NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यती एयरका पुराना जहाज भाडामा लिएर चलाउने निगमको तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले नयाँ किन्न नसक्ने बहानामा चलखेल गरी यती एयरलाइन्सको भगीनी कम्पनी तारा एयरबाट ट्वीनअटर जहाज भाडामा लिने तयारी गरेको छ । आर्थिक अभावका कारण देखाउँदै ताराका दुई वटा जहाज ल्याउने गरी तयारी निगममा अघि बढेको छ । ६ थान चिनीयाँ जहाज तत्काल उडाउन नसक्ने अवस्थामा थन्किएको, नयाँ किन्न कम्तीमा दुई वर्ष समय लाग्ने, पर्याप्त बजेट नभएको लगायतका तर्क अघि सारेर निगमले भाडामा ट्वीनअटर जहाज लिने प्रक्रिया थालेको हो । निगमले तारा एयरसँग भएको क्यानेडियन कम्पनी भाइकिङका २ वटा ‘डिएचसी ६/४००’ जहाज ल्याउन खोजेको हो । निगमले लिन खोजेको यी दुई जहाज तारा एयरले सन् २०१६ मा लिजमार्फत् खरिद गरेको थियो । क्यानेडियनको भाइकिङ कम्पनीबाट लिजमा लिइएका यी जहाज अहिले तारा एयरको स्वामित्वमा आइसकेका छन् । निगमका अध्यक्ष सुशिल घिमिरेले नेपालवाचसँगको कुराकानीमा नेपालका भाइकिङ कम्पनीको जहाज सबैभन्दा उपयुक्त हुने बताए । लिजमा लिँदा ५/६ वर्षसम्म पुरानो जहाज लिन सकिने सोचेको उनले बताएका छन् । केही समयअघि निगमको सञ्चालक समिति (बोर्ड) ले बोर्डकै सदस्य रहेका अच्युतराज पहाडीको संयोजकत्वमा निगमलाई आवश्यक पर्ने जहाज कसरी गर्ने भन्ने सुझाउन अध्ययन तथा सुझाव उपसमिति गठन गर्यो । उपसमिति गठनको निहीतार्थ थियो – ताराका तिनै जहाज लिजमा लिन बाटो खुला गर्ने । हालका महाप्रबन्धक डिमप्रकाश पौडेलको नियुक्ति अघि नै निगम बोर्डले हतार–हतार उपसमिति गठन गरेर यो प्रक्रिया अघि बढाएको थियो । उपसमितिले भर्खरै प्रतिवेदन बुझाएको छ । उपसमितिले ट्वीनअटर जहाज भाडामा लिन उपयुक्त हुने सुझाव दिएको छ । प्रतिवेदन बोर्डमा पेस भएपछि निगमले जहाज भाडामा लिने प्रक्रिया अघि बढाउने छ । नेपालवाचसँग कुरा गर्दै उपसमिति संयोजक अच्युतराज पहाडीले निगमले अब ल्याउने जहाजमा ट्वीनअटरको सम्भावना अधिक रहेको बताए । ट्रंक रुट र पहाडी क्षेत्रमा पनि उडान गर्न सक्ने भएकाले ट्वीनअटर जहाज उपयुक्त हुने दावी उनको छ । निगमले ट्वीनअटर जहाज ल्याउने भन्दा शंका गर्ने विषय थिएन । तर, ट्वीनअटर जहाज लिजमा ल्याउने गरी फाइभस्टार होटलमा बसेर योजना बन्यो र त्यही अनुसार बोर्डले उपसमिति गठन गर्यो । जबकी यही प्रकारको प्रतिवेदन निगमभित्रैको अर्को उपसमितिले यसअघि नै बुझाइसकेको छ । उक्त प्रतिवेदनलाई थन्क्याएर एक्कासी पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमिति संयोजक पहाडीको यसवीचमा हवाई विचौलियासँगको भेटघाट बाक्लिएको छ । तारा एयरको जहाज निगमलाई भाडामा भिराउन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट व्यवस्थापनलाई दवाव दिइएको स्रोतको दावी छ । निगमका बोर्ड अध्यक्ष सुशील घिमिरेले चिनियाँ जहाजले घाटाको व्यापार गरेपछि विकल्प चाहिएको बताए । ‘निगमसँग आन्तरिक उडानका लागि जम्मा दुई वटा ट्वीनअटर जहाज छन् । त्यसमा पनि एउटाको मर्मत गर्नुपर्ने छ ।’ उनले भने, ‘लकडाउनले गर्दा बनाउने मान्छे पनि आउन सकेका छैनन् ।’ भाइकिङको पछिल्लो मोडलको जहाज नेपाललाई सबैभन्दा बढी उपयुक्त हुने उनको भनाइ छ । लिजमा लिने गरी प्रक्रिया अघि बढाइएका ताराका दुवै जहाज भाइकिङका पछिल्ला मोडल हुन् । सामाजिक उत्तरदायित्वको हिसाबले पनि निगमले दुर्गममा हवाइ सेवा पुर्याउनुपर्ने उनको तर्क छ । निगमले तारासँग जहाज भाडामा लिनेगरी प्रक्रिया अघि बढाएको घटनाक्रम र प्रमाणहरूले देखाएको छ । त्यसका विवरणहरू नेपालवाचसँग सुरक्षित छ । महाप्रवन्धक पौडेल भन्छन्, लिजमा लिने निश्चित छैन निगम महाप्रवन्धक डिम प्रकाश पौडेलले जहाज लिजमा लिने गरी निर्णय नभएको दावी गरे । ‘जहाज नै लिजमा लिने निर्णय नभएको अवस्थामा ताराकै जहाज भाडामा लिने गरि निर्णय गर्न संभव नै छैन’, उनले भने, यसका लागि पक्रिया अघि बढेकै छैन ।’ महाप्रवन्धक पौडेलले निगमको आन्तरिक बजार व्यवस्थापनमा सुझाव दिन कार्यदल बनेको तर गठित कार्यदलको प्रतिवेदन बोर्डमा पेश नभएकोले प्रतिवेदनमा के छ भन्ने आफुलाई जानकारी नभएको बताए । उनले कुन कम्पनीको जहाज भाडामा लिने भनेर आफुकहाँ कुनै प्रस्ताव नआएको र कानूनी रुपमा पनि पहिला नै कम्पनी तोकेर निर्णय हुन नसक्ने बताए । उपसमिति गठनमा प्रश्न निगमका दुई बोर्ड सदस्यसमेत उपसमिति गठन शंकास्पद रहेको बताउँछन् । ‘बोर्ड बैठक अघिसम्म उपसमिति गठनको बारेमा कुनै जानकारी थिएन, अध्यक्षज्यूले सीधै उपसमिति गठन गर्ने र त्यसको संयोजकमा अच्युतजीको नाम प्रस्ताव गर्नुभयो,’ एक बोर्ड सदस्यले नेपालवाचसँग भने, ‘सामान्य छलफल नै नभइ उपसमिति गठनको प्रस्ताव एक्कासी किन आयो भन्ने नै पहिलो प्रश्न हो ।’ उपसमिति गठनको प्रस्ताव आउनुअघि निगमका केही अधिकारी र हवाई क्षेत्रका व्यवसायीको टोलीबीच जहाज लिजमा लिने सम्बन्धमा काठमाडौंको पाँचतारे होटेल ‘मेरियट’ मा छलफल भएको थियो । त्यसलगत्तै बोर्ड बैठकमा उपसमिति गठनको ठाडो प्रस्ताव पेश भएको हो । निगमलाई नयाँ जहाज चाहिएको दावी गर्न घिमिरेको ५ तर्क – चिनियाँ जहाजले घाटाको व्यापार गरेपछि त्यसको विकल्प चाहिएको छ । – निगमसँग आन्तरिक उडानका लागि जम्मा दुईवटा मात्र ट्वीनअटर जहाज छन् । तर, निगमले दिने सेवा यसले मात्र धान्न सक्दैन । त्यसमा पनि एउटाको मर्मत गर्नुपर्ने छ । – सामाजिक दायित्वको हिसाबले पनि निगमले दुर्गममा हवाइ सेवा पुर्याउनुपर्ने हुन्छ । – नयाँ जहाज खरिदका लागि निगम र सरकार आफैं पनि सक्षम छैनन् । – लिज प्रक्रियामा निगम गयो भने, भाइकिङको पछिल्लो मोडलको जहाज नेपाललाई सबैभन्दा उपयुक्त हुन्छ । तारा एयरसँग भएको जहाज कस्तो हो ? तारा एयर यती एयरलाइन्सको भगिनी कम्पनी हो । पहाडी क्षेत्रमा उडान गर्दै आएको तारासँग जम्मा ४ वटा ट्वीनअटर जहाज छन् । जसमध्ये दुई वटा जहाज १९९८ मोडलका ‘डिएचसी ६/३००’ ट्वीनअटर जहाज हो । बाँकी दुई वटा ‘डिएचसी ६/४००’ मोडलका भाइकिङका जहाज हुन् । नयाँ मोडलका दुईवटा जहाज ताराले सन् २०१६ मा लिजमार्फत खरिद गरेको हो । यस सम्बन्धमा निगम अध्यक्ष घिमिरेसँग नेपालवाचले प्रश्न गर्दा झोंक्किदै भने, ‘काम भैसकेको छैन, तपाईंहरु अनेक शंका गरेर बस्नुहुन्छ । को–को–कहाँ बसेर छलफल गरे, मलाई थाहा छैन …. फोन काटियो ।’ उपसमिति गठनको प्रस्ताव बोर्डमा पेश गर्नुअघि बोर्ड सदस्यहरूसँग जानकारी दिन तथा छलफल गर्न आवश्यक नभएको उनको जिकिर छ । ‘अध्यक्षले सीधै प्रस्ताव लैजान सक्छ, यो समस्या होइन,’ अध्यक्ष घिमिरेले भने ।