NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वार्षिक ४० अर्ब खर्च गर्ने एनजिओ-आइएनजिओलाई कोरोना रोकथाममा खर्च गर्न सकस

काठमाडौं । नेपालमा क्रियाशिल एनजिओ र आइएनजिओले वार्षिक ४५ अर्ब खर्च गर्छन । सामाजिक संस्थालाई स्वीकृति, कार्यक्रम सञ्चालन र अनुगमन गर्ने समाज कल्याण परिषद्का अनुसार गत वर्षको एनजिओ/आइएनजिओको स्वीकृत बजेट ४५ अर्ब ९० करोड थियो । परिषद्का अनुसार अहिलेसम्म देशभित्र दुई सय ५४ आइएनजिओ र ५० हजार तीन सय ५८ एनजिओ क्रियाशिल छन् । तर, कोरोना महामारीको समयमा एनजिओ / आइएनजिओको भूमिका शून्यप्रायः रह्यो । कोरोना महामारीको यो विपदमा ती एनजिओ/आइएनजिओ कहाँ लुके ? फजुल खर्चमा अग्रणी, विपदमा गुमनाम कोरोना संक्रमण तिब्र हुँदै गएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत चैत दोस्रो साता नेपालमा क्रियाशील आइएनजिओ/एनजिओलाई कुल स्वीकृत बजेटको कम्तीमा २० प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिन परिषद्मार्फत् निर्देशन दिएको थियो । कोरोनाको महामारीकाबीच आइएनजिओ/एनजिओ आफैं खर्च गर्ने अवस्थामा थिएनन् । यस्तो अवस्थामा परिषद्मा स्वीकृत गराएको बजेटबाटै २० प्रतिशत कोरोना महामारी रोकथाम र नियन्त्रणमा रकमान्तर गर्न परिषद्ले निर्देशन दिएको थियो । जुनसुकै उद्देश्य बोकेको र जुनसुकै शीर्षकको कार्यक्रम र बजेट भए पनि त्यसको २० प्रतिशत कोरोना रोकथाम र नियन्त्रणमा अनिवार्य रुपमा लगाउन परिषद्ले निर्देशन दिएको छ । यसबाट कम्तीमा पनि ६ अर्ब कोरोना रोकथाम र नियन्त्रणमा जाने सरकारको अनुमान थियो । परिषद्का अनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा आईएनजिओको २० र एनजिओको १८ गरी कुल ३८ अर्बको बजेट स्वीकृत भएको छ । गत वर्ष यस्तो स्वीकृत बजेट ४५ अर्ब थियो । तर, सरकारले अपेक्षा गरेबमोजिम आइएनजिओ/एनजिओको रकम कोरोना रोकथाम र नियन्त्रणमा जान सकेको छैन । परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार अहिलेसम्म आइएनजिओ/एनजिओ करिब ६० करोडमात्र कोभिड रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । यसमध्ये आइएनजिओबाट करिब ३३ र एनजिओबाट २७ करोड परिचालन भएको छ । अपेक्षित रुपमा बजेट परिचालन नभएपछि गत भदौमा परिषद्ले कोरोना रोकथाम र नियन्त्रणमा सहयोग केन्द्रित गर्न एनजिओ/आइएनजिओलाई पुनः निर्देशन दिएको थियो । तर, पनि अपेक्षित सहयोग परिचालन नभएको परिषद्को भनाइ छ । खुद्रे र परिणामहिन कार्यक्रममा लालयित हुने, फजुल खर्च गर्ने, स्वार्थप्रेरित सामाजिक एजेन्डा लाद्न भूमिका खेलेको भन्दै एनजिओ/आइएनजिओको भूमिकालाई लिएर आलोचना हुने गरेको छ । कोभिडको यो महामारीमा एनजिओ/आइएनजिओको कमजोर उपस्थितिले उनीहरूको सहयोग खास बिपत्तिमा कामयावी नहुने पुष्टि गरेको छ । जथाभावी सहयोग परिचालनकानूनतः एनजिओ/आइएनजिओले परिषद्मार्फत् कार्यक्रम स्वीकृति र सहायता परिचालन गर्नुपर्छ । तर, एनजिओ/आइएनजिओहरूले आफूखुसी सहायता परिचालन गरिरहेको परिषद् बताउँछ । कतिपय एनजिओ/आइएनजिओले सीधै स्वास्थ्य मन्त्रालयसँग मिलेर त कतिपयले आफूखुसी सहयोग परिचालन गरिहेका छन्,’ परिषद्का सूचना अधिकारी भट्टराई भन्छन्, ‘फरक निकाय र आफूखुसी रकम खर्चिएकाले पनि त्यसको रेकर्ड परिषद्सँग देखिन्न ।’ डोनरले नै कटौती गरिरहेको छ, सरकारले भनेजति नै सहायता आउन सम्भव छैन : अच्युत लुइँटेल, अध्यक्ष, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ नेपाल अन्तर्राष्ट्रिय गैरसरकारी महासंघका अध्यक्ष अच्युत लुइँटेल सरकारको अपेक्षा बमोजिम सहायता परिचालन गर्न सम्भव नहुने बताउँछन् । ‘सरकारको अपेक्षा नै पूरा गर्न त सकिन्न,’ उनी भन्छन्, ‘दुई अर्बको हाराहारीमा सहायता परिचालन हुने मेरो अनुमान छ ।’ आईएनजिओले निश्चित आयोजना तथा कार्यक्रमका लागि डोनरबाट बजेट लिने हुँदा ती आयोजना सम्पन्न नहुन्जेल विनियोजित बजेट अन्यत्र खर्च गर्न नसकिने लुइँटेल बताउँछन् । ‘एकातिर कोरोनाबाट डोनर आफैं प्रभावित छन् अर्कातिर अहिले संसारभरी नै कोरोना संक्रमण फैलिएको छ, यस्तो अवस्थामा हाम्रोमात्र भन्दा पनि डोनरको नीति अनुसार उनीहरूले रकम परिचालन गर्छन् ।’ उनी भन्छन्, ‘सबै यहाँको सरकार वा हामीले भनेबमोजिम पनि हुँदैन ।’