NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

शशांक र शेखरलाई सुजाताको चुनौती : १४ औं महाधिवेशनमा सभापतिमा उठ्छु

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवार भन्ने घोषणा गरेकी छिन् । प्राइभ टिभीलाई अन्तर्वार्ता दिंदै नेतृ सुजाताले पार्टी संकटमा पुगेको भन्दै अब आफूले मात्रै कांग्रेसलाई पार गराउन सक्ने दाबी गरेकी हुन् । ‘मैंले सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा धेरै कारण छन् । साथीभाइहरुको धेरै प्रेसर आएको थियो । चार महिनादेखि तपाईं लड्नुपर्छ लड्नुपर्छ भन्दा मैंले अझै हेर्छु भन्दै आएँ’ ऋषि धमलासँगको अन्तर्वार्तामा कोइरालाले भनेकी छिन्, ‘अहिले सभापतिमा लड्दिन भन्ने नै मेरो सोच थियो । तर, मेरो सोचमा परिवर्तन आएको छ । मैंले पनि सभापतिमा लड्नुपर्छ ।’ लाचार सरकार रहेको देशमा प्रतिपक्षी झन् गैरजिम्मेवार बनेको भन्दै आफू अघि बढ्नुपरेको उनको भनाई छ । ‘सरकारको उपस्थिति त कतै छँदैछैन । प्रतिपक्षीको भूमिका त झन् राम्रो छैन । पार्टी खस्कँदै गएको छ’ कोइरालाले भनिन्, ‘धेरै नेता टेस्ट भइसे । अब टेस्ट नभएका नेता अगाडि आउनुपर्छ । पार्टीले जनताको भलोका लागि काम गर्न पनि नयाँ अनुहार चाहिन्छ । म कन्फिडेन्ट छु । सभापति बन्दा पार्टीलाई शक्तिको पुरानै अवस्थामा लान र देशलाई स्थायित्वतिर लान सक्छु ।’ अब छोड्दिन १३ औं महाधिवेशनमा सभापतिमा दाबेदारी गरे पनि सिनियर नेता भएको हिसाबले नेता रामचन्द्र पौडेललाई छोड्नुपरेको उनले बताइन् । ‘यसपटक मेरो उम्मेदवारी रहन्छ । म ब्याक हुन्न । अघिल्लो महाधिवेशनमा मैंले सम्झौता गर्ने अवस्था आएको थियो । रामच्रन्दजी सिनियर नेता भएकोले मलाई आपत्ति छैन भन्दै छोडिदिएको हुँ’ उनी भन्छिन्, ‘यसपटक रामचन्द्रजीले पनि सुजाता उठ्ने भए म सहयोग गर्छु भनेर साथीहरुलाई भन्दै आउनुभएको छ भन्ने सुनेकाे छु ।’ कोइराला परिवारबाट मैं हुँ कोइराला परिवार र पूर्व संस्थापनबाट आफू नै उम्मेदवार बन्ने उनको दाबी छ । ‘कोइराला परिवारका हामी तीन जना नमिलेको होइन । हामी तीनजना मिलेरै नै एकजनाको उम्मेदवारी घोषणा हुन्छ । सबैले मलाई सहयोग गर्नुहुन्छ । नयाँ अनुहार त्यसमा पनि महिलालाई अघि बढाउन उहाँहरु पनि तयार हुनुहुन्छ’ कोइरालाले भनिन्, ‘कोइराला परिवारको मात्रै समर्थनले पुग्दैन । सबैको साथ चाहिन्छ । रामचन्द्रजी, प्रकाशमानजी, सिटौलाजी, अर्जुनजी, रामशरणजीसहितका सबै नेता कार्यकर्ताको साथ मलाई हुन्छ ।’ पार्टीलाई दीर्घजीवन दिन नयाँ र युवा अनुहारको आवश्यकता भएकोले पनि आफ्नो उम्मेदवारी स्वभाविक रहेको तर्क उनको छ । आफूलाई कोइराला परिवार, पूर्व संस्थापन सबैको सहयोग हुने जिकिर गर्दै उनले भनिन्–मलाई सपोर्ट गरेर केही बिग्रदैन । सबैजना उम्मेदवार भए पनि म लड्छु । म एउटी महिला हुँ । महिलालाई पार्टीको नेतृत्वमा पुर्याउनु भनेको परिवर्तन पनि हो ।’ महाधिवेशनलाई अन्यौलमा पार्ने काम भएको भन्दै कोइरालाले फागुनबाट थप्नै परे तीन महिनामात्र समय थप्नुपर्ने बताइन् । ‘तीन महिनाभन्दा बढी सार्न हुँदैन । कोरोनाको बहाना देखाएर पार्टीको चुनाव नै नगर्ने भन्ने हुँदैन । अधिकतम तीन महिनाभन्दा समय थप्नै हुन्न तर, सभापतिको सोच महाधिवेशन गराउनेतिर देखिंदैन’ उनले भनिन्, ‘सदस्यता बाडन् सकिएको छैन । पार्टी अफिस कोही जाँदैन । भेटघाटमा छैनन् । पार्टी एकदमै शिथिल छ । पार्टीमा उत्साह ल्याउन महाधिवेशन समयमा गर्नुपर्छ ।’ कोरोनाका कारण अप्ठ्यारो भए प्रदेशप्रदेशमा केन्द्रका लागि चुनाव गर्न सकिने उनको प्रस्ताव छ । दाबेदारको ताँती पूर्व संस्थापनमा उम्मेदवार बन्नका लागि नेताहरु ताँती लागेका छन् । नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइरालाकाे सभापतिमा दाबी छ । अर्को समूहबाट नेता कृष्णप्रसाद सिटौलाले पनि दाबेदारी प्रस्तुत गर्दै आएका छन् । यस अघि आफ्नो स्वास्थ्यका कारण सभापतिमा अघि नबढ्ने घोषणा नेतृ कोइरालाको थियाे । तर, शशांक र शेखरले दाबेदारी गरिरहेका बेलामा सुजाता पनि थपिएकी छन् । सुजाताको दाबेदारीले पूर्व संस्थापनलाई संस्थापनका शेरबहादुर देउवाविरुद्ध एक्लो उम्मेदवार अघि सार्न समस्या हुने देखिएको छ । शशांक र शेखर पनि एकले अर्कोलाई नछोड्ने मनिस्थितिका साथ आफ्नो तयारीलाई अघि बढाइरहेका छन् । यी तीनै जना कृष्णप्रसाद काेइरालाका छाेराहरुका सन्तान हुन् । शशांक बिपीका छाेरा हुन् । सुजाता गिरिजाकी छाेरी हुन् । शेखर केशव नाेनाका छाेरा हुन् ।