NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जहाजलाई चराको जोखिम : यस्ता छन् चराले गराएका ठूला दुर्घटना

१२ असोज ०६९ मा सीता एयरको ९ एन–एएचडी जहाजले काठमाडौंबाट लुक्लाका लागि धावनमार्ग छाड्दै थियो । इन्जिनमा कालो चिल ठोक्किएपछि चालकदलले मनोहरा खोला किनारमा आकस्मिक अवतरण गराए । तर, जहाजलाई आगो लाग्नबाट बचाउन सकिएन । चालक दलका सदस्य र यात्रु गरी १९ जनाको मृत्यु भयो । जहाजमा चरा ठोकिएका कारण दुर्घटना भई जनधनको क्षति भएको यो पछिल्लो उदाहरण हो । नेपालको आकाशका जहाजमा चरा ठोक्किएका एक सयभन्दा बढी घटना छन् । सन् १९९६ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको थाई एयरवेजको एयरबस–३०० विमानमा चिलको झुण्ड ठोक्किएको पहिलो घटना थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको आकाशमा जहाजमा चरा ठोक्किएका एक सयभन्दा बढी घटना छन् । त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको थाई एयरवेजको एयरबस–३०० विमानमा सन् १९९६ मा चराको झुण्ड ठोकिए । नेपाली आकाशमा उडेको जहाजमा चरा ठोकिएको यो पहिलो घटना थियो । त्यतिवेला धावनमार्गमा ६ वटा चिल मृत भेटिएका थिए ।सन् २००० मा नेपाल वायु सेवा निगमको बोइङ–७५७ र २०१४ मा जेट एयरवेजको बोइङ–७३७ विमानमा पनि चरा ठोक्किएका थिए । काठमाडौं र पोखरा विमानस्थलमा चिल र गिद्ध, भैरहवामा कालो र मुसे चिल तथा चन्द्रगढीमा मलेवाको जोखिम बढी छ । त्यसबाहेक कालो काग, घर काग, भंगेरा, भद्राई, चुइयाँ, झेप्सी र गौंथलीलगायत चराको जोखिममा हुन्छन्, जहाजहरू । एक अध्ययन अनुसार विश्वभर ३६ प्रतिशत हवाई दुर्घटना चराचुरुगीं र वन्यजन्तुका कारण हुने गरेको छ । जहाज आविष्कारक राइट ब्रदर्सकै पालामा ७ सेप्टेम्बर १९०५ मा विश्वमा पहिलो पटक जहाजमा चरा ठोक्किएको थियो । त्यसपछिको गम्भीर घटना सन् १९६० मा अमेरिकाको बोस्टनमा भएको थियो । चरा ठोक्किएको कारण विमानका चारवटै इन्जिन बन्द भए र ६२ जनाको ज्यान गयो । जाडोमा जहाजलाई चराको जोखिम जब जाडो बढ्छ, रुसको साइबेरियाबाट चराचुरुंगीको झुण्डले दक्षिणतिर बेग हान्न थाल्छन् । एक सय ५० भन्दा बढी प्रजातिका चराचुरुंगी साइबेरियाबाट हिन्द महासागरसम्म पुग्छन् । जाडोयाममा ती चरा काठमाडौं उपत्यकामा पनि बस्ने गर्छन् । पोखरा, चितवन, सुनसरीलगायत सीमसार क्षेत्र रहेका जिल्लामा तिनीहरूको आवतजावत हुन्छ । चराविज्ञ डा. हेमसागर बरालका अनुसार त्रिभुवन विमानस्थल आसपासमा अक्टोबर महिनामा चराको सर्वाधिक आवतजावत हुन्छ । ‘त्यतिवेला मंगोलिया, चीन, साइबेरियालगायत उत्तरी भेगबाट चिलहरू लामो यात्रा तय गर्दै आउन थाल्छन्,’ उनी भन्छन्, ‘उत्तरी भेगमा हिउँद सुरु हुँदा खानेकुराको कमी हुन्छ । र, चराहरू दक्षिणतिर आउँछन् ।’ उनका अनुसार पारिलो घाम खोज्दै आउने क्रममा चिलहरू दिउँसोको समयमा बढी उड्छन् र उडान प्रभावित बनाउँछन् । उनका अनुसार ठिक्क आकारकालार्ई चिल भनिन्छ भने ठूलोलाई महाचिल । विमानस्थलको एटिसी (एयर ट्राफिक कन्ट्रोलर) टावरबाट नांगो आँखाले सात किलोमिटरसम्म चराको गतिविधि नियाल्नुपर्छ । यसका लागि उपयुक्त प्रविधि एभियन राडार हो, तर, हाम्रो विमानस्थलमा यस्तो प्रविधि छैन । काठमाडौं र पोखरा विमानस्थल आसपासमा चिलको संख्या अत्याधिक भएको उनी बताउँछन् । नदी किनारा र खुला मैदान चिलको आहार पाउने थलो हुन् । काठमाडौंमा रैथाने कालो चिलको जोखिम पनि बढी छ । ‘गोमायु महाचिल अक्टोबरमा आएर अप्रिलमा फर्किन्छन्,’ बराल भन्छन् । उनका अनुसार काठमाडौं विमानस्थल आसपास कालोचिल, कालो काग, घर काग र मलेवाको जोखिम छ, जुन यहाँका रैथाने चरा हुन् । यस्तै, भंगेरा, भद्राई, चुइयाँ, झेप्सी र गौंथलीका केही प्रजाति पनि काठमाडौंका रैथाने चरा हुन् । एक अध्ययनअनुसार त्रिभुवन विमानस्थल आसपास ३९ प्रजातिका चराचुरुंगी बस्छन् । यस्तै, पोखरा उपत्यकामा गिद्धको संख्या धेरै छ । पोखरामा निर्माणाधीन नयाँ विमानस्थलमा पनि गिद्ध र सेतो चिलको जोखिम अत्याधिक छ । पोखरामा सहरको फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिल्ड साइट नजिकै रहेकाले गिद्धको आवतजावत बढी हुने गर्छ । भैरहवा विमानस्थलमा जाडोयाममा कालो र मुसे चिलको जोखिम धेरै छ । चन्द्रगढी विमानस्थलमा मलेवाको जोखिम बढी छ । यस्ता छन् विमानस्थलमा चरा धपाउने विधि त्रिभुवन विमानस्थलमा चरा धपाउन ‘अल्ट्रासोनिक डिभाइस’, ‘एलपी ग्यास क्यानन’, ‘क्वाड ब्लास्टर’लगायत सामग्रीको प्रयोग हुन्छ । र, चर्को आवाज निकाल्ने उपकरणको बढी प्रयोग हुन्छ । गाउँघरका खेतबारीमा राखिने बुख्याँचा विमानस्थलमा पनि राखिएको छ । विभिन्न प्रकारका लाइट र विद्युतीय बार पनि प्रयोग हुन्छन् । र, त्यसका लागि एउटा गाडी र चार जना शिकारी तैनाथ गरिँदै आएको छ । विमानस्थलस्थित हवाई सुरक्षा निर्देशनालयका पूर्वनिर्देशक देवचन्द्रलाल कर्णका अनुसार चरा नियन्त्रणका विधि परिवर्तन गरिरहनुपर्छ । ‘एउटा तरिकाले बढीमा दुई सातासम्म मात्र काम गर्छ,’ उनी भन्छन्, ‘एकपटक चरा धपाएर त्यही तरिकामा लामो समय ढुक्क बस्न सकिँदैन ।’ ठूला विमानमा सानो चरा ठोक्किँदा पनि ठूलो क्षति हुने उनी बताउँछन् । ‘यो ऊर्जा र गतिसँग सम्बन्धित विषय हो,’ कर्ण भन्छन्, ‘एकदेखि डेढ किलोको चरा जहाजमा ठोक्किनु भनेको मारुती कारमा हात्ती ठोक्किनु बराबर हो ।’ विमानस्थलमा तैनाथ एयर ट्राफिक कन्ट्रोलर (एटिसी) टावरबाट करिब सात किलोमिटरसम्म चराको गतिविधि नियाल्नुपर्छ, त्यो पनि नांगो आँखाले । यसका लागि उपयुक्त प्रविधि एभियन राडार हो, जुन लामो समयदेखि योजनामा भएर पनि जडान गर्न सकेको छैन, प्राधिकरणले । चराको जोखिम सबैभन्दा बढी : दीपु जुहार्चन, क्याप्टेन, नेपाल वायु सेवा निगम पाइलटका लागि सबैभन्दा जोखिम भनेकै जहाजमा चरा ठोक्किनु हो । हाम्रा लागि उडान र अवतरण नाजुक अवस्था हुन् । चराको जोखिम त्यही वेला भइदिन्छ । ‘टेक अफ’को वेलामा चरा ठोक्किँदा ठूलो क्षति हुने जोखिम हुन्छ । नेपाल वायु सेवा निगमका जहाजमा महिनामा तीन पटकजति साना चरा ठोक्किइरहेका हुन्छन् । पाइलटले पनि समय–समयमा सम्बन्धित निकायलाई सुरक्षाका लागि पत्राचार गरिहेका हुन्छौं । खासगरी, काठमाडौंमा बढी जोखिम छ । किनकि, देशभरको आधाभन्दा बढी उडान यहीँबाट हुन्छ । चरा ठोक्किइहाल्यो भने ‘फोर्स ल्यान्डिङ’ गर्ने ठाउँ पनि छैन । खासमा विमानस्थल वरपर रहेका बधशाला र ल्यान्डफिल साइटको उचित व्यवस्थापन गरिदिए धेरै राहत हुन्थ्यो ।