NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

खुलामञ्चमा खाना ख्वाउन हुँदैन भन्नु अमानवीयताको पराकाष्ठा : साझा पार्टी

काठमाडौं । साझा पार्टीले कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरुलाई नागरिक स्तरबाट खुलामञ्चमा खाना ख्वाउदै आएकोमा काठमाडौं महानगरले रोक्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ । ‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भत्र्सना गर्दछ’ साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो । तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो ।’ सरकारको कदमको विरोध जनाउन साझाले खुलामञ्चमा बुधबार बिहान र बेलुका खाना खुवाउने भएको छ । ‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्’ विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ।’ महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग गरिएको भन्दै खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न अपिल गरेको छ । सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई की ‘काम’को व्यवस्था गर्न की ‘माम’को व्यवस्था गर्न माग गरेको छ ।