NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपालमा कोरोनाको दोश्रो लहरको जोखिम : नियन्त्रण झनै कठिन

जाडो मौसमको सुरुवातसँगै नेपालमा पनि कोरोना भाइरसको दोश्रो लहर सुरु हुनसक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । दोश्रो लहरले अहिलेको भन्दा गम्भीर स्थिति निम्त्याउने चेतावनी दिँदै सजग र सर्तक रहन उनीहरूले आग्रह गरेका छन् । चिकित्सकहरूको चेतावनी छ – दोश्रो लहर सुरु भए नेपालका अस्पतालहरू गम्भीर संक्रमितले भरिनेछन् । मृत्युदर बढ्नेछ । कोरोना संक्रमणको अन्तर्राष्ट्रिय प्रवृत्तिलाई हेर्ने हो भने दोश्रो लहरमा संक्रमित व्यक्तिले आफूमा रोगको लक्षण देखिनु अगावै अरुलाई सार्न सक्षम हुन्छन् । जसले गर्दा संक्रमण दर तीब्र हुने हुने जनस्वास्थ्यविद्हरू बताउँछन् । ‘पहिलो चरणमा संक्रमित व्यक्तिबाट मात्र कोरोना फैलिने सम्भावना बढी थियो, जसका कारण कन्ट्रयाक्ट ट्रेसिङ गर्न र संक्रमितलाई क्वारेन्टिनमा राख्न सहज थियो,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट चिकित्सक डा. अनुप बास्तोलाले नेपालवाचसँग भने, ‘दोश्रो लहरमा पुग्दासम्म संक्रमण व्यापक रुपमा फैलिसकेको हुन्छ, यसलाई पत्ता लगाउन र नियन्त्रण झनै कठिन हुन्छ ।’ नेपालमा दोश्रो लहर सुरु भएकै हो ? नेपालमा दोस्रो लहर सुरु भएको सम्बन्धमा अन्योल छ । पहिलो लहर नै कुन अवस्थामा छ, यो सकिएको छ कि छैन लगायतका विषयमा अझै ठोस निक्र्योल हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुनै पनि देशमा कोरोना संक्रमणको पहिलो लहर अन्त्य हुन उक्त देशमा संक्रमितको संंख्यामा उल्लेख्य कमी आउनुपर्छ, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना हुनुपर्छ, सार्ने दर कम हुनुपर्छ र संक्रमण नियन्त्रणमा आउनुपर्छ ।त्यस्तै, पहिलो लहर सकिएर दोश्रो लहर सुरु हुन एक पटक भाइरस उच्चतम् विन्दुमा पुगेर समाप्त हुनुपर्छ । त्यसपछि फेरि उत्पन्न भएर संक्रमितको संख्या उच्च विन्दुमा पुग्नुपर्छ । अस्पतालहरूमा विरामीको चाप अत्याधिक हुनुपर्छ । तर, नेपालमा भने संक्रमितको दरमा कमी आएको छैन । बरु दशैंका कारण परीक्षण दरमा कमी आएको छ । ‘नेपालमा कोरोनाको पहिलो लहर सकिएको भन्न मिल्दैन,’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले नेपालवाचसँत भने, ‘बरु दोश्रो लहर आउनुभन्दा पहिलो लहर नै बढेर जाने सम्भावना देखिन्छ ।’ पहिलो लहरमा संक्रमित बढेमा विरामीको चाप बढ्ने र त्यही अनुसार मृत्यु दर बढ्ने उनको दावी छ । स्पेनिस फ्लुकै ट्रेण्डमा कोरोना लहर यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान इकाइ संयोजक डा. शेर बहादर पुन पनि कोरोना संक्रमणको अहिलेको अवस्थालाई दोश्रो लहर भन्न नसकिने तर्क गर्छन् ।‘यसभन्दा अघि कोरोना संक्रमण अनुभव नगरेकाले पनि होला, तत्कालका लागि अनुमान लगाउने बाहेक अरु केही भन्न सकिन्न’, डा. पुनले नेपालवाचसँग भने । एचवान, एनवान भनिएको स्पानिस फ्लुले सन् १९१८ मा पनि यस्तै अवस्था सिर्जना गरेको र त्यसबेला झन्डै पाँच करोड जनतालाई प्रभावित पारेको उदाहरण दिँदै उनी त्यसैलाई आधार मानेर ‘दोश्रो लहर खतरनाक’ भनिएको हुनसक्ने अनुमान गर्छन् । ‘यसलाई पुष्टि गर्ने कुनै वैज्ञानिक आधार छैन त छैन,’ उनी भन्छन्, ‘तर पनि स्पानिस फ्लुको माहामारीले निम्त्याएको विनासलाई हेरेर यसले पनि यस्तै किसिमको विनास निम्त्याउने हो कि भन्ने अनुमान गरिएको हुनसक्छ ।’ सुरु भयो दोस्रो लहरको लकडाउन कोभिड – १९ को दोश्रो लहर सुरु भएपछि फ्रान्सले शुक्रवारबाट देशभर लकडाउन घोषणा ग¥यो । दोश्रो लहरको संक्रमण विनासकारी हुन सक्ने भन्दै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले एक महिनाका लागि राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरे । फ्रान्सले लकडाउन गर्नु अगावै चीन, इटाली, स्पेन लगायतका मु्लुकहरूले विभिन्न शहरमा लकडाउन गरिसकेका थिए । दोश्रो लहरमा आईपुग्दासम्म कोरोनाको कहर गम्भीर बनिसकेको छ । पहिलो लहरमा सामान्य संक्रमित हुनेहरू पनि दोश्रो लहरमा गम्भीर भएका देखिएका छन् । कैयौंको मृत्युसमेत भयो । हेलचक्र्याईंले निम्त्यायो दोस्रो लहर चीनको वुहान राज्यबाट सन् २०१९ को डिसेम्बरमा कोरोनाको संक्रमणको सुरुवात भयो । यो संक्रमण युरोप, अमेरिका हुँदै एसियासम्म आइपुग्यो । संक्रमणको सुरुवातमा एक/दुई जनामा देखिएको यो संक्रमण क्रमशः सय, हजार हुँदै लाखौंलाखमा पुग्यो । कोरोना संक्रमण अन्तरदेशीय बेगमा फैलिएपछि विश्वका कैयौं देशहरूले फेब्रअरी, मार्चबाटै लकडाउन सुरु गरे । सुरुवाती चरणमै जनस्वास्थ्यका मापदण्ड अपनाएको र लकडाउन गरेका कारण केही देश माहामारीबाट जोगिए । परिणामस्वरुप, न्युजिल्याण्ड, स्लोभेनिया जस्ता देशहरूले कोरोना संक्रमणलाई निर्मुल पार्न सक्षम पनि भए । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउँदा संक्रमितको संख्यामा उल्लेख्य कमी आएपछि ती देशहरूले लकडाउन खुला गर्दै लगे । फलस्वरुप अहिले ती मुलुकमा जनजीवन सामान्य भइसकेको छ ।