NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महिनावारीमा घाँसलाई नैं प्याड बनाउनुपर्ने ती दिन

नवलपरासीकी भगवती पुनले १२ वर्षअघि ट्रेकिङ गाइड बन्छु भन्दा पुरुष साथीहरूले खिल्ली उँडाए, ‘केटी मान्छे भएर किन गाइड बन्नुपरेको होला !’ त्यतिखेर महिला गाइडको संख्या निकै कम थियो । तर, जसरी पनि गाइड बन्ने उनको सपना थियो । यही सपना पूरा गर्न कोही कसैको परवाह नगरी उनी अघि बढिन् । ट्रेकिङ गाइडको तालिम लिइन् । ०६४ सालदेखि काम सुरु गरिन् । गाइड बनेर घुमेका सुरुवाती दिन सम्झिंदै भगवती सुनाउँछिन्, ‘हामीलाई देखेर कति ठाउँमा त मान्छेहरू आश्चर्य मान्थे । पर्वतकी लक्ष्मी भारतीलाई घुम्न असाध्यै मन लाग्ने । यही घुम्ने इच्छाले उनलाई ट्रेकिङ गाइडको तृष्णा जगायो । आज भन्दा ११ वर्षअघि गाइडको काम थाल्दा उनलाई पुरूष गाइडले होच्याउँदै भन्थे, ‘खैरेसँग बोल्न सक्छौ ? बाटोमा पहिरो आयो भने के गर्छेउ ?’ पुरूष सँगसँगै हिड्थिन उनी । आफन्तले पनि राम्रो मान्दैनथे । ‘गाइड हुँ’ भन्दा धेरै जवाफ फर्काइहाल्थे, ‘यत्रो पढेको मान्छे, लोकसेवा लडे हुन्न ? अरू काम छैनन् ?’ पुरुष वर्चस्व रहेको र महिलाको उपस्थितिलाई लगभग इन्कार गरिएको पेसामध्येमा पर्छ, पर्वतारोहण । पर्यटनभित्र पनि पर्वतीय पर्यटनलाई साहसिक मानिन्छ । र, यस्तो साहसिक काम महिलाले गर्न सक्दैनन् भन्ने बुझाई अधिकांशमा थियो ।परिवारदेखिनै उल्झन । आफू शारिरीक र मानसिक रुपमा सक्षम र तयार भएर पनि विगतमा महिलाका लागि पर्यटन व्यवसाय रोज्न सहज हुने गरेको छैन । लाक्पा फुटी शेर्पाले ट्रेकिङ गाइडको काम गरेको ४० वर्ष भयो । सोलुखुम्बुको मुसे गाउँमा जन्मिएकी लाक्पा फुटी शेर्पा परिवारमा अपवाद बनिन् । त्यसअघि परिवारका कोही पनि पर्यटनमा नलागेकामा उनी पर्यटक भरिया बनिन् । यहींबाट उनको ट्रेकिङ गाइड यात्रा सुरु भयो । पर्यटकको भारी बोकेर हिमालतिर उकालो लाग्दा लाक्पा १३ वर्षकी थिईन् । गाउँमा आउने सुकिलामुकिला पर्यटक देख्दा उनीहरूकै संगत गर्ने इच्छा लाग्थ्यो उनलाई । सानी छोरीले भारी बोकेको परिवारलाई नरुच्नु स्वभाविक थियो । पदयात्राबाट फर्केपछि ‘विदेशीको भारी बोक्न छाड्’ भन्दै घरमा गाली गरेको सम्झिन्छिन्, लाक्पा । परिवारमा दुःख थिएन, तर हातमा आफ्नै मेहनतले आर्जेको पैसा होस् भन्ने पनि उनलाई लाग्थ्यो ।किशोरावस्थामै पहिलो पटक सुकिला–मुुकिला विदेशीको भारी बोकेर उनी लुक्लादेखि स्याङबोचेसम्म पुगेकी थिइन् । २० वर्षको उमेरसम्म उनले भारी बोक्ने र भान्छेको काम गरिन् ।भारी नै बोक्नुपरेपनि लाक्पा पदयात्रामै रमाइन् । ७ वर्षको भरिया र भान्सेको अनुभव सँगालेपछि गाईड बनेर लुक्ला, सगरमाथाजस्ता रुटमा पुग्दा उनलाई पेशाप्रतिको लगाव अझै बढ्यो । गाइड बन्दासम्म उनी अंग्रेजी, फ्रेन्चजस्ता भाषा बोल्न जान्ने भइसकेकी थिइन् । गाइडको रूपमा लामै समय काम गरेपछि उनलाई लाग्यो, अब आफ्नै ट्रेकिङ एजेन्सी चलाउनुपर्छ । हाल ५३ वर्ष पुगिसकेकी लाक्पा ट्रेकिङ एजेन्सीमा काम सम्हालेको लामो समयपछि अहिले नेपाल माउन्टेन एकेडेमीको अध्यक्षको रूपमा छिन् । जातीय मानसिकताको सिकारपर्वतारोहणमा नामी शेर्पा समुदायसमेत महिला गाइड र पर्वतारोही निकै पछि मात्र आए । ‘हिम चितुवा’ मानिने शेर्पा समुदायमा त यस्तो छ भने अन्य समुदायका लागि त परको कुरा !दिपिका शाहीलाई पर्यटन र ट्रेकिङमा औधी रुची थियो । बहुसंख्यक शेर्पा समुदाय रहेको पर्यटन र ट्रेकिङ व्यवसायमा जाने इच्छा जब २७ वर्षीया शाहीले व्यक्त गरिन तब उनमाथि जातीय प्रश्न उठ्यो । काठमाडौंकी रैथाने उनलाई तालिम दिनेहरूले नै हतोत्साहित गरेको तितो अनुभव छ । ‘नेवारले ट्रेकिङ गाइड गर्न सक्दैनन्,’ प्रशिक्षकले दिपिकाको जातलाई कारण बनाए । गाइडको प्रशिक्षण लिने ठाउँमा दिपिका एक्ली महिला थिईन्, त्यसैमाथि नेवार । तर, उनी निरास भइनन् । अविचलित रुपमा अघि बढिन् । कोठा पाउनदेखि महिनावारीसम्मको समस्याहोटलमा कोठा नपाउनु महिला गाइडको साझा समस्या हो । ट्रेकिङ रुटमा पर्याप्त होटल हुँदैनन् । पर्यटकीय सिजनमा त भएका होटल पनि भरिभराउ हुन्छन् । अनि अपरिचितसँग कोठा ‘सेयर’ गर्नुपर्छ । पहिलोपटक पर्यटक लिएर पुनहिलको ट्रेकमा गएकी शाहीले होटलमा कोठा नपाएर भान्साकोठामा सुत्नुप¥यो । शाहीको जस्तै अनुभव छ, छिरिङको पनि । होटल व्यवसाय समेत गरिरहेककी छिरिङ भन्छिन, ‘अधिकांश होटेलवालाई महिला गाइड हुन्छन् भन्ने नै थाहा हुँदैन ।’ भारतीका अनुसार विशेषगरी अन्नपूर्ण र एभरेष्ट बेस क्याम्पतिर होटल संख्या सीमित भएकाले कोठा पाउन मुस्किल हुन्छ । त्यस्तो बेला कहिले डाइनिङमै सुत्नुपर्ने हुन्छ त कहिले भान्सामा । एकपटक पर्यटक लिएर जाँदा अक्टोबर र नोभेम्बरको समयमा छुट्टाछुट्टै कोठा नपाउँदा थप दुई घन्टा हिँडेको अनुभव छ उनीसँग । महिला गाइडलाई अप्ठेरो बनाउने अर्को कारण हो, महिनावारी । अधिकांश महिला गाइड महिनावारीको समयमा ट्रेक जाँदैनन् । तर, पहिले नै तय भईसकेको छ भने महिनावारी हुँदा पनि जानुपर्ने हुन्छ । महिनावारीमा ट्रेक जाँदाको पीडा सुनाउँछिन शाही, ‘बल्ल–बल्ल पाएको ट्रेक हुन्छ । हिँड्न गाह्रो भएपनि दुखाई कम गर्ने औषधि खाएरै हिँड्छु ।’ अहिले महिनावारी हुँदा प्याडको सुविधा छ । तर लाक्पाले ४० वर्ष अघि भरिया भएर काम गर्दा यसको नाम पनि सुनेकी थिइनन् । पदयात्रामा खोजेको बेला टालो पनि पाइन्नथ्यो । एउटै विकल्प हुन्थ्यो घाँस । महिनावारीको समयमा घाँसलाई प्याड जसरी प्रयोग गरेको अनुभव छ लाक्पाको । उनी सुनाउँछिन्, ‘कपडा पाउने कुरै भएन, जंगलमा एक किसिमको घाँस हुन्थ्यो । त्यही प्रयोग गर्थें, सजिलो लाग्थ्यो ।’ ट्रेकिङमा रात दिन भन्न पाइँदैन । त्यसमाथि अपरिचित मान्छेसँग हिँड्नुपर्छ, नयाँ ठाउँमा बास बस्नुपर्छ । आफ्ना सुरुवाती दिन सम्झिन्छन्, लाक्पा, ‘पुरुष बाहूल्य भएको पदयात्रामा महिलालाई हेर्ने नजर नै फरक हुन्थ्यो ।’ लाक्पा भरिया, भान्से र गाईड बनेर दिनरात अपरिचितसँग हिँडिन । यसरी हिँड्दा लाक्पाको मनमा एउटै चिन्ता हुन्थ्यो, ‘आफैंलाई कसरी जोगाउने ।’ किनकी पदयात्रामा आउने अधिकांश पुरुष हुन्थे । विवाहपछि परिवर्तन हुने घर व्यवहार, श्रीमानको भर, महिना दिनसम्म घरबाहिरै रहनुपर्ने लगायतका कारण महिलाहरू यो पेसामा टिकिरहन असहज हुने भारती बताउँछिन् । रुचीले नै ट्रेकिङ पछिल्ला वर्षहरूमा यस्तो प्रवृत्तिमा परिर्वतन आएको छ । अहिले पर्यटन र विशेषगरी पर्वतारोहणमा महिला गाइडको उपस्थिति बढ्दो छ । उनीहरूमध्ये अधिकांश रूचीका कारण त केही चाहिँ ‘करिअर’ बनाउने उद्देश्यले यस पेसामा आएका छन् । ०७२ को भूकम्पमा लाङटाङकी छिरिङ लामाले अभिभावक गुमाइन् । अभिभावकले सञ्चालन गर्दै आएको होटल पनि भूकम्पले भत्काइदियो । होटल भत्किएपछि उनको गरिखाने व्यवसाय पनि गुम्यो । भरखर २० वर्ष पुगेकी उनको जीवनमा यो घटना ‘माइलस्टोन’ नै बन्यो । यसपछि अभिभावकले सञ्चालन गर्दै आइरहेको होटेल पुनर्निर्माण गरेर आफैंले सञ्चालन गर्न थालिन । यसक्रममा त्यहाँ पर्यटकलाई घुमाउन ल्याउने गाइडहरूमा महिलाको उपस्थिति निकै कम भएको महसूस उनलाई भयो । उनले सोचिन् – म आफैं गाइड किन नबनूँ ! यही जोसले उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बाट १४ महिने तालिम लिइन् । तालिम सकेर करिब एक वर्षअघि यस क्षेत्रमा लागेकी उनी पर्यटक लिएर लाङटाङदेखि उपल्लो डोल्पासम्म पुगिसकेकी छिन् । पछिल्लो समय कोरोना संक्रमणका कारण साविकजस्तो व्यवसाय सहज रुपमा चलेको भने छैन । ट्रेकिङ गाइड बन्न सजिलो चाहिँ थिएन । गाइडले बाह्रै महिना काम पाउँदैनन् । सिजनमा काम हुन्छ, अन्य बेला खाली !त्यसैले उनी ‘अफ सिजन’ (पर्यटक आवागमन कम हुने मौसम) मा अन्यत्रै काम गर्छिन् । समय मिलाएर भाइलाई होटल चलाउन पनि सघाउँछिन् । फेरिएको परिवेश, महिला गाइडको माग बढ्दै तर, अब समय फेरिएको छ । यससँगै महिलाको भूमिका पनि परिवर्तन भएको छ । ‘छोराले गर्न सक्ने काम हामीले किन सक्दैनौं,’ लाक्पा भन्छिन्, ‘समयअनुसार चुनौती र भोगाइपनि फेरिँदै गएका छन् ।’ विगतमा अनेकौं चुनौती झेलेर आएकी भारतीलाई अहिले सहजता थपिँदै गएको छ । अहिले उनको विवाह भइसक्यो । श्रीमान फरक क्षेत्रमा छन्, तर परिवारले उनलाई पूरा सहयोग गरिरहेको छ । यसले उनलाई उत्साहित बनाएको छ । ट्रेकिङ गाइडमा महिला संख्या बढिरहेको बताउँछिन् टान (ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल) की महासचिव सरिता लामा । ‘पहिला महिलाहरू होटल तथा हस्पिटालिटीमा सीमित थिए । अहिले भने एडभेन्चर र बाह्य पर्यटनमा पनि आकर्षित हुन थालेका छन्’, उनी थप्छिन्, ‘त्यसमा पनि पढेलेखेका महिला बढिरहेका छन् ।’ काममा पुरूषभन्दा महिला बढी जिम्मेवार र शालिन भएका कारण पनि यो क्षेत्रमा महिलाको माग बढ्न थालेको उनको अनुभव छ । नेपालमा ट्रेकिङ गाइडको तालिम उपलब्ध गराउने दुई आधिकारिक संस्था छन् । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजनेन्ट(नाथम) र माउन्टेन एकेडेमी । माउन्टेनले महिला केन्द्रित ट्रेकिङ गाइडको तालिम सुरु गरेको सात वर्ष भयो । यो अवधिमा संस्थाबाट तालिम प्राप्त दुई सय ५५ महिलामध्ये ७० प्रतिशतले ट्रेकिङ गाइडको काम थालेका र बाँकी पर्यटन व्यवसायमै लागिरहेका बताउँछन् माउन्टेन एकेडेमीका सूचना अधिकारी उत्तम भट्टराई । बेलाबेलामा पर्यटक तथा गाइडबाट पनि प्रतिक्रिया लिने गरेका छन् भट्टराईले । पर्यटकबाट पुरुषभन्दा महिला गाइडको कामले बढी प्रशंसा पाउँछ । नाथमको तथ्यांक अनुसार नेपालभर पुरुष ट्रेकिङ गाइडको संख्या १७ हजार एक सय १६ छ र महिलाको संख्या चार सय तीन छ । यस्ता गाइडले प्रत्येक दिन २१ सयदेखि २५ सय हाराहारीमा कमाइ गर्न सक्छन् । सँगै पर्यटकले दिने ‘टिप्स’ अलग्गै हुुन्छ । छोटो समयको तालिम र काम गरेबापत आकर्षक कमाइ हुने भएका कारण यस पेसामा आउनेको संख्या बढिरहेको छ ।