NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पौडेल भन्छन् : न देउवामा महाधिवेशनको इच्छाशक्ति छ न पौडेलमा दबाबशक्ति

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले सभापति शेरबहादुर देउवामा १४ औं महाधिवेशन समयमा गर्नुपर्छ भन्नेमा इच्छाशक्ति नै नभएको आरोप लगाएका छन् । पालवाचसँगको कुराकानीमा नेता पौडेलले कुनै विशेष अवस्था नआएकोले चार वर्षमैं गर्नुपर्ने महाधिवेशनमा देउवाले थप एक वर्ष थप्दा पनि नगरेको भन्दै आपत्ति जनाए । ‘हामीले निर्वाचनमा नमिठो पराजय बेहारेपछि समयमैं पार्टीका गतिविधिलाई अघि बढाएर महाधिवेशन गर्ने र अर्को चुनावका लागि पार्टीलाई तयारीमा लानुपर्ने थियो’ पौडेलले नेपालवाचसँग भने, ‘तर, बिडम्वना हाम्रो सभापति (देउवा)लाई महाधिवेशन समयमा गर्नुपर्छ भन्ने इच्छाशक्ति कहिल्यै भएन । यसैले कुनै विशेष अवस्था नभए पनि चार वर्ष होइन पाँच वर्षमा पनि महाधिवेशन हुन सकेको छैन । अझै यस अघि तोकिएको आगामी फागुन ७ देखि १० सम्म पनि हुने अवस्था छैन ।’ जवर्जस्त विवाद र बहाना नेता पौडेल आन्तरिक समायोजन सकेर सदस्यतामा नअल्झि महाधिवेशनमा लाग्नुपर्नेमा सभापतिबाट विवाद निकाल्ने काम भएको बताउँछन् । ‘संघीयता अनुसारका संरचना समायोजनमा समय लाग्ने थिएन । तर, महाधिवेशन ढिलाई गर्ने पद लम्ब्याउने बहानामा समायोजन समयमा गरिएन’ पौडेल भन्छन्, ‘समयमा समायोजन नसकिंदा क्रियाशील सदस्यता नवीकरण र वितरण समयमा सुरु भएन जसले महाधिवेशन तयारीका काम अघि बढ्न पाएनन् ।’ संघीयता अनुसार पार्टीका संरचनाको समायोजन हुन अब सिन्धुपाल्चोक, सप्तरी, रौतहट र सर्लाहीमात्र बाँकी भए पनि पार्टी नेतृत्वले प्रभावकारी पहलकदमी नलिएको उनी बताउँछन् । ‘यी चार जिल्लाबाहेक अन्यमा सदस्यतासम्बन्धी विवाद नभएको होइन । तर, विवाद मिलाउनै नसक्ने खालका छैनन् । अन्य पार्टीबाट आएकालाई पार्टी केन्द्रले सदस्यता पठायो । यिनीहरुमा पनि कतिपय पहिले कांग्रेसकै सदस्य थिए’ पौडेल भन्छन्, ‘तर, समायोजन, सदस्यताको काम प्रभावकारी रुपमा समयमा अघि नबढाएपछि अहिले महाधिवेशनलाई अन्यौलमा राख्ने बहाना मिलेको छ ।’ नेता पौडेल कोरोनाका कारण मात्रै कांग्रेसको अधिवेशन नरोकिएको बताउँछन् । ‘कोरोना महामारीकै बीच दक्षिण कोरियाले चुनाव ग¥यो, अमेरिका र भारत पनि चुनावमा होमिएका छन्’ पौडेल भन्छन्, ‘हाम्रो नेतृत्वमा महाधिवेशन समयमा गर्ने इच्छाशक्ति नै नभएपछि कोरोनालाई देखाएर टारिरहेको छ ।’ फागुन ७ मा महाधिवेशन हुँदैन भन्ने बोध भए पनि पार्टी नेतृत्वले औपचारिक, अनौपचारिक छलफलसमेत नगराएकोमा पौडेल आक्रोस व्यक्त गर्छन् । ‘महाधिवेशनको तयारी गर्न निक्कै ढिलो गरी बोलाइएको केन्द्रीय समितिको बैठक पनि नेतालाई कोरोना देखियो भन्दै स्थगित गरियो’ पौडेल भन्छन्, ‘तर, यसबीचमा बैठक बस्नु अघि अनौपचारिक छलफल गरी एउटा वातावरण बनाउने कामसम्म भएन । यसले पनि सभापतिमा महाधिवेशनप्रति चरम वेवास्ता छ भन्ने देखाउँछ ।’ अब भदौको भाका पटकपटक कार्यतालिका हेरेफेर गरेर आगामी फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन तोकिए पनि अब हुँदैन भन्नेमा सबै जानकार छन् । तर, नियमित चार वर्षमा एक वर्ष थप्दा पनि महाधिवेशन भएन । अब कांग्रेसको विधानले दिएको समय सकिएको छ । नेपालको संविधानको धारालाई टेकेर अब कांग्रेसले १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर, आगामी फागुनबाट थप छ महिनाको पनि अन्तिम समयमामात्र देउवाले महाधिवेशनको लागि ‘मुड’ बनाउने पौडेल बताउछन् । ‘कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्छ भन्ने दायित्व लिएर इच्छाशक्ति देखाएको भए यस अघि नै हामीलाई केहीले पनि छेक्ने थिएन’ पौडेल भन्छन्, ‘तर, पार्टीभित्र विवाद, कोरोना, दशैं, तिहार, छठ जस्ता सबै बहाना देखाएर महाधिवेशन फेरि २०७८ भदौसम्म पुरुयाउने बहाना सभापतिमा देखिन्छ ।’ महाधिवेशनको मितिभन्दा पनि आफू कमजोर हुन्छु भन्ने मानसिकताले सभापतिले समयमा इच्छा नदेखाएको आरोप उनको छ । दबाब न(दबाब) समयमा महाधिवेशन गर्न नखोज्नुलाई संस्थापन इतर पक्षले देउवाको आफू कमजोर हुने दाउका रुपमा अथ्र्याउदै आएको छ । संरचना समायोजनमा ढिलाई र मनोमानी, सदस्ययता, विभाग, भ्रातृ संस्था जस्ता आन्तरिक संगठनमा देउवाले मनोमानी गरी महाधिवेशनको नतिजा नै प्रभावित गर्न खोजेको आरोप इतर (रामचन्द्र पाैडेल) पक्षको छ । तर, उनीहरुले बेलामौकामा गरेको दबाबमूलक विरोधले पनि देउवा डग्मगाएका छैनन् । पटकपटकका ज्ञापनपत्र र हस्ताक्षर अभियानले पनि देउवा ‘टसको मस’ भएका छैनन् । २७ केन्द्रीय सदस्यले देउवाविरुद्ध हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाए । तर, उनीहरुको ज्ञापनपत्रलाई न देउवाले ‘सिरियसली’ लिए न उनीहरुले दबाब नै सिर्जना गर्न सके । उनीहरुले ज्ञापनपत्र बुझाएको एक महिना बित्न लागे पनि देउवालाई थप दबाब बढाउन सकेको छैन । बरु इतर पक्षले महाधिवेशनसम्मै देउवाविरुद्ध एजेण्डा बनाएर जाने नीति लिएपछि देउवाले पनि उनीहरुका मागलाई झनै बेवास्ता गरिदिएका छन् । ‘महाधिवेशन समयमा गर्नुपर्छ, पार्टीलाई चलायमान बनाएर अर्को चुनावमा होम्नुपर्छ भनेर न सभापतिमा दायित्व बोध भएको छ न अर्को पक्षका नेताका रुपमा इतर पक्षले दबाब बढाउन सकेको छ’ नेता पौडेल भन्छन् ।