NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जातको प्रश्न कि छुवाछूत र वहिष्करणको ?

कलाकार राजेश हमालले प्रस्तुत गर्ने गरेको ‘जातको प्रश्न’ कार्यक्रम सम्बन्धमा उठेको तरङ्गले यो लेख्ने प्रेरणा दियो । यो आलेखको प्रारम्भमा केही शब्दको अर्थमा दृष्टिपात गर्नु मनासिब ठान्दछु । जात ( जन्मेको , पैदा भएको । वंश परम्परा , धर्म, गुण , आकृति , वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति या वर्ग । जातभात – रुढि या परम्परागत जात र जातअनुसार चल्ने या नचल्ने भातभान्सा । राणाकालमा तागाधारीले मतवालीको हातको भात खायो भने या पानी नचल्ने जातकी महिला ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्थ्यो । जातहटक -रुढीगत चलनअनुसार जातको नियम नमान्नेलाई भातभान्सा आदिबाट गरिने बहिष्कार । जाति – राष्ट्रियता र भौगोलिक सीमाको आधारमा छुट्टिने मनुष्यको जातिको विभाग । हिन्दू समाजमा वंश परम्परा , संस्कार , धर्म , कर्म आदिका आधारमा छुट्टिने बाहुन , क्षेत्री आदि जात । शारीरिक बनोट , आकारप्रकार , गुण , स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने स्थावर जंगम आदिको विभाग । शूद्र – आर्यहरुको वर्णव्यवस्थाअनुसार अन्तिम या चौथो वर्ण । अन्त्यज । शूद्रता -शूद्र हुनाको भाव । छुवाछूत – अछूतसितको लसपस ।छूतछात क्ष् अछूत – हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागू हुनुभन्दा अघि छुन नहुने वा पानी नचल्ने , छोइछिटो हाल्नुपर्ने समुदाय । पानीबाहेक – पानीबाट हटक गर्नु । दलित – दमन गरिएको , थिचिएको ।नष्ट पारिएको , ध्वंसित ।शोषित , पीडित । वहिष्कार – निकालवास । अपसारण ।निष्कासन । हटाउनु , हुत्याउनु । हटक – रोक्का , मनाही , निषेध ।जाति या समाजबाट छुट्टयाउने कार्य । यी त भए कोशअनुसारका शब्दार्थ ।यतिबाटै प्रष्ट हुन्छ हाम्रो समाजको परम्परागत विभेद र वहिष्करण । यी कुराको अस्तित्व नभएको भए शब्दकोशमा उल्लेख गर्नु आवश्यक नै पर्दैनथ्यो । शंकराचार्य काशीमा गंगास्नान गर्न जाँदै थिए । मणिकर्णिका घाट नजिक साँघुरो बाटोमा कथित अछूत व्यक्ति विपरित दिशाबाट आउँदै रहेछन् । शंकरले उनलाई बाटो छोड्न भने , तर अछूतले शंकरलाई भने “तिमी त ब्रह्म सत्य जगन्मिथ्या भन्छौ ।तिम्रो र मेरो शरीर एकै तत्वले बनेको छ । यदि म अपवित्र छु भने तिमी कसरी पवित्र छौ ? यदि तिमी सच्चा छौ भने म कसरी झूटा रु म चान्डाल हुँ भने मलाई स्वीकार छ , तर तिमीले पनि आफूलाई चाण्डाल स्वीकार गर” शंकरले तत्काल सत्यलाई स्वीकार गरे । शंकरले स्थापना गरेका पीठहरुमा भातपानीको विभेद रहेको छैन । ती अनाम दलित शंकरका अनाम गुरु थिए । शंकरको अद्वैत यस्तो दर्शन हो , जसले सवैलाई एकै ठाउमा विलय गर्दछ ।जव सवै द्वैतहरुको एकैठाउँमा मिलन हुन्छ त्यहीँ अद्वैतको उदय हुन्छ । जहाँ समस्त मानवजाति एकाकार हुन्छ् , त्यही नै ब्रह्म , ईश्वर या ऊर्जा हो ।यति कुरा मात्र बुझ्न सके सारा अहङ्कार र भेदभाव सखाप हुनेछन् । कृष्णले गीतामा गुण र कर्मको आधारमा भिन्नभिन्न विभाग कायम गरेको कुरा बताएका छन् । किन्तु उनले पनि यसलाई भिन्न तरिकाले बुझाउनु पर्दथ्यो । सायद उनी पनि तत्काल संस्थागत भइसकेको विभेदलाई आत्मसात गर्दथे ।गुरु द्रोणले एकलव्यलाई गरेको अन्याय उनलाई थाहा थियो । कर्ण , विदुर आदिलाई गरिएको विभेदबारे उनी अनभिज्ञ थिएनन् । त्यस समयमा विभेदको संस्कृति भए तापनि सायद छुवाछूतको कलङ्क चाहिँ थिएन । राजेश हमालले प्रस्तुत गर्ने कार्यक्रमबारे विभिन्न अभिमतहरु आए । सानो खालको कित्ताकाट पनि देखियो । नायकका फोटा जलाइएको खबर पनि आयो । सायद डलरको हरक पनि आयो क्यारे ।त्यो विरोध भयो असाध्यै राम्रो भयो । तथापि विरोध गरेर या विरोधको महिमा गएर मात्र उत्तर प्राप्त हुँदैन र प्रश्नको समाधान पनि हुँदैन ।त्यो विरोधमा यसो भनेको भए साह्रै राम्रो हुने थियो । यहाँ मानव समुदायको एउटा खण्डलाई लागू हुने छुवाछूतको प्रथा थियो । अहिले वैधानिक रुपमा त्यो विभेदलाई निराकरण गरिएको छ । किन्तु भिन्न रुपमा अझै पनि कायम छ । हाम्रा दिदीबहिनी दाजुभाइलाई गर्दै आइएको विभेद हामी आफ़ै उखेलेर फाल्छौं । यी हेर हाम्रो जुलुसमा सबै छौं , हामी सम छौं विषम छैनौं । त्यो विरोधमा विभेदमा पारिएको अर्थात दलित बनाइएको समुदायका व्यक्तिहरु पनि सामेल भएर ‘हो हामी अब विभेदमा छैनौ । जसरी सतीप्रथाको जरो उखेलियो त्यसै गरी छुवाछूत् पनि रहने छैन ।हामी ‘दलित’ हरु अब दलित रहेनौं । यी हेर हामी सबै सँगै छौं ।हाम्रो समाज हामी सुधार्छौँ , कसैको डलर चाहिएको छैन ।’ भन्ने स्वर पनि गुन्जायमान भएको भए कति सुन्दर देखिने थियो होला रु तर विरोध गर्ने पक्षमा सबैलाई समावेश गर्ने हैसियत थिएन । यस्तो विरोधको क्रममा भन्न सक्नु पर्दथ्यो ( हो छुवाछूत थियो र अझै पनि अवशेष छ । हामी त्यो अवशेषलाई समेत सहन गर्ने छैनौं । हाम्रा पूर्वज महान थिए । सबैका पूर्वज महान हुन्छन् । परन्तु नराम्रों कुरा त बाबुले गरे पनि नराम्रै हो । उस बखतमा हाम्रा पूर्वजले अन्जानमा या स्वार्थ जे सुकै कारणले गरेको भए तापनि त्यो महान भूल थियो । त्यो भूल हाम्रो समयमा आएर सच्चिने भयो । जसरी अस्ट्रेलिया राष्ट्रले त्यहाँका आदिवासीलाई आफ्ना पूर्वजले अन्याय , विभेद र वहिष्कार गरेको कुरा स्वीकार गर्न तत्पर भएर राष्ट्रिय माफी (न्यासनल एपोलोजी) माग्यो , त्यसै गरी नेपाल राष्ट्रले पनि पूर्वकालमा भएको गल्तीका लागि माफी माग्नु पर्दछ ।हामी त्यसका लागि आतुर छौं । यी हेर हाम्रो जुलुसमा सबै प्रकारका नाक , आँखा , रङ , कद , पहिरन र भाषाको प्रतिनिधित्व छ ।’ दक्षिण एसियामा मानवको शूद्रीकरणको प्रमुख कारण श्रमसँग गाँसिएको रहेछ । रामायणमा शम्बूक भन्ने शूद्रको प्रसङ्ग छ । रामराज्यको समयको कुरा हो । एक दिन एउटा वृद्ध व्यक्ति राजप्रासादको द्वारमा आएर विलाप गर्न थाले । ती दुस्खीको सहश्र अश्रुधारामिश्रित शोक बडो करुणा लाग्दो र कठोर व्यक्तिलाई समेत रुलाउने खालको थियो । किन्तु माग भने पूरा गर्नै नसकिने खालको । शोकले व्याकुल वृद्धको साथमा उनको छोराको मृत शरीर थियो । उनी भन्दथे ( हे राम १ तिमी त प्रतापी राजा कहलिएका छौ ।यी हेर त १ तिम्रो राज्यमा एउटा वृद्ध पुत्रको मृत शरीरसँगै बलिन्द्रविलाप गर्दै छ । मेरो छोरालाई जीवित पारिदेऊ , नत्र म यहीँ अपहत्ते गरेर मर्नेछु। रामले सभा बोलाए । त्यहाँ एक से एक नौ जना ऋषि थिए । वसिष्ठ , मार्कण्डेय , मौद्गल्य , वामदेव , काश्यप , कात्यायन , जाबालि , गौतम र नारद । रामले सोधेका थिए ( किन हाम्रो राज्यमा सानै उमेरका मानिस मर्दछन् ? नारद ( सत्ययुगमा ब्राह्मणले मात्र तप गर्ने हुँदा कसैको पनि अकाल मरण हुँदैनथ्यो । अहिले त्रेता युग आयो ।क्षेत्री बलिया भए , वर्चस्व कायम गरे । अनि यिनीहरुले पनि तप गर्न थाले । लौ अब त भएन भनेर मनु समेत मिलेर चतुर्वर्णको प्रावधान गर्नु परेको हो । सत्ययुगमा कृषिकर्मलाई अनृत ( झूट , मिथ्या , नीच , क्षुद्र ) मानिन्थ्यो । जो त्याज्य थियो । जब द्वापर आउनेछ अनि वैश्यले पनि तप ( अध्ययन , ध्यान आदि ) गर्न थाल्नेछन् । कलिमा शूद्रले समेत तप गर्नेछन् । त्रेतामा शूद्रले तप गर्नु घोर अधर्म हो । पक्कै पनि कतै कुनै शूद्रले तप गरिरहेको हुनु पर्छ , जसको कारण त्यो वृद्धको छोराको मृत्यु भयो । राम तपस्वी शूद्र खोज्न हिँडे । टाढा पुगेपछि उनी के देख्दछन् भने एउटा मानिस सुरम्य सरोवरको किनारमा तपस्यारत छ । महातेजले युक्त तपस्वीलाई देखेर राम उनलाई भेट्न उत्सुक भए । रामले सोधे “हे तपस्वी तिमी धन्य छौ । कस्तो दिव्य मानव ! म राजा राम हुँ , तिमी को हौ ?” तपसीले भने “हे राम १ म असत्य भाषण गर्न जान्दिन । म एक शूद्र हुँ । मेरो नाम शम्बूक हो । मेरो ध्येय देवत्व प्राप्ति हो ” रामले तरबारको एक चोटमा शम्बूकको शिर र धड अलग गरिदिए । यसबाट विभेदजन्य तीन कुरा देखिए । पहिलो, रामायणलाई निस्शर्त सत्य र तथ्यमा आधारित मान्नेले कलिकालमा विभेद हुँदो रहेनछ भनेर आत्मासात गर्नु पर्ने देखियो । दोस्रो हो , मर्यादा पुरुषोत्तम राम असल राजा भए तापनि उनले समाजसुधार गरेर सामाजिक समानता कायम गर्नुपर्नेमा लहैलहैमा लागेर एउटा महान तपस्वीको हत्या गरे । तेस्रो हो , यो हदसम्म राम पनि अन्यायका पक्षधर हुन् । कि राम पनि दोषी छन् , होइन भने रामायण नै झूटो हो । कसैलाई सन्तान दरसन्तान अछूत बनाएर वहिष्कार गर्ने तर उसको पसिना भने खान हुने । उसैले कलात्मक मूर्ति बनाइदिनु पर्ने तर त्यही मूर्तिलाई अगाडि राखेर प्रार्थना गर्न उसैले नपाउने ।कमसेकम गलत भयो , भइरहेछ र अब हुनु हुँदैन , हामी सबै मिलेर यसको उन्मूलन गर्छौं नभनेर कार्यक्रमको विरोध मात्र गर्ने । आवाजविहीन छन् भन्दैमा सधैभरि पीडामै बस्नु पर्ने ? कुनै न कुनै रुपको विभेद कायम रहिरहेको कुरालाई स्वीकार गरेर छुवाछूत मुर्दावाद १ भनेर नारा लागेको भए विरोधको औचित्य रहन्थ्यो । व्यासद्वारा रचित ब्रह्मसूत्रमा भनिएको छ , “संस्कारपरामर्शात् च तदभावाभिलापाच्च” अर्थात (”उपनयन आदि संस्कारको अभावमा ब्रह्मविद्यामा अधिकार हुँदैन ।” ब्रह्मसूत्रअनुसार उपनयन गरेपछि सबै समान हकदार हुन पाउने रहेछन् त । गौतम ऋषिले थर गोत्र थाहा नभएका किशोरहरुसँग अन्तर्वार्ता लिएर चेला बनाएर शिक्षा दिने गर्दथे । एक दिनको कुरा हो , एउटा निडर र चतुर केटो गौतम ऋषिको आश्रममा आयो । ऋषिले बाबुको नाम , जात र गोत्र सोधे । केटाले भन्यो ,”मलाई बाको नाम , गोत्र र जात केही पनि थाहा छैन ।मेरी आमा जाबालालाई सोधेको थिएँ । उहाँले भन्नुभयो (‘गोत्र थाहा छैन ।तेरो नाम सत्यकाम हो । म यति मात्र भन्न सक्दछु , मेरो नाम सत्यकाम जाबालि हो क्ष्” घरघरमा काम गरेर ज्यान पाल्ने जाबालाको को कोसँग समागम भयो , उनलाई पनि छोराको बाबु को हो भन्ने पत्तो थिएन । ऋषिले केटाको उपनयनसंस्कार गराएर उसलाई शिक्षा दिए । यिनै जाबालि ठूला ऋषि बनेर राजा दशरथको दरबारमा काम गर्दथे । रामको वनगमनप्रति उनको ठूलो असहमति थियो । राजा दशरथ शोकाकूल भएर दिवंगत भइसकेका थिए । जाबालिले रामलाई भनेका थिए ,”राजा दशरथ जहाँ जानुपर्ने हो गइसके । यो प्राणीको स्वाभाविक स्थिति हो । तपाईं अनाहकमा किन वनको कष्ट उठाउन उद्द्यत हुनुहुन्छ ?” उनले धेरै सम्झाए तर राम अडिएका अडियै भए । ऋषिले फेरि भनेका थिए ,” मरेको मानिसले के पिण्ड खाला महाराज ! यदि यहाँ एउटालाई खुवाएको खाना मरेको मानिसले खान पाउँछ भने परदेश जान यात्रारत जीवित मानिसले किन सातु सामल पोको पारेर जानुपर्यो ? उसको नाममा घर बस्नेले श्राद्ध गरिदिए हुँदैन ?” यस्ता ऋषि पनि हुने गर्दथे । यसबाट के देखिन्छ भने पढ्न र शिक्षित व्यक्तिको सङ्गत पाउन उपनयनसंस्कार गर्नुपर्दथ्यो ।संस्कार गरिएको मानिसले अभक्ष भनेर तोकिएका कुराहरु खानु हुँदैन । झूटो बोल्नु हुँदैन । सम्पत्ति थुपार्नु हुँदैन । परोपकारी हुनुपर्दछ आदि नियम थिए । यस हिसाबले हेर्दा कथित शूद्रहरुलाई पहिले संस्कृत र परिष्कृत हुन वन्चित गर्ने, अनि असंस्कृत भनेर वहिष्कार गर्ने गरेको पाइयो । कुरा गएर अडियो श्रममा । रामले शम्बूकको वध गर्नुको कारण पनि सायद खेत , खानी र खोरियामा काम गर्नु पर्ने मानिस ध्यान र अध्ययनमा रत हुन थाल्यो भने श्रम कसले गर्ने भन्ने थियो । यी सबै कुरालाई विचार गरेर हेर्दा त अचेलका सबै मानिस शूद्र नै भएको देखियो । कसले मानेको छ र नियमका ती कठोर बन्धनहरु रु सबै बराबर ! तैपनि विभेद । अब प्रश्न उठ्छ ( के यत्ति आधारमा हिन्दू धर्म त्याग गर्नुपर्ने हदसम्म खराब छ ? त्यसो होइन । सबै धर्ममा जबर्जस्तीको मामिला हुन्छ । असमानता र विभेद जताततै छ । नेपालमा घोर विभेद छ भनेर उक्साउने पश्चिमाहरुको देशमा पनि विभेद छ । तथापि दुनियाँभरि विभेद होस् , नेपाल राष्ट्रमा विभेदको समूल अन्त्य हुनुपर्छ । कतिपय धर्ममा प्रश्नै गर्न नपाइने र गरेमा घोर सजायको भागी हुनुपर्ने अवस्था पनि छ । त्यहाँ तर्कको स्थान छैन , समीक्षाको स्थान छैन र सुधारको कतै गुन्जायस छैन । यो सबैले जाने बुझेकै कुरा हो ।हिन्दू धर्मले आफ्ना अनुयायीमाथि गरेको अन्यायको विवरण माथि वर्णन गरिसकियो । जहाँसम्म सहिष्णुताको कुरा छ , हिन्दू धर्मामा नै सर्वाधिक रहेको छ । बनारसमा विश्वनाथको दर्शन गर्न लाइनमा लागेका भक्तजनहरुको ठूलो समूहलाई एक दुई जना “त्यो ढुङ्गोको दर्शन गरेर के पाउँछौ रु छाड यो लाइन ! बरु जाऊ र ऋण खोजेर भए पनि टन्न घिउ खाएर मोज गर” भन्ने हरुलाई कसैले केही गर्दैनथ्यो । जाबालि ऋषिले त्यत्रो निन्दा गर्दा पनि रामले दुस्खमनाउ मात्र गरे , आक्रमण गरेनन् ।अन्य धर्ममा (नाम नलिऔं ) लाइनमा लागेका भक्तजनलाई त्यस्तो प्रश्न गर्न सक्ने गुन्जायस होला ? अहिले नै मैले यो लेख हिन्दू ग्रन्थलाई उधिनेर लेख्दै छु । मलाई यो हिम्मत आउनुको कारण के हो भने मेरो धर्मका अनुयायीहरुले यो लेखको आलोचना गरे पनि मेरो शरीर सुरक्षित रहनेछ भन्नेमा ढुक्क छु । मैलेभन्दा अत्यन्तै कडा निन्दा गर्नेहरु पनि कसैबाट खतरामा छैनन् र उनीहरुको प्रतिष्ठामा बट्टा लागेको पनि छैन । हिन्दू दर्शनको यो महत्वलाई गहिरोसँग मनन गर्नु आवश्यक छ ।तर यति लेख्दा लेख्दै पनि मन्दिर प्रवेश , पानी पँधेरा , कार्यालय , लोकव्यवहार र बसोवासको मामिलामा सोझै या घुमाउरो गरी विभेदमा पर्नेहरुको चित्त कसरी बुझाउने रु चुरो यहाँनेर छ ।हाम्रो सोचको आयाम पनि अचम्मको छ । जब विभेदको कुरा आउँछ , समग्रमा गाली खाने बाहुन हुन्छ । त्यस बखतमा बाहुन एक्लो हुन्छ । जब छुवाछूतको कुरा आउँछ सबै एकातिर हुन्छन् , ‘दलित’ एक्लो हुन्छ । हाम्रो विभेदको चरित्र शृंखलावाद्ध छ । क्रिश्चियनको नेपाल प्रवेशको इतिहास धेरै पुरानो छ , करिब चार सय वर्ष । मल्ल राजाहरुले क्रिश्चियन पादरीहरुलाई केही स्वतन्त्रता पनि दिएको पाइन्छ । पछि पृथ्वी नारायण शाहले विदेशी मात्र होइन स्वदेशी क्रिश्चियनहरुलाई समेत लाघारेका थिए ।तर उनकै छोरा बहादुर शाहको क्रिश्चियनहरुसँग सुमधुर सम्बन्ध थियो ।बहादुर शाहको कारण नेपालमा कृश्चियन भरिएनन् त । उनी बेतिया बस्दाका परिचित क्रिश्चियनहरुलाई उपहार समेत पठाउँथे ।कुरा व्यवहारको होइन नियतको हो । सम्बन्ध राख्नु , देश हितमा सहयोग दिनु र लिनुलाई समेत झोले भन्ने हो भने त धेरै कुरालाई त्याग गर्नु पर्ने हुन्छ ।मुख्य कुरा के हो भने चोर नजिकै कतै घुमिराखेको छ ।चोरको उद्देश्य बौद्ध , हिन्दू , किरात आदि नेपालमा प्रचलित राष्ट्रिय धर्ममा प्वाल पार्नु हो । यो थाहा पाएपछि आफ्नो घरमा बलियो ताला लगाउनु पर्छ ।नेपालको हकमा त्यो ताला भनेको विभेदको अन्त्य , रोजगारी , सामाजिक सुरक्षा , भोकको उपचार , समान सम्मान र राष्ट्रिय स्वाभिमानको जगेर्ना नै हो । ताला लगाउन नसक्ने अनि घरको बन्द कोठाभित्र बसेर चोरलाई सत्तोसराप गरेर केही प्राप्त हुनेवाला छैन । अब कुरा आउँछ , आफ्नो धर्म देशदेशावरसम्म फैलाउना खोज्नु सही हो कि गलत रु दूर देशमा आफ्नो धर्मको अनुयायी देख्न पाउँदा को खुसी हुदैन रु गोरो अनुहारको युरोपियनले ह्यारे र्याम ह्यारे र्याम भनेको सुन्दा हामी हिन्दू पनि उत्फुल्ल हुन्छौं । तर त्यो काममा लोभ , जबर्जस्ती र दवाबको अस्तित्व हुदैन । तर हामीकहाँ यिनै कारणबाट धर्मान्तरण हुने सम्भावना ज्यादा छ । आन्तरिक विभेद पनि अर्को प्रवल कारण हो । संसारमा अहिले जति पनि धर्म फिँजिएका छन् , ती सबै धर्मान्तरण या ग्रहण गरेर फिँजिएका हुन् ।तर हिन्दू धर्म त्यस्तो होइन । हिन्दू धर्ममा दुर्भाग्यवश विभेदले प्रवेश पायो र मात्र हो अन्यथा यसले अन्य धर्मले जस्तो अरुलाई घृणा गर्दैन । घृणा गर्नु हुँदैन भन्ने कुरा गीता दर्शनमा पनि राम्ररी अभिव्यक्त भएको छ । अन्त्यमा ( शास्त्र , विचारधारा र संस्कारहरु सार्वकालीन सत्य हुन सक्दैनन् । धार्मिक मान्यताहरु पनि समयक्रममा परिमार्जन गर्दै लैजान सकियो भने मात्र धर्म जोगाउन सकिन्छ । यो न रामको जमाना हो न त कृष्णको ।न त यो पृथ्वीनारायण शाहको पाला जस्तो फिरंगी वहिष्कार गर्ने जमाना हो । चाहे पनि नचाहे पनि संसार एकडल्लो जस्तो भइसक्यो । समयको घचघच्याहट बुझेर धार्मिक ग्रन्थहरुमा रहेका आजको युगमा नसुहाउने खालका व्यवस्थाहरुलाई युगानुकूल परिष्कार गर्नु आवश्यक छ । कतिपय महानुभावहरुले वेदमा विभेदको व्यवस्था थिएन भनेर गौरव गरेको पाइन्छ । हो , वेदमा विभेद थिएन , तर मनुस्मृतिमा छ । पौराणिक साहित्यमा छ । जयस्थिति मल्लको कथित सुधारमा विभेद थियो । पुरानो मुलुकी ऐनमा थियो र व्यवहारमा अझै अवशेष छ । पौराणिक साहित्यमा विभेदकारी र हेपाहा प्रावधानहरु छन् भन्ने कुरालाई स्वीकार र आत्मसात नगर्दासम्म शास्त्रमा सुधारको गुन्जायस रहदैन । सत्यलाई स्वीकार गर्नु नै महानता हो । अनुचित , अमानवीय र असामयिक सन्दर्भहरुलाई हटाएर शुद्धीकरण गर्नु सम्बन्धितको कर्तव्य हो । यो कर्तव्य पालन गर्न विलम्ब भइसक्यो । धार्मिक वाङ्मयलाई सुधार गर्नेतर्फ विशेष गरेर प्रज्ञा प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको ध्यान जानु आवश्यक छ । हामीले परिमार्जित र समानतामा आधारित मौलिक नेपाली संस्कृतिको विकास र जगेर्ना गर्नु परम आवश्यक छ ।