NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

लाख भाडा तिरेर चुहिने घरमा बस्छ प्रहरी

बझाङ । जिल्लाका झन्डै एक दर्जन स्थानका प्रहरी इकाइहरू भाडाका घरमा बसिरहेका छन् । जिल्लाका २५ प्रहरीका इकाइ १० ठाउँमा प्रहरीले भाडा तिर्दै आएको छ । हरेक महिना जिल्लाभरका इकाइहरूको भाडाबापत नै प्रहरीले ९४ हजार आठ सय तिर्दै आएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । भाडामा लिइएका घरहरू पनि व्यवस्थित नहुँदा समस्या भोग्नुपरेको खड्काले बताए । प्रहरी इकाइ बसेका कतिपय घर पुराना र वर्षात्का समयमा पानी चुहिने समस्या रहँदै आएको छ । आवास व्यवस्थापन नहुँदा जिल्लाका कतिपय प्रहरी एकाइ र सार्वजनिक सम्पत्तिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समस्या भोग्दै आएका छन् । आवासको समस्या कारण देवल विमानस्थल, सीमा प्रहरी चौकी धुली, थलारा, बुंगल, रायल लगायतका इलाका प्रहरी कार्यालय र सार्वजनिक स्थलमा खटिएका सुरक्षाकर्मीहरूलाई खान र बस्न समस्या हुँदै आएको छ । उदाहरणका लागि इलाका प्रहरी कार्यालय थलारामा एक ४ कोठे चुहिने भवन छ । त्यहाँ अहिले ११ जना प्रहरी सुरक्षार्थ खटिएका छन् । पानी पर्दा त्रिपाल टाँगेर प्रहरीहरूले वर्षात् छेक्दै आएका छन् । त्यस्तै, केदारस्युँ गाउँपालिकाको देउरामा रहेको इलाका प्रहरी कार्यालय रायलमा हाल ८ जना सुरक्षाकर्मी कार्यरत् छन् । त्यहाँ पनि प्रहरीले ६ वटा कोठा रहेको घर भाडामा लिएर चलाउँदै आएको छ । त्यहाँ पनि पानी पर्नासाथ चुहिएर आहाल जम्छ । जिल्लाको दुर्गाथली, खप्तडछान्ना, सुर्मालगायतका इलाका कार्यालयमा पनि चुहिने र बस्न असहज हुने समस्या भएको त्यहाँका प्रहरी इन्चार्जहरूले बताएका छन् । अहिले दुर्गाथली, थलारा, धुली, रायल, स्याँडी, मटेला, दौलीचौर, खप्तडछान्ना र सिमखेत प्रहरी इकाइहरू भाडामा बसिरहेका छन् । बुंगल र तल्कोटमा मात्रै प्रहरीको आफ्नै भवन छ । कतिपय स्थानमा प्रहरीको आफ्नै जमिन भए पनि भवन छैन ।

ताजा अपडेट

नेपालवाच विशेष