NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सडक कालोपत्रे नभएको भन्दै ललितपुरको सुनाकोठीमा तीन दिनदेखि प्रदर्शन

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर विगत तीन दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ । त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दापनि काम नभएको उनको आरोप छ । ‘‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौँ । तर हामीले चाहेको लोकतन्त्र या थिएन्’ उनले भने, ‘ देश कहाँ छ ? हामीले चाहेको एउटा लोकतन्त्र हो तर, अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन ।’’ स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाई छ । अबिर लगाएर प्रतिनिधि बनाएकाहरुलाई जनताका समस्या नबुझे धूलो लगाउन पनि पछि नपर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । अहिले ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ । सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक पटक अनुरोध गर्दै पटक पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन् । पछिल्लो तीनचार वर्षयतादेखि सातदोबाटो चापागाउँ खण्डमा विरोध र प्रदर्शन हुने गरेको छ । तर, पूरै सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।