NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चार महिनादेखि काठमाडौं प्लाजा व्यापारीको कब्जामा पर्दा २ करोड ४२ लाख गुम्यो

काठमाडौं । पुतलीसडकस्थित काठमाडौं प्लाजा राजा वीरेन्द्र परिवारको सम्पत्ति हो । गणतन्त्र स्थापनापछि यो प्लाजा नेपाल ट्रष्टको नाममा लगियो । चलखेलका अधारमा निकै सस्तोमा लिजमा दिइएको प्लाजा विगत चार महिनादेखि व्यापारीको कब्जामा छ । कन्सेप्ट डेभलपर्सले तत्कालीन राजपरिवारसँग लिजमा लिएर निर्माण गरेर सञ्चालन गर्दै आएकोमा २०६७ सालमा १० वर्षका लागि लिज अवधि थपिएको थियो । जून अवधि गत २ असारमा सम्झौता समाप्त भइसकेको छ । तर, पनि प्लाजा खाली हुन सकेको छैन । चार महिनादेखि ट्रष्टको कार्यालयले १ रुपैयाँ पनि भाडा पाउन सकेको छैन । भवन समयमै खाली गर्न नसक्दा दुई करोड भन्दा धेरै नोक्सान भएको छ । सम्झौता सकिएपछि मासिक ६० लाख ५० रुपैयाँ भाडामा काठमाडौं महानगरपालिकालाई दिने सहमति भइसकेको थियो । तर, खाली गराउन नसक्दा सम्झौता हुन सकेको छैन । जसअनुसार चार महिनाको अवधिमा ट्रष्टले दुई करोड ४२ लाख रुपैयाँ गुमाएको छ, उता व्यापारी तथा विभिन्न कम्पनीले निशुल्क रुपमा कम्प्लेक्समा आफ्नो कार्यालय चलाउँदै आएका छन् । ट्रष्टले खाली गर्न पत्राचार गरेपछि कन्सेप्ट डेभलपर्सले आफूलाई नै लिजमा दिनुपर्ने भन्दै सर्वाेच्चमा रिट दायर गरेको थियो । गोकर्ण रिसोर्टको लिज अवधि थपिएजस्तै आफूहरुलाई पनि अवधि थप्नुपर्ने दाबी गरेको थियो । सुरुमा सर्वाेच्चले अन्तरिम आदेश दिएपनि पछि सो आदेशले निरन्तरता नपाएपछि भवन खाली गराउन बाटो खुलेको थियो । प्लाजामा व्यवसाय गर्ने केही व्यवसायीले पनि उच्च अदालत पाटनमा आफुहरुलाई हटाउन नहुने भन्दै रिट दायर गरेका छन् । सर्वाेच्चको आदेशले भवन खाली गर्न बाटो खुलेपछि व्यापारीले छाड्न मानेका छैनन् । नेपाल ट्रष्टको कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले सो भवन खाली गराउने प्रक्रिया चलिरहेको बताए । ‘हामीले कम्पनीलाई २१ दिनको म्याद दिएर खाली गर्न पत्राचार गरेका थियौं, त्यो म्याद सकिएको छ,’ श्रेष्ठले भने,‘अब हामी कानूनी प्रक्रियामा अघि बढ्छौं, भवन खाली नहुँदा हामीलाई ठूलो घाटा भएको छ ।’ काठमाडौं प्लाजामा धेरै जसो कर्पाेरेट कार्यालयहरु छन् । बैंक, शेयरसम्बन्धी कारोबार गर्ने कम्पनीहरु छन् । उनीहरुले समेत भाडा तिरेका छैनन् ।