुलुकमा राजनीतिक नेतृत्वको बारम्वारको फेरवदल वा अस्थितरता र अन्य समस्या भए पनि स्थायी सरकारको रुपमा सार्वजनिक प्रशासनले मुलुकको आर्थिक सामाजि विकास र शासनमा कुनै कमी हुन दिदैन । जापान वा बेलायतमा राजनीतिक नेतृत्वमा जे जस्तो फेरबदल र अस्थिरता भए पनि त्यहाँको प्रशासनिक प्रणाली कहिल्यै पनि दिग्भ्रमित हुँदैन । मुलुकी प्रशासन र विकास निर्माण सहज र अपेक्षित रुपमा नै भइरहन्छ । यस्तो कसरी सम्भव भयो होला? निश्चित रुपमा त्यहाँको प्रशासनिक प्रणाली र नेतृत्व पूर्ण व्यवसायिक भएर कानून र विधिको पालना गर्न गराउन स्वायत्त भई जिम्मेवारी लिएकोले नै त्यस्तो सम्भव भएको हुनुपर्दछ । प्रशासन र राजनीति विभाजन निजामती कर्मचारीको सरुवा पदस्थापन होस वा विकास र शासन सम्बन्धी कानून नीति वा मार्गदर्शन होस किन वस्तुपरक राय सुझाव वा सिफारिस गर्नुको सट्टा राजनीतिक नेतृत्वको आकांक्षा वा चाहना बुझेर मात्र सो अनुकुल गर्न तयार हुन्छन भनी धेरैले प्रश्न उठाएको पाइन्छ । राजनीतिक मार्गदर्शन अपरिहार्य छ, गलत कदापि हुँदैनन् तर हस्तक्षेप भने गलत नै हुन । प्रशासनिक निर्णय र कार्यक्षेत्रमा किन आमन्त्रण गरिन्छ राजनीतिक हस्तक्षेप ? यी र यस्ता अनेक प्रश्नहरु नेपालको सार्वजनिक प्रशासन उपर उठाउने गरिएको छ । संविधान कानून र राजनीतिक दिशानिर्देश बमोजिम सञ्चालित हुनु प्रशासनको कर्तव्य हो । प्रशासनको व्यवसायिकरण भनेको राजनीतिप्रतिको दुश्मनी पटक्कै होइन । प्रसिद्ध विद्वान एवं संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति उड्रो विल्सनले सार्वजनिक प्रशासनलाई राजनीति शास्त्रको विधाबाट अलग पारेर प्रशासन र राजनीतिको सीमारेखा कोर्दै भनेका थिए कि प्रशासनले कानूनको विस्तृत र सिलसिलाबद्घ अभ्यास गर्नुपर्दछ भने राजनीतिले नीति निर्माण । यदि राजनीति र प्रशासन एक आपसमा मिसिन पुग्यो भने यसले सार्वजनिक मामिलामा द्विविधा, अदक्षता र दोहोरापना निम्त्याउँदै प्रशासनलाई अस्थिर तुल्याउँदछ । तसर्थ गड (Government of the day) अर्थात आजको दिनको सरकारको नीतिप्रति प्रतिवद्ध र सिंगो प्रशासनिक मूल्य, मान्यता, कानून र नतिजाप्रति समर्पित रहनु प्रशासनको दायित्व हो । राजनीतिक र प्रशासनिक कार्यवीचको सिमांकन र जिम्मेवारी पूर्वक कानून प्रदत्त अधिकारको अभ्यास गर्न पाउने र सक्ने अवस्था हुँदाहुँदै पनि कैयन प्रशासनिक विधि र प्रणालीमा स्वायत्तता गुमाएर एकछिनलाई कसैको प्रिय त बन्न सकिएला तर साँचो अर्थमा कसैको कामको रहँदैन प्रशासन । विज्ञ सल्लाहकारको रुपमा भूमिका राजनीतिक सरकारले प्रशासनको सल्लाह लिँदैन वा लिन चाहदैन भन्ने पनि गरिन्छ । यसो यदि हो भने पनि यसमा प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्दछ । राजनीतिक सरकारको वा मुलुकको खेताला होइन प्रशासन, राज्यसत्ताको बैध र विवेकशील अधिकारको अभ्यास गर्ने अंग हो । यस्तो अंगले दिने सल्लाहमा एकरुपता हुन जरुरी हुन्छ । कुनै खास निर्णय वा विषयमा प्रशासनको नेतृत्वमा रहेका व्यक्तिहरुको विपरित सल्लाह कसरी सम्भव हुन्छ ? एउटाले गर्न मिल्छ र सकिन्छ भनेको विषय अर्कोले हुँदैन सकिदैन भनेरभन्ने स्थिति कसरी आयो ? प्रशासन मूलभूतरुपमा तथ्यमा आधारित हुनुपर्दछ । तथ्यको तोडमोड गरी राजनीतिक नेतृत्वको सबै ‘नेक्सस’को अध्ययन गरी जे भन्दा गर्दा खुशी मात्र तुल्याउन सकिन्छ त्यो गर्ने भन्ने किसिमको सल्लाहकार राजनीतिज्ञले खोजेको पटक्कै होइन होला । बारम्बार, निरन्तर अविचलित भई नेतृत्वले तथ्यलाई नबंग्याई व्यक्तिगत वा सामूहिक स्वार्थ नराखी सल्लाह दिन र नकारात्मकता उपर सकारात्मक प्रतिरोध गर्न सक्ने ल्याकत राखियो भने पक्कै राजनीतिक नेतृत्वले प्रशासनलाई विश्वास गर्ने अवस्था आउँछ । किनकि सामान्यतय राजनीतिक नेतृत्व राजनीतिक लाभ जनता पुर्‍याउन चाहन्छ । आफ्नो कार्यकालमा जनतावीच लोकप्रिय कार्यहरु गरी मूलुकलाई समृद्ध बनाउन चाहन्छ । विज्ञतापूर्ण, तथ्य, तर्क र पर्यावरण सुहाँउदो सल्लाह र सिफारिस राजनीतिक नेतृत्वले स्वीकार नगर्ने भन्ने प्रश्नै नउठनुपर्ने हो । रुपान्तरणको अवसर अत्यन्त उत्साहवर्धक राष्ट्रिय सोच सहितको बलियो र स्थिर सरकार, राज्यसत्ताको व्यापक संघीयकरण सहितको लोकतान्त्रिक राज्यप्रणालीको अपूर्व अवसरमा थियो र छ नेपालको वर्तमान प्रशासन । मूल्य र प्रणालीको नयाँ जग बसाउन पाउने र सक्ने अवसर प्राप्त छ । कुशल व्यवसायिकताको माध्यमबाट तीनतहको सरकारको कामकारवाहीलाई दिगो समन्वय, सहकार्य र सिनर्जी पैदा गर्न सक्ने प्रशासनको पुनर्शसक्तिकरण गर्नु अपरिहार्य थियो र छ । ‘अति केन्द्रिकृत मानसिकता, सामन्तवादी नोकरशाही प्रवृत्ती, लुम्सो, वेपरवाह, नतिजाप्रति उदासिन, प्रक्रियाको भोको प्रशासन’ भन्ने बिल्ला हटाउने अवसर छ अझैपनि । तर समयमै कर्मचारी समायोजनको प्राविधिक स्पष्ट खाका उपलब्ध नहुनु, कार्यविस्तृतीकरण प्रतिवेदनको आधारमा बैज्ञानिक संगठन संरचनाको बाँडफाँड गर्न नसक्नु, संक्रमणकालीन सेवा प्रवाहको क्रमागत योजना ल्याउन नसक्नु, कर्मचारी खटन पटनमा कानून र विधिको परिपालनामा अडिन नसक्नु, सार्वजनिक चासो र मामिलामा स्पष्ट राय धारणा निर्भिकताका साथ राख्न नसक्नु मूलभूत रुपमा नेपालको प्रशासन चुकेको क्षेत्रहरु हुन । अन्त्यमा, मुलुकलाई राजनीतिक संक्रमणकालबाट विकास र समृद्धिको यात्रामा डोर्‍याउन नेपालको प्रशासनले पनि महत्वपूर्ण भूमिका खेलिरहेकै छ । सबै विषयलाई एउटै डालोमा हालेर विश्लेषण गर्नु पनि हुँदैन । दूरराजमा सरकारको उपस्थिति सिद्ध गर्ने भूमिकामा सार्वजनिक प्रशासन क्रियाशील रहेको छ । आधारभूत रुपमा बहुसंख्यक कर्मचारीको सोच, चिन्तन र दृष्टिकोण मुलुकको समृद्धि र विकासमा योगदान गरौं भन्ने नै हो । परम्परागत सामाजिक चेत, कमजोर आर्थिक अवस्था र विगतदेखिका संस्थागत दुर्गुणहरुलाई चिरेर अघि बढने कार्य आजको भोलि हुने किमार्थ होइन । तथापि यात्राको अभिमुखिकरण वा पाइला महत्वपूर्ण कुरा हो । प्रशासन सुधारको दिशामा छ कि छैन भन्ने महत्वपूर्ण कुरा हो । नतिजा नै नदेखिइहाले पनि कम्तिमा दिशा सहि तय भइरहेको छ कि छैन भन्ने प्रश्न अहम हो । वैध र विवेक पूर्ण अधिकारको अभ्यास गर्ने प्रशासनले राजनीतिक रुपान्तरण पछिको प्रशासनिक रुपान्तरण गर्न नसक्नु, संघ, प्रदेश र स्थानीय सरकारी सेवाको कानूनी अभाव रहनु, प्रशासनिक र वित्तीय संघीयकरणमा स्पष्ट दिशा प्रस्तुत गर्न नसक्नु नेपालको प्रशासन चुकेको महत्वपूर्ण क्षेत्र हुन् जसको तत्काल परख गरि कार्यान्वयन गर्नु पर्दछ। फेरि पनि प्रशासनिक नेतृत्वबाट गरिएको अपेक्षा पूरा गराउने दायित्व राजनीतिको पनि उत्तिकै महत्वपूर्ण छ । गुण र क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्नु, प्रशासनिक शुद्धिकरणलाई व्यवहारमा नै प्रदर्शन गर्नु र सार्वजनिक मामिलाको एक जिम्मेवार र जवाफदेही अंगको रुपमा प्रशासनलाई महशुस गर्नु आवश्यक छ । प्रशासन राजनीति र समाजभन्दा बेग्लै उत्कृष्ट वा खराब हुन सक्दैन । तसर्थ समग्र विकासका लागि समाज, राजनीति र प्रशासन सुधार समन्वयात्मक र निरन्तर गर्नु अपरिहार्य हुने देखिन्छ । यसका लागि मूलभूत रुपमा स्वार्थको न्यूनीकरण जरुरी हुन्छ । स्वार्थ त्यागको सायद कुनै औषधी छैन होला केवल आत्मालोचना, स्वनियन्त्रण र क्षणभंगुर मानवचोला बहुजनको हितमा समर्पित गर्ने पूर्वीय दार्शनिक सोचको साथ नेतृत्व र फलोअरसहरुले कार्यसम्पादन गर्न सकियो भने मात्र समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा, राजनीतिक नेतृत्वले देखेको सपना जस्तै, हाम्रै पुस्ताले अनुभव गर्न सक्नेछन् । (लेखक नेपाल सरकारका सहसचिव हुन् । यस लेखमा प्रस्तुत विषय लेखकको व्यक्तिगत विचार हुन । यसमा उनी सम्बद्ध संस्थासँग कुनै सरोकार र सम्बन्ध छैन ।)