NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

निशुल्क कोभिड टेस्ट गर्न मानवअधिकार आयोगको आग्रह

नेपालवाच । कोरोना संक्रमितको उपचार गर्नबाट सरकार पञ्छिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग आक्रोशित भएको छ । मंगलबार आयोगले संक्रमितको निःशुल्क उपचार र मृतकको शव व्यवस्थापन गर्न सरकारलाई भनेको छ । आयोगको भनेको छ,‘पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरु प्रति आयोगको ध्यानाकर्षण भएको छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही सरकारी अस्पतालहरुले ‘कोरोना संक्रमणभई उपचारत बिरामीहरुले आगामी २ कात्तिकदेखि सम्पूर्ण खर्च बिरामी स्वयम्ले व्यहोर्नुपर्ने’ गरी निर्णय गरेको थियो । आयोगले सरकारको यस निर्णयप्रति आपत्ति जनाउँदै सरकार महामारीबाट आक्रान्त नागरिकहरुको उपचारबाट पञ्छिएर नागरिकको स्वास्थ्य सम्बन्धीहकको सुनिश्चितता गर्ने दायित्वबाट विमुख हुन नमिल्ने भनेको छ । ‘यस जटिल परिस्थितिमा कोभिड–१९ बाट संक्रमित बिरामीहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ आयोगले भनेको छ ।