NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

१४ औं महाधिवेशनपूर्व के हो कांग्रेसको विवाद ? खड्का र केसीका आ–आफ्नै तर्क

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको भए पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस १४ औं महाधिवेशनमा होमिइसक्ने थियो । क्रियाशील सदस्यताको विषय टुंगिएर यतिखेर कांग्रेसमा तल्लो तहका अधिवेशनको प्रक्रिया आरम्भ भइसक्ने थियो । तर, कोभिडको संक्रमण बढेसँगै कांग्रेसको महाधिवेशनको तयारी समयमा हुन सकेन । तर, सँगै महाधिवेशन पूर्व गर्नुपर्ने आन्तरिक समायोजन, सदस्यता वितरण र नवीकरण जस्ता विषय पनि समयमैं अघि नबढ्दा कांग्रेसभित्रै नेतृत्वप्रति आलोचना र विरोधको श्रृखला बढेको छ । जसको नतिजा एकातिर कोरोनाको महामारी अर्कोतिर सुस्त तयारीले फेरि पनि महाधिवेशन पर धकेलिनेतिर गएको छ । दुईपटक कार्यतालिका संसोधन गरेपछि कांग्रेस महाधिवेशन हुन सकेन । अब फेरि फागुन ७ देखि १० सम्म महाधिवेशन हुन नसक्ने भएपछि कार्यतालिका हेरफेरको प्रयास भइरहेको छ । महाधिवेशनमा ढिलाई हुँदै गर्दा कांग्रेसमा आरोपप्रत्यारोप सुरु थालिसकेको छ । संस्थापनले निष्पक्ष महाधिवेशन हुने बाटो बन्द गरेको आरोप इतर पक्षले लगाउँदै आएको छ । ‘सभापतिको काम गराईको तौरतरिका विधि, विधान र पद्धतिसम्मत छैन भनेर हामीले केही दिन अगाडि १६ बुँदे लिखित ध्यानाकर्षण गराएका थियौं’ अर्जुननरसिंह केसीले नेपालवाचसँग भने, ‘जहाँ १६ बुँदे ध्यानाकर्षण पत्रमा सभापतिबाट भएका विकृति केलाइएको छ । यसर्थ हामीले निष्पक्ष र पारदर्शी महाधिवेशन गर्न विधानलाई पालना गरौं भन्दै आएका हाैं ।’ तर, संस्थापन पक्ष यो आरोप स्वीकार्न तयार छैन । ‘कोरोना संक्रमण झन्झन् बढेर जाँदा हामीले दुईपटकसम्म घोषणा गरेर पनि केन्द्रीय समितिको बैठक राख्न सकेनौं । यसर्थ बैठकपूर्व १७ कात्तिकमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छौं’ महामन्त्री पूर्णबहादुर खड्का भन्छन्, ‘जुन बैठकमा रामचन्द्रजीहरुले उठाएको विषयमा छलफल हुन्छ । यस अघि नै हामीले छलफल सुरु गरिसकेका छौं । छलफल राम्रै भएको छ । अब केन्द्रीय समितिको बैठकपूर्व पुनः छलफलमा जुटेर महाधिवेशनको तयारीमा होमिन्छौं ।’ यस्तो छ दुई पक्षका नेताहरुको तर्क निष्पक्ष र पारदर्शी महाधिवेशनमा हाम्रो चासो अजुर्ननरसिंह केसी, केन्द्रीय सदस्य पार्टीमा क्रियाशील सदस्यता दिंदा विधानमा उल्लेखित वैधानिक व्यवस्थालाई मानौं भन्ने हाम्रो तर्क हो । तर, फलानो पार्टीबाट आएकोले एक हजार पाउने, अर्कोले १५ सय पाउने भनेर आफूखुशी सदस्यता बाँड्ने काम भएको छ । यो विधान विपरीत छ भन्ने हाम्रो तर्क हो । यस्तो सदस्यता जिल्ला सभापति, क्षेत्र हुँदै गाउँ, वडासम्म पुगेर सोही बाटोबाट आउनुपर्छ । तर, सदस्यतामा मनपरी गर्ने काम भयो । दोस्रोपटक महाधिवेशन घोषणा गरिसकेपछि अचारसंहिता विपरीत विभाग गठन गरियो । पहिले पनि सुशील कोइरालाले गठन गर्दा विवाद भएको नजीर हुँदाहुँदै विधान विपरीत गठन भएका विभागलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो माग छ । संघीयता अनुसार पार्टी संरचना बनाउन भन्दै समायोजन गर्न खोजिए पनि निर्देशिका अनुसार भएको छैन । जनसम्पर्क समितिमा उस्तै पक्षपात भएको छ । केन्द्रीय समितिको निर्णय अनुसार काम भएका छैनन् । यसर्थ महाधिवेशन समयमैं गरौं तर विधानलाई पूर्ण पालना गरौं भन्ने हाम्रो मुख्य माग हो । अब दुई दिनपछि केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारी बैठक बस्ने भन्ने छ । हाम्रो १६ बुँदे मागमा कस्तो प्रतिक्रिया आउँछ त्यसै अनुसार हामी अघि बढ्छौं । सामूहिक एकताले महाधिवेशन गर्ने हो पूर्णबहादुर खड्का, महामन्त्री कोरोनाको कारण १४ औं महाधिवेशनको कार्यतालिका बिग्रिसकेको छ । हामी यो विषयमा पनि छलफलमा जुट्छौं । महाधिवेशन पूर्व टुंगिनुपर्ने पहिलो विषय क्रियाशील सदस्यताको हो । सदस्यता वितरणको प्रक्रिया कहाँ पुग्यो भन्नेबारेमा अब छलफल केन्द्रित हुन्छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्न अरु दलसँग कुराकानी गर्ने भन्ने पनि हाम्राे एजेण्डा छ । तर, हाम्रो मुख्य चासो क्रियाशील सदस्यताको नवीकरण र वितरण छिटो गर्ने भन्नेमैं छ । १६५ निर्वाचन क्षेत्रीय समिति र ७७ जिल्ला कार्यसमितिबाट सदस्यताको विवरण केन्द्रमा बुझाएको बढीमा तीन महिनामा महाधिवेशन गर्न सकिन्छ । अब कार्यतालिका तलमाथि हुने भन्ने कुरा क्षेत्र र जिल्लाले सदस्यता कहिले टुंग्याउँछन् भन्नेमा निर्भर हुन्छ । कोरोनाका कारण हामीले केन्द्रमा नै बैठक गर्न सकेका छैनौं । नेताहरु बैठक स्थल छोडेर हिँडनुपर्ने अवस्था छ । यस्तोमा अस्वभाविक दन्त बझाईको काम छैन । केन्द्रमा जस्तै वडा तहसम्मै बैठक बसेर मात्रै सदस्यता टुंग्याउनुपर्ने हुन्छ । तर, पनि कोरोनालाई बेवास्ता गर्दै जिल्ला, क्षेत्र, पालिका तहमा साथीहरुले काम गरिरहनुभएको छ । यस्तोमा म कुनै नेता विशेषलाई दोष दिन चाहन्न । कोरोनापछि ११ चैतदेखि लकडाउन नभएको भए हामीले अधिवेशनमा धेरै अगाडि बढिसक्ने थियौं । तर, पनि जोखिम मोलेर वडादेखि केन्द्रका कर्मचारीसम्मले काम गरेका छन् । कोरोनाको समयमा काम गरेनन् भन्नु दुर्भाग्यपूर्ण टिप्पणी हो । केन्द्रबाट सदस्यता वितरणको प्रक्रिया रोकिएको छैन । जिल्ला, क्षेत्र, पालिका तहका संरचनाले काम गरिरहेका छन् । यथार्थ एकातिर हुँदा आरोप लगाएर हामी कोही उम्कन सक्दैनौं । काठमाडौंमा नेताहरुलाई हामी एकले अर्कोलाई भेट्न डराईरहेका छौं । यसका बाबजुद पनि हामीले अधिवेशन गर्नैपर्छ । हामीसँग निश्चित समय छ । हामीले मिलेरै अधिवेशन गर्ने हो । वडादेखिको कांग्रेस एक ठाउँमा उभिएर मात्रै सम्भव छ । सामूहिक एकताले मात्रै महाधिवेशन सम्पन्न हुने हो । ढिलो गर्ने भन्ने कुनै कारण छैन ।