NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कल्याणकारी कोषको करोडौं रकम पर्यटन मजदुरलाई काम लागेन

कोरोना भाइरसको महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएपछि पर्यटन मजदुरहरू मर्कामा परेका छन् । विपद्को समयमा मजदुरहरूको उचित व्यवस्थापन हुनुपर्यो भन्दै पर्यटन मजदुर संघीय समितिले शान्तिपूर्ण आन्दोलन थालेको पाँच महिना भयो । मजदुरको सुरक्षाका लागि भनेर ६ वर्ष अघि नै पर्यटन नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीहरूको छाता संघठन(टान) को समन्वयमा पर्यटन मजदुर कल्याणकारी कोष खडा भएको थियो । साभार : www.tripfuser.com प्राकृतिक विपद्, दुर्घटनाको समयमा कोषमार्फत श्रमिकले राहत पाउनुपर्ने हो । तर, यस्ता विपद्मा श्रमिकहरुले राहत पाउने गरेका छैनन् । ‘भूकम्पको समयमा पनि सम्बन्धित निकायले पर्यटन मजदुरलाई उपेक्षा ग¥यो’ समिति अध्यक्ष प्रकाश घायल राईले भने, ‘यही व्यवहार महामारीमा पनि दोेहोरियो । अब हामी सहन्नौं ।’ पर्यटन क्षेत्र देशको मुख्य आर्थिक स्र्रोतमध्येमा तर यस क्षेत्रका मजदुर भने सधैं छायाँमा पर्दै आएका छन् । विपद्को समयमा राज्यबाट सहयोग नपाएपछि आफूहरूले पर्यटन मजदुर कल्याणकारी कोष तत्काल लागू गराउने पहलमा लागेको उनी बताउँछन् । पर्यटन क्षेत्रमा लागेको वर्षौ भएपनि यस कोषबारे उनीहरू अनभिज्ञ रहेको बताउँछन् । महामारीले निम्त्याएको आर्थिक संकटमा परेका श्रमिकका लागि यस कोषको रकम तत्काल खुल्ला गर्नुपर्ने उनीहरूको पहिलोे माग छ । उनीहरू नेपाल पर्यटन बोर्डले पटक–पटक वार्ता गर्ने भन्दै पन्छाएको बताउँछन् । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका पर्यटन क्षेत्रका टुर गाइड, ट्रेकिङ गाइड, कुक, पोर्टरसहितका श्रमिक यतिबेला सडकमा छन् । केही दिनअघि उनीहरूले बोर्डमा तालाबन्दी पनि गरेका थिए । गाइडले टानबाट लिने टिम्स कार्डको १० प्रतिशत रकम मजदुर कल्याणकारी कोषमा जान्छ । प्रत्येक वर्षमा तीन पर्यटकीय सिजन हुन्छ । एउटा सिजनमा एकजना गाइडले कम्तीमा पनि तीन सयको हाराहारीमा टिम्स कार्ड खरिद गर्र्छन् । उक्त कार्डबाट काटिएको रकम कोषमा जम्मा हुन्छ । योसँगै प्रत्येक आरोहण गरेबापत र पारिश्रमिकबाट पनि उनीहरूले कर बुझाएका हुन्छन् । यो वर्ष कोरोना महामारीका कारण गाइडको अवस्था नाजुक बनेको हुँदा गाइडको इजाजतपत्र निशुल्क नवीकरण गराइनुपर्ने, गाइडहरुको लागि पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरुका छन् । काेषमा १७ कराेड भएकाे दाबी उनीहररुकाे छ । ‘कोषमा अनुमानित १७ करोड पैसा छ । तर अहिले पाँच करोड छ भनेर भनिरहेका छन् । यसको लेखाजोखा समयमै हुनुपर्छ’, राईले भने । दीर्घकालीन जीवनयापनको लागि मजदुुरहरूको उचित व्यवस्था नभएकोमा उनीहरुको मुख्य गुनासो छ । त्यसको लागि कोषमा खर्च गरिएको रकमबाट पेन्सनको व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ । कार्यविधि तयार नहुँदा समस्या टानका अध्यक्ष खमबहादुर खड्काले निश्चित कार्यविधि तयार नभएका कारण माग पूरा हुन ढिलाई भएको बताए । ‘२०७१ चैत १२ गते एमओयुको रूपमा मात्र सम्झौता भएको थियो । तर, मजदुरहरूलाई कोषले कस्तो अवस्थामा के सहयोग गर्ने भन्नेबारे कार्ययोजना बनेको थिएन’, उनले भने, ‘अहिले त्यही कार्यविधि बन्दै छ’ । कोषमा जम्मा भएको अनुमानित पाँच करोडमा रकममा एक रुपैयाँ पनि तलमाथि नभएको दावी उनको छ । कोषमा यसरी भएको थियो समझदारी २०७१ सालमा पर्यटन सूचना व्यवस्थापन प्रणाली(टिम्स)बाट संकलन भएको रकमको हिस्सा कसको कति हुने भन्ने समझदारी भएको थियो । जसमा ३० प्रतिशत पर्यटन बोर्डको खातामा, ३० प्रतिशत टानको खातामा, ३० प्रतिशत दुवैको संयुक्त खातामा र १० प्रतिशत मजदुर कल्याणकारी कोषमा जाने समझदारी थियो । उक्त समझदारी पत्रमा प्राकृतिक प्रकोपको समयमा गाइडहरू बिरामी भएमा या घाइते भएमा त्यसको लागि चाहिने औषधी उपचारदेखि हेली रेस्क्यूको सुविधा पनि उपलब्ध गराउने भन्ने थियो । नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार खासमा पर्यटन मजदुरलाई पदयात्राको क्रममा समस्या आएमा राहत दिने हिसाबमा उक्त कोष स्थापना गरिएको हो । त्यसमा पनि निश्चित मापदण्ड तोकिएको हुनाले यो अवस्थामा उक्त रकम दिने नदिनेबारे बहस भइरहेको उनले बताए । ‘उहाँहरूको विभिन्न माग मध्येको एउटा माग १० प्रतिशतबाट जम्मा भएको रकमबाट राहत दिनुपर्‌‌याे भन्ने हो’ उनले भने, ‘हाल नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य, कार्यकारी अध्यक्ष र टानका अध्यक्ष रहेर समिति बन्दै छ । सोही टोलीले कार्यविधि बनाएपछि प्रक्रिया अघि बढ्छ ।’