NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पिसिआरको टेस्टको विश्वसनीयतामा प्रश्न, निजी अस्पतालको कमाउधन्दा निरन्तर

काठमाडौं । कोभिड–१९ को संक्रमण पछिल्लो समय तीव्र गतिमा फैलिएको छ । संक्रमण फैलिएसँगै यसको परीक्षणका लागि अस्पतालहरूमा मानिसहरूको भीड लाग्न थालेको छ ।नेपालमा कोभिड–१९ सुरु भएयता १३ लाख नौ सय १८ जना व्यक्तिको सरकारी र निजी प्रयोगशालामार्फत् पिसिआर परीक्षण भइसकेको छ भने विगत २४ घण्टामा जम्मा १५ हजार सात सय १४ जनाको परीक्षण भएको छ । त्यसमध्ये तीन हजार सात सय ९० जनाको रिर्पोट पोजेटिभ आएको छ । हाल देशभर होम आइसोलेशनमा बस्नेको संख्या २६ हजार नै सय २७ रहेको छ भने संस्थागत आइसोलसनमा बस्नेको संख्या १३ हजार आठ सय ५१ रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या चार हजार चार सय ७० रहेको छ । संक्रमणको सुरुवाती चरणमा निजी अस्पतालहरूले नमूना परीक्षणमा खासै चासो देखाएनन् । निजीमा परीक्षण गरेबापत लाग्ने शूल्कभार सरकारले नै व्यहोर्ने निर्णयपछि निजी अस्पतालले पनि परीक्षण सुरु गरेका थिए । अहिले नेपालमा पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशालाको संख्या ६२ छ । जसमा सरकारीतर्फ ४१ र निजीतर्फ २१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालका निजी प्रयोगशालाबाट हालसम्म दुई लाख ३१ हजार चार सय पाँच तथा सरकारी प्रयोगशालाबाट दश लाख ६९ हजार पाच सय १३ जनाले पिसिआर परिक्षण गरिसकेका छन् । सरकारले पिसिआर शुल्क न्युनतम दुई हजार रुपैया कायम गरेको छ । यस अघिसम्म निजी प्रयोगशालाले प्रत्येक बिरामीबाट मनलाग्दी शुल्क उठाउँदै आएका थिए । भने सरकारी प्रयोगशालाले निःशुल्क परीक्षणको व्यवस्था गर्दै आएको छ । विशेषगरी, सरकारको भदौ २८ गतेको बैठकबाट सबै प्रयोगशालाहरुमा पिसिआर परीक्षणको शुल्क दुई हजार रुपैया तोकिसक्दा पनि केही प्रयोगशालाहरुले पिसिआर परीक्षणबापत सेवाग्राहीहरुबाट मनलाग्दी शुल्क असुल्दै आएका थिए । सरकारको ०७७ साल जेठ ३२ को वैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा टेष्टिङ्ग मापदण्डमा नपरेका (भिसा प्रयोजन आदिका व्यक्तिहरुको)को हकमा पिसिआर परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ कायम गरेको थियो । त्यस्तै, ०७७ साल असार २४ गतेको अर्को बैठकले उपत्यका बाहिरका प्रत्येक प्रदेशमा कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ कायम गरेको थियो भने ०७७ साल असार २८ गतको निर्णयले विदेशी नियोगका सिफारिसका कर्मचारीहरुलाई मात्र स्टार हस्पिटल, ललितपुर तथा काठमाडौ मेडिकल कलेजमा पाँच हजार पाँच सय रुपैयाँमा पिसिआर परीक्षणको व्यवस्था गरेको थियो । त्यसपछि मिति ०७७ साल भदौ १४ गतेको बैठकले पिसिआर परीक्षण गर्ने सबै प्रयोगशालाहरुमा सेवा शुल्क सहित चार हजार चार सय रुपैया भन्दा बढी शुल्क लिन नपाउने गरी परीक्षण शुल्क तोकेको थियो । जबकी स्टार अस्पतालले तीन हजार नौ सय रुपैयामा कोभिड–१९ को परीक्षण गर्दै आएको थियो भने कुपण्डोलस्थित विधि ल्याबले दुई हजार रुपैयाँमा, धुम्बाराहीस्थित ह्याम्स अस्पतालले न्युनतम तीन हजार आठ सय ९९ रुपैयाँमा कोभिड–१९ को परीक्षण गर्दै आएको थियो । तोकिएको भन्दा बढी शुल्क उठाउने प्रयोगशालाहरुको लाइसेन्स खारेज गर्न समेत पछि नपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमै चेतावती दिएपछि निजी प्रयोगशालाहरुले पिसिआर परीक्षणको शुल्क घटाएर दुई हजार बनाएका थिए । हाल देशभरका प्रयोशालाहरुमा कोभिड–१९को परीक्षणको शुल्क दुई हजार रुपैया रहेको छ । परीक्षणको विश्वसनीयतामा प्रश्न अर्को उपयुक्त विधिको अभावमा पिसिआरबाट जाँच गर्ने प्रयोगशालाको संख्या बढ्नु सकारात्मक हो । पछिल्लो समय सरकारले परीक्षणका लागि पनि यही विधिमा जोड दिएको छ । पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशालाको संख्या बढेसँगै त्यस्ता प्रयोगशालाको विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ । यो विधिबाट कोभिड–१९को परीक्षणका क्रममा एउटै व्यक्तिको दुई वटा नतिजा आउन थालेपछि यसको विश्वसनीयतामाथि प्रश्न उठेको हो । कोभिड–१९को महामारी विश्वमै नयाँ भएको र यसको परीक्षणका लागि प्रयोग हुने किट पनि अनुसन्धानकै क्रममा रहेकाले यसको शतप्रतिशत नतिजा संसारमा कतै पनि आएको छैन । कुनै पनि रिपोेर्टमा ५ देखि १५ प्रतिशतसम्म नतिजा फरक पर्ने सम्भावना रहने संक्रामक रोग विशेषज्ञहरूको भनाइ छ । कोभिडको हकमा ७० प्रतिशत मात्र सही नतिजा आउने वैज्ञानिकहरू बताउँछन् । यद्यपि, १० जनाको परीक्षण गर्दा तीन जनाको नेगेटिभ र सात जनाको पोजेटिभ आउने भएकोले यसैलाई आधार मान्नुको विकल्प नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटा बताउँछन् । परीक्षणका लागि नमूना संकलन गर्ने व्यक्तिले नमूना कहाँबाट कसरी लियो, कस्तो किट प्रयोग ग¥यो, लिइएको नमूना कुन विधिबाट भण्डारण ग¥यो तथा नमुना दिने व्यक्तिले कुन समय र ल्याबमा नमुना दियो भन्ने कुराले पनि परीक्षणको नतिजामा फरक पार्छ । ‘विशेषगरी, नाक तथा मुखको भित्री भागबाट नमूना लिएमा त्यसको नतिजा ७० प्रतिशतसम्म सही आउँछ भने स्वास नलीको भित्री भागबाट संकलन गरेको नतिजा ९० देखि ९५ प्रतिशतसम्म सही हुने गर्छ’, भाइरोलोजिस्ट डा. विष्णु कुमार उपाध्यायले भने । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नतिजा गलत आउने वा प्रयोगशालाको विश्वसनीयताका सम्बन्धमा भने कुनै पनि प्रयोगशालाले सबै प्रोटोकल पार गरेपछि मात्र कोभिड परीक्षणको अनुमति दिइने हुदाँ विश्वसनीयतामा प्रश्नचिन्ह खडा गर्नु जायज हुन्न । ‘कतिपय मानिसमा रिर्पोट नेगेटिभ नआउन्जेल प्रयोगशाला चहार्दै हिँड्ने बानी हुन्छ । त्यो भन्दैमा प्रयोगशालाले दिएको रिपोर्ट नै गलत छ भन्ने हुँदैन,’ टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुना झा भन्छिन्, ‘विशेषगरी, प्रत्येक प्रयोगशालाको आ–आफ्नै परीक्षण विधि हुने र त्यसमा मोलिक्यूलको प्रयोगमा पनि फरक पर्ने हुदाँ कहिलेकाही नतिजा भिन्नाभिन्नै आउनसक्छ ।’ यसका बाबजुद कसैको रिपोर्ट नेगेटिभ आयो तर पनि रोगका लक्षणहरु देखियो भने त्यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाएर तुरुन्तै चिकित्सकसित सम्र्पक गर्नुपर्ने डा. झाको भनाइ छ । पिसिआरका नाममा अस्पतालको कमाउधन्दा रोक्न सरकारी अनुगमन पछिल्लो समय निजी अस्पतालमा पनि पिसिआर विधिबाट हुने परीक्षण उल्लेख्य रुपमा बढेको छ । तर, निजी प्रयोगशालाहरूले यसलाई कमाउधन्दा बनाइरहेका गुनासो बढ्न थालेपछि सरकारले सार्वजनिक रुपमै चेतावनी दिदैँ तोकिएको भन्दा बढी शुल्क असुल्ने प्रयोगशालाहरुलाई कारवाही गर्ने जनाएको थियो । ‘शुल्कको विषयलाई लिएर मन्त्रालयले अनुगमनलाई तीव्रता दिईरहेको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘यदी कसैले बढी शुल्क लिएको पाइए कानून बमोजिमको कारवाही गरिनुका साथै त्यस्ता प्रयोगशालाको अनुमति समेत खारेज गर्छौ’ । तर, सरकारले न्युनतम शुल्कसँगै तोके पनि केही निजी अस्पतालहरुले ‘कोभिड प्रोटेक्सन चार्ज’का नाममा अतिरिक्त शुल्क उठाइरहेका छन् । कोभिड जाँचको कुनै व्यवस्था नभएका कारण सुरुवाती चरणमा नमूना परीक्षणका लागि स्वाब विदेश पठाउने गरिन्थ्यो । पछि नेपालमै यसको परीक्षण गर्न थालियो । नेपालमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट स्वाव परिक्षण सुरु गरिएको थियो ।