NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ताराको जहाज भाडामा लिँदा निगमलाई मासिक डेढ करोड घाटा

काठमाडौं । निजी कम्पनीलाई पोस्नेगरी पुराना जहाज भाडामा लिने सम्झौता गरे नेपाल वायुसेवा निगमले ठूलो आर्थिक व्ययभार खेप्नुपर्ने देखिएको छ । यती एयरलाइन्स मातहतको तारा एयरका पुराना जहाज भाडामा लिन भएको तयारी अनुसारको निर्णय भए निगमले मासिक डेढ करोड नोक्सान व्यहोर्ने देखिएको हो । नयाँ किन्न नसक्ने बहानामा यती एयरलाइन्स मातहतको तारा एयरबाट दुईवटा जहाज किन्ने गरी तयारी अघि बढाएको समाचार नेपालवाचले सोमबार प्रकाशित गरेको थियो । यो तयारी अनुसारको निर्णय भएको अवस्थामा निगमले तारा एयरको महंगो व्यायभार व्यहोर्नुपर्ने हुन्छ । निगमकी सूचना अधिकारी अर्चना खड्काका अनुसार निगमले सञ्चालन गर्दै आएको ट्वीनअटरको प्रतिघण्टा सञ्चालन खर्च एक हजार आठ सय डलर पर्न जान्छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय तालिका अनुसार अहिले प्रति अमेरिकी डलर एक सय १९ रुपैयाँका दरले यो दुई लाख १४ हजार दुई सय पर्छ । यता तारा एयरको ट्वीनअटरको प्रतिघण्टा सञ्चालन खर्च अनुमानित दुई हजार चार सय डलर रहेको उक्त एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यो नेपाली रुपैयाँमा दुई लाख ८५ हजार ६ सय हो । यसरी निगमको भन्दा ताराको प्रतिघण्टा सञ्चालन खर्च ७१ हजार चार सय बढी छ । यही हिसाबबाट ताराको विमान लिजमा लिँदा सुरुदेखि नै प्रति जहाज प्रतिघण्टा ७१ हजार चार सयको नोक्सानी निगमले व्यहोर्नुपर्ने देखिन्छ । यतिबेला निगमको ट्वीनअटरले सातामा १० ‘सेक्टर’ मा उडान गर्दै आएको छ । आन्तरिकतर्फको दैनिक उडान तालिका अनुसार अहिले निगमको एउटा जहाजले दिनमा ६ देखि ८ घण्टाको उडान भर्दै आएको छ । जहाज भाडामा ल्याएर चलाउने हो भने औसतमा सात घण्टाको दरले प्रति जहाज दैनिक करिब पाँच लाख एक लाख घाटा निगमले व्यहोर्नुपर्ने देखिन्छ । यो अंक महिनामा एक कराेड ४९ लाख ९४ हजार पुग्छ । यसरी महंगो रकम खर्चेर जहाज लिजमा लिने र भाडादर सस्तो हुने भएपछि फेरि पनि निजी कम्पनी फाइदामा जाने र अन्ततः निगम धरासायी हुने बाटोमा जाने जोखिम देख्छन् निगमका अधिकारीहरू । नमिल्ने रुटमा पनि ट्वीनअटर अहिले पहाडी रुटका लागि निगमलाई जहाज अत्यावश्यक छ । गत साउनदेखि ६ चिनियाँ जहाज थन्किएपछि ट्रंक रुटका लागि पनि थप जहाज आवश्यक त छ । तर, ट्वीनअटर यो रुटका लागि उपयुक्त जहाज होइन । ‘ट्रंक रुटका लागि उपयुक्त नभएको यो जहाज ताराबाट भाडामा लिएर चलाउन खोजिँदै छ,’ स्रोत भन्छ । आन्तरिक उडानमा नेपालमा ट्रंक र स्टल गरी दुई वटा रुट छन् । ट्रंक रुटले काठमाडौंलाई मुख्यतः तराई र पहाडका केही विमानस्थलसँग जोड्ने गर्छ । स्टल रुटले मुख्य विमानस्थलबाट दुर्गम क्षेत्रका विमानस्थललाई जोड्छ । ट्रंक रुटका विषयमा निगमले ठोस निर्णय गरिसकेको छैन । मझौला विमानको तुलनामा ट्वीनअटरको गति कम छ । गति कम हुँदा ट्रंक रुटमा यात्रा गर्दा समय बढी लाग्ने र इन्धन खपत पनि अधिक हुन्छ । कम गतिमा लामो यात्रा गर्नुपर्दा इन्धन धेरै बोक्नुपर्ने हुन्छ । जसकारण यात्रु सिट क्षमता पनि कम हुन्छ । पहाडी क्षेत्रमा सेवा दिने उद्देश्यले जहाज उडाएपछि ट्रंक रुटबाट व्यवसायिक लाभ लिएर आर्थिक पाटोलाई सन्तुलित राख्नुपर्ने हुन्छ । ट्रंक रुटमा पनि भाइकिङ जहाज नै उडाउने हो भने निगमको आर्थिक उन्नति सम्भव नहुने बताउँछ, निगम स्रोत । तर, ट्रंक रुटमा सञ्चालन गर्नेगरी एटिआर जस्ता मझौला प्रकृृतिका विमान नल्याउन व्यापक दबाब भइरहेको निगम स्रोतको दाबी छ । यसको अर्थ ट्रंक रुटमै ट्वीनअटर विमान सञ्चालन गर्ने तयारी भइरहेको देखिन्छ । केही महिनाअघि दुई थान ठूला एटिआर वा सिआरजे इन्जिनका जहाज र दुर्गम क्षेत्रका लागि तीन थान ट्वीनअटर खरिद गर्ने प्रक्रिया निगमले अघि बढाएको थियो । पुराना निर्णय अघि नबढाई निगमले तारा एयरको जहाज लिजमा लिने उदेश्यका लागि ट्वीनअटर लिने तयारी अघि बढाएको निगम स्रोतको दावी छ । जहाज खरिदमा निजी क्षेत्रको दबाब जव निगमले नयाँ जहाज खरिदको तयारी थाल्छ, तव निजी क्षेत्रको दबाब सुरु हुन्छ । यसमा बुद्ध एयरलाइन्स र यती एयरलाइन्स अगाडि छन् । विगतमा नयाँ जहाज खरिद गर्ने समयमा बुद्ध र यती समूहले निरन्तर दबाब दिने गरेको निगमका अधिकारीहरू बताउँछन् । ‘निगमले अन्तर्राष्ट्रियतर्फ मात्रै हात हालै भैगो नि !’ जस्ता गुनासा निजी क्षेत्रका हुने अधिकारीहरू बताउँछन् । निगम स्रोतका अनुसार निगमले आन्तरिकतर्फ उडानको सुधार गर्ने जमर्को गर्दा निजी क्षेत्रले अनेक किसिमले बाधा पु-याउने प्रयास गर्दै आएका छन् । पहाडी क्षेत्रमा उडान भर्न निजी एयरलाइन्सको चासो कम छ । कम यात्रु, न्यून नाफा, उच्च जोखिम लगायतका कारण पहाडी क्षेत्रको उडान सामान्यता निजी क्षेत्रको प्राथमिकतामा पर्दैन । यस्तो अवस्थामा ती क्षेत्रको उडान सरकारी स्वामित्वको निगमले भर्दै आएको छ । उच्च पहाडी रुट निजी क्षेत्रको प्राथमिकतामा नपरेकाले ती क्षेत्रमा उडान भर्न निगमले तत्कालका लागि ट्वीनअटर ल्याउने निगम सञ्चालक समिति अध्यक्ष सुशील घिमिरेले बताए । ट्रंक रुटको विषयमा भने केही निर्णय नभएको उनले बताए । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाजको सम्भाव्यता अध्ययनको लागि गठित उपसमितिले प्रतिवेदन तयार पारिसकेको बताए । दशैंअघिसम्म बोर्ड बैठक बसेर विषय टुंग्याउने भनिए पनि हालसम्म बैठक बस्न सकेको छैन । निगमले अब ल्याउने जहाजमा ट्वीनअटरको सम्भावना अधिक रहेको उपसमिति संयोजक अच्युतराज पहाडी बताउँछन् । ट्रंक रुटमा पनि उक्त जहाज राम्ररी उड्न सक्ने उनको आसय थियो । रविन्द्र अधिकारीकै पालामा पास भएको थियो जहाज किन्ने प्रस्ताव पहाडी रुटको लागि ६ वटा ट्वीनअटर र ट्रंक रुटको लागि दुई वटा एटिआर वा बम्बार्डियर जहाज ल्याउने प्रस्ताव तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकै पालामा पास भएको थियो । प्रस्ताव पास भइसकेको अवस्थामा फेरि पनि त्यही कामका लागि पटक–पटक समिति गठन हुने र बैठक गर्नु आवश्यक नभएको निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसकार बताउँछन् । त्यतिबेला नेपालमा भएका सबै विमानस्थलमा विमान सेवा सञ्चालन गर्ने योजना थियो । ६ वटा ट्वीनअटर मध्ये पोखरा, विराटनगर र नेपालगञ्जमा एक–एक वटा र बाँकी तीनवटा काठमाडौंमा राख्ने योजना थियो । अन्तर्राष्ट्रिय सेवातर्फ दुईवटा न्यारोबडी किनेर म्यानमार, भियतनाम, चीन र भारत आसपासका शहरमा उडान थप्ने योजना पनि थियो । यही योजनाको तयारीकै बेला कंसाकार निगमबाट बाहिरिए । आन्तरिक उडानको लागि जहाज ल्याउने सम्बन्धमा भने प्रस्ताव त्यतिबेलै मन्त्रालयबाट पास भइसकेको थियो । यसअघि प्रकाशित समाचारको तथ्यांकमा केही फरक परेकाले सच्याइएको छ – सम्पादक याे पनि पढ्नुस् यती एयरका पुराना जहाज भाडामा लिएर चलाउने निगमको तयारी जहाज चाहिएको छ, तर नगदमा नयाँ किन्ने अवस्था छैन : सुशील घिमिरे (अन्तर्वार्ता)