NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चार सय भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण

काठमाडौ । नेपाल पत्रकार महासंघले आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरेर मात्रै काम गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति निकालेर स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारहरुलाई सचेत गराएका हुन् । सङ्क्रमणको दर बृद्धिभएसँगै कोरोना भाइरसबाट सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । महासंघका अनुसार पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । यस्तै चारजना पत्रकारको कोभिड–१९ का कारण निधन भएको छ । महासंघले यस्तो अवस्थामा काम गरिरहेका संचारकर्मीलाई कोभिड–१९ को कारण देखाई विभिन्न सञ्चारगृहबाट नियमित पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्नेजस्ता काम भएको समेत महांघले जनाएको छ । “दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिमकाबीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोरोना सङ्क्रमित भई यतिखेर आफ्नै खर्चबाट पिसिआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ”, विज्ञप्तिमा भनिएको छ । महासंघले कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेका हुन् ।