NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दशैं बिदामा घुम्न निस्कनुअघि यी कुरामा ध्यान दिनुस्

नेपालवाच । सरकारले कात्तिक १ गतेबाट पदयात्रा तथा पर्वतारोहण खुला गरेसँगै पर्यटकमा द्विविधा बढ्न थालेको छ । केन्द्रीय सरकारले एकमुस्ट रुपमा पदयात्रा खुल्ला गराएपनि स्थानीय तहले पर्यटकको आगमनलाई स्वागत नगर्दा यस्तो अन्योलको अवस्था सिर्जना भएको हो । दशैंको लामो बिदा सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल सुरु हुन सक्ने अनुमान छ । तर, दुई निकायबीचको समन्वय राम्ररी नहुँदा यतिबेला लामो पदयात्राका लागि निस्कने पर्यटक मर्कामा पर्न सक्ने बताउँछन् पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया । ‘संघीय सरकारले दिएको निर्देशन पालना गर्नुपरे पनि संक्रमण ऐनका कारण नै घुम्न निस्कने पर्यटकलाई गाह्रो पर्न सक्ने छाँटकाँट देख्न थालेको छु’, उनले भने, ‘यो समस्यालाई पर्यटन मन्त्रालयले पनि समयमा ध्यान दिनुुपर्छ’ । यता पर्यटन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराई भने यसबारे मन्त्रालयको तर्फबाट कुनै ठोस योजना नभइसकेको बताउँछन् । ‘पदयात्रा जाने क्रममा उक्त ठाउँबारे व्यक्ति आफैंले पर्याप्त जानकारी लिएरमात्र जानुपर्छ’, उनले भने । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण आफ्नो क्षेत्र सुरक्षित राख्ने भन्दै स्थानीय सरकारले आगन्तुकलाई रोक्ने गरेका छन् । स्थानीय तहको सरकारको निर्णयमा मन्त्रालयले पनि हस्तक्षेप गर्न नसक्ने हुँदा व्यक्ति आफैं सचेत हुन उनको सुझाव छ । पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जिल्लाहरूले पर्यटकलाई पिसिआर टेस्ट गराउन र क्वारेन्टिनमा बसेपछिमात्र घुम्न निस्किन दिने बताए । सुरुवाती समयमा आन्तरिक पर्यटकलाई खासै रोक थिएन । कात्तिक १ बाट भने बाह्य पर्यटकको लागि पनि पदयात्रा तथा पर्वतारोहण खुलाइएको हाे । यद्यपी केही ठाउँहरू भने जोखिम बढ्ने हुनाले तत्कालको लागि त्यहाँका सरोकारवालाले नखुलाउने निर्णय गरेका छन् । अन्नपूर्ण क्षेत्र, मनाङ, मुस्ताङ, हुम्लालगायतका ठाउँहरू आन्तरिक र बाह्य दुवै पर्यटकका लागि तत्काल बन्द नै रहने लामिछानेले जानकारी दिए । त्यस्तै, घान्द्रुकमा पनि मंसिरको पहिलो सातासम्मको लागि पर्यटक आगमन रोकिएको छ । सरकारी तवरबाटै पर्याप्त तयारी नभइसकेको हुँदा लामो पदयात्राका लागि यतिबेला ननिस्किन सुझाउँछन् विज्ञ । लामो घुमघामका लागि दशैंको समयमा पोखरा, चितवन, रारा ताल, मुस्ताङ, तिलिचो ताल, अन्नपूर्ण बेसक्याम जस्ता ठाउँमा आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । नेपाल पर्वतारोहण संघका प्रवक्ता कुलबहादुुर गुरुङ यो वर्ष पर्वतारोहणका लागि विदेशी पर्यटकको आगमन खासै नुहने बताउँछन् । ‘सरकारले विदेशी पर्यटकको लागि पदयात्रा र पर्वतारोहण खोल्नुलाई सकारात्मक रुपमामात्र लिन सकिन्छ’ उनले भने, ‘यसले तत्कालको लागि नेपाल खुला छ भन्ने सन्देशमात्र दिएको हो । पर्यटकको आगमनलाई अझै अर्को वर्ष कुर्नपर्छ ।’