NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सजिलो निर्णय र घाँडो व्यवस्थापनले थलिएका चिनियाँ जहाज

वि. सं. २०७० मा नेपाल वायुसेवा निगमले अनुदानमा पाएको पहिलो चिनियाँ जहाज एमए ६० ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत थियो । बाजागाजा सहित तत्कालीन चिनीयाँ राजदूत याङ हाउलान विमानस्थलमै पुगेर स्वागत गरेका थिए । ०७१ सम्ममा ६ चिनियाँ जहाज नेपाल आइसकेका थिए । सन् २०२४ सम्ममा आन्तरिक बजारबाट चार अर्बको हाराहारीमा व्यापार गर्ने उद्देश्य यी जहाजबाट निगमले लिएको थियो । तर, परिणाम भने ठीक विपरित आयो । चिनियाँ जहाज ल्याएपछि आम्दानी दुगुना खर्च चौगुनाजस्तो भयो । यी जहाजले वार्षिक २३ करोड १५ लाखको हाराहारीमा आम्दानी गर्दा खर्च ८० करोड ७७ लाख पुग्यो ।६ वर्षको अवधिमा ती जहाजले ६ अर्ब ६४ करोड नोक्सान व्यहोरिसकेका छन् । घाटा चुलिएपछि अन्ततः गत १६ असारमा निगमको छैठौं सञ्चालक समिति बैठकले ती जहाज नचलाउने निर्णय ग-यो । १५ साउनबाट ती जहाज विमानस्थलमै थन्किएका छन् । अब सरकारको निर्णय पर्ख र हेरको अवस्थामा भएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । चिनियाँ जहाजको अबको व्यवस्थापन के ? दुई वटा जहाज अनुदान र बाँकी चार जहाज नेपालले खरिद गरेको थियो । खरिद गरिएका चार जहाजको मूल्य ४ अर्ब ३३ करोड रुपैयाँ थियो । जहाज आएको ६ वर्षपछि निगमलाई ती जहाज घाँडो भएको छ । त्यसको मूल कारण हो जहाज चलायमान अवस्थामा नहुनु । निगम बेच्ने नै निर्णयमा पुगेको भएपनि जहाज चलायमान अवस्थामा भने हुनैपर्ने बताउँछन् वाइ १२ ई जहाजका प्रशिक्षक पाइलट (आइपी) फिजोनाथ नेपाली । ‘चलाएर बेच्ने हो भने अहिले पनि प्रति जहाज ३५ करोड मूल्य आउन सक्छ ।’ उनले भने । नेपाल वायुसेवा निगमले चिनियाँ जहाजलाई उचित व्यवस्थापन गर्न नसक्दा विगतकै समस्या दोहोरिने देखिएको छ । यतिबेला निगमका उडानयोग्य अवस्थामा रहेका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड छन् । यीमध्ये चारवटा ‘वाइ १२’ जहाजको उडानयोग्य मिति अब तीन महिनामात्रै बाँकी छ । यी जहाजलाई उडानयोग्य बनाउन सकिने भए पनि त्यसको कुनै तयारी छैन । यो अवधिभित्र जहाज उडाउने या बिक्री गर्ने टुंगो नलागे जहाजको क्षमता घट्ने बताउँछन् नेपाली ।जहाज नचलाई लामो समयसम्म राख्दा उडान र यात्रुवाहक क्षमता घट्दै जान्छ । अन्ततः कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आउन सक्ने जोखिम पाइलटहरू देख्छन् । जहाज नचलाउनेबारे गरिएको निर्णयको प्रतिवेदनमा पाइलटको अभाव हुनु, प्रशिक्षणको लागि महंगो रकम, स्पेयर पार्टस समयमा नपाईंदा जहाज उडाउनु भन्दा नउडाउनुमा नै फाइदा भएको उल्लेख थियो । उडानयोग्य नहुने भए यी जहाज किन ल्याइयो ? लगायतका प्रश्न उठिरहेको छ । जहाजका प्रशिक्षण पाइलट नेपाली आफूले फेरि पनि ती जहाज उडाउन सक्ने बताउँदै आएका छन् । बताउनेमात्र होइन, नेपाली डेढ वर्षअघि नियममा वाइ १२ ई जहाजका लागि प्रशिक्षक पाइलट (आइपी) भएर आएपछि ती जहाजको तालिम नेपालमै गराएका थिए । उक्त तालिम वर्षौंदेखि हुन सकेको थिएन । केही महिनायता मात्रै ४ जना पाइलटले वाइ १२ इ जहाजको तालिम सम्पन्न गरेर इजाजतपत्र पनि पाइसकेका छन् । यसले चीनमा गएर तालिम लिँदा पर्ने व्यायभार कम गरिदियो । चीनमा उक्त जहाजको प्रति पाइलट तालिम ८० हजार डलर हुन्थ्यो भने नेपालमै पाँच हजार डरलमै तालिम सम्पन्न भएको थियो । ‘को–पाइलटमात्र उत्पादन भएर भएन, जहाज उडाउने क्याप्टेन खै ?’ नियमका सञ्चालक समिति अध्यक्ष सुशिल घिमिरे भन्छन् । वाइ १२ ई मा कार्यरत दुवै क्याप्टेनको उमेर ६५ वर्ष पुग्न लागेकाले उनीहरू चाँडै नै जहाज उडाउन अयोग्य हुने उनको तर्क छ । तर, क्याप्टेन नेपाली भने हाल तीनजना पाइलट क्याप्टेन हुने तयार अवस्थामा रहेका दावी गर्छन् । अर्का क्याप्टेन कुल बहादुर लिम्बु ‘उडान घण्टा’ पूरा भइसकेका को–पाइलटलाई पनि क्याप्प्टेन नबनाइएको बताउँछन् । नेपालमै पाइलटको तालिम गराएर निगमले जहाज नउडाउने घोषणा गर्नु दुःखद भएको बताउँछन्, फिजोनाथ नेपाली । जहाजले इन्धन खपत बढी गर्छ भन्ने कुरामा पनि सत्यता नभएको उनी बताउँछन् । ‘ट्वीनअटरभन्दा कम इन्धन खपत हुन्छ यसमा, यसले ट्वीनअटर भन्दा २० लिटर कम इन्धन खपत कम लाग्छ’, उनले भने । बाँकी स्पेयर पार्टसको विषयमा पनि अध्ययन गरेर हल गर्न सकिने उनकोे भनाइ छ । निगमले जहाज चलाउन नसक्ने जानकारी सरकारलाई गराइसकेको छ । जहाज विमानस्थलमा थन्किएका छन् । तर, अहिलेसम्म सरकारले यस विषयमा ठोस निर्णय गरेको छैन । ठोस निर्णय नहुँदा जहाजको अबको व्यवस्थापनका सम्बन्धमा अन्योल छ । किन असफल चिनियाँ जहाज ? नेपालमा चिनियाँ जहाज भित्रिएदेखि नै गतिलोसँग उडान हुन पाएको छैन । लामो समयको छानबिन पछि निस्किएको प्रतिवेदनमा उक्त जहाजको आम्दानी भन्दा सञ्चालन खर्च धेरै भएको, जहाजका पाटपुर्जा समयमा नपाइएको, जहाज उडाउने पर्याप्त पाइलट नभएको, इन्धन अत्याधिक खपत गर्ने र प्रशिक्षक पाउन गाह्रो भएको कारणसँगै । चिनियाँ जहाज उडाउँदा निगमलाई दुई अर्ब भन्दा बढी घाटा भएको निष्कर्ष निकालिएको छ । जहाज उडाउने पर्याप्त पाइलट नभएको भन्ने विषयमा निगमका एक स्रोत भन्छ, ‘भएको जनशक्तिलाई हतोत्साही गर्ने काम भयो, पूर्ण रुपमा परिचालन नै हुन सकेन ।’ भएका जनशक्तिलाई जोगाउन सकेको भए वाइ १२ को लािग अहिले ६ जना क्याप्टेन हुन्थे । तर उत्पादन भइसकेका पाइलट कसैलाई एयरबसतिर पठाइयो भने कोही निजी एयरलाइन्सतर्फ गए । चारवटा ‘वाइ १२ इ’ जहाजमा तीनवटा त उड्दै उडेनन् । उडिरहेको एउटा जहाज पनि पूर्ण क्षमतामा उड्न सकेन । दुईवटा एमए ६० मा एउटा जहाज त ल्याएदेखि नै ग्राउन्डेड भयो । त्यसको पाटपुर्जा समयमा ल्याउने प्रयास नै नगरिएको स्रोतको दाबी छ । नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार एउटा पाइलटले दिनमा पाँच वटा सेक्टरमा उडान भर्न सक्छ । वाइ १२ जहाजलाई पूर्ण क्षमतामा उडाइएको भए दिनमा २० उडान गर्न सक्थ्यो । तर, वाइ १२ जहाजले दिनमा बढीमा तीन सेक्टरमा उडान भथ्र्यो । निगम स्रोतका अनुसार, पहाडी रुटमा उडानुपर्ने जहाज ट्रंक रुटमा उडाएपछि निजी कम्पनीका सिआरजे र एटिआरसँग प्रतिस्पर्धा गर्न नसक्दा सञ्चालन खर्च धेरै हुनु स्वभाविक थियो । निगमका इन्जिनियरिङ विभागका निर्देशक कर्ण बहादुर थापा चिनीयाँ जहाजको स्पेयर पार्टस सजिलै नपाइने बताउँछन । ‘बजारमा हुन्डाइको पाटपुर्जा सजिलै पाइन्छ भने टोयटाको त्यत्ति सजिलै पाइन्न । यो पनि यस्तै हो’, उनले भने । चिनियाँ जहाज ल्याउँदा तयारीमै कमजोरी चिनियाँ जहाज ल्याउने निर्णय गर्दा तत्कालिन पर्यटनमन्त्री भिम आचार्य र पर्यटन सचिव सुशील घिमिलेलाई ती जहाज नेपालका लागि उपयुक्त नहुने जानकारी गराउँदै पत्राचार गरेको बताउँछन्, क्याप्टेन दधिराम निरौला । ‘विदेशमा चिनियाँ जहाज चलाउदा निम्तिएका समस्याबारे अध्ययन गरेर यो जहाज नेपालमा ल्याए ठूलो घाटा व्यहोनुपर्छ भनेर त्यतिबेलै भनेकोे थिएँ’, निरौला भन्छन्, ‘त्यतिबेला मलाई कसैले सुनेन ।’ यसबारे घिमिरे भन्छन्, ‘पाइलटको नाताले उहाँहरुले प्राविधिक अध्ययनको आधारमा मात्र भन्नुभएको थियो, त्यतिबेला व्यवहारिक नहुँदा त्यत्तिमै विश्वास गर्न सकिने आधार थिएन ।’चिनियाँ जहाज ल्याउनुअघि त्यसको लागि पूर्व तयारी त थिएन नै, जहाज आइसकेपछि तालिम दिएर तयार बनाएका पाइलटलाई पनि एयरबस ३२० मा पठाइयो । जहाज खरिद गर्नुअघि पर्याप्त तयारी गर्नुपथ्र्यो । जहाज उडाउन आवश्यक पर्ने दक्ष जनशक्ति, प्रशिक्षक पाइलट लगायतको बन्दोबस्त जहाज ल्याउनुपूर्व नै गर्नुपर्छ । तर, चिनीयाँ जहाज खरिदका क्रममा यस्तो पूर्वतयारी केही पनि नगरिएको क्याप्टेन कुलबहादुर लिम्बु बताउँछन् । ‘चिनीयाँ जहाजको लागि पाइलट उत्पादन नगरी दक्ष जनशक्ति खोजेर कसरी पाइन्छ ?’ वाइ १२ का क्याप्टेनसमेत रहेका लिम्बु प्रश्न गर्छन् । यी सबै जनशक्ति नहुँदा सुरुमै समस्या निम्तिनु सामान्य भएको उनको भनाइ छ । ‘जहाज भनेको चलायमान भइरहनुपर्छ । तबमात्र त्यसका कमीकमजोरी थाहा पाउन सकिन्छ, तर यहाँ त जहाजै उडाइएको छैन’, उनी भन्छन् । जहाज राम्ररी नउड्दै स्पेयर पार्टस बिग्रिएपछि नयाँ सामाग्री खरिदको लागि चीनमा पत्राचार गर्न नेपालकै अधिकारीबाट ढिलाई भएको बताउँछन्, निगमकै अर्का अधिकारी । निगमले भएका सम्पत्तिको सदुपयोग कहिले गर्ने ? निगमले आफूसँग भएका अनावश्यक सम्पत्तिलाई प्रचलित मूल्यमा बेच्नुपर्ने निगमका अधिकारीहरू बताउँछन् । ‘बोइङ ७५७ समयमा बेच्न नसक्दा नोक्सान भयो, अब भएको सामानलाई खेर जान दिनु भएन’, ती अधिकारीले भने, ‘चीनमा अहिले पनि वाइ १२ को राम्रो बजार छ, चिनीयाँसँग बसेर छलफल गरेर बेच्न सकिन्छ, चलाएन भने त अहिलेको मूल्य पनि दिनप्रतिदिन घट्दै जान्छ ।’ सजिलो निर्णय घाँडो व्यवस्थापन चिनियाँ जहाज ल्याउने समयमा निगमसँग ३४ वर्ष पुराना दुईवटा ट्वीनअटर जहाज थिए । उडानका लागि नयाँ जहाजको आवश्यकता त थियो नै । चीन सरकारले दुई वटा जहाज अनुदानमा दिने भनेपछि अन्य चार जहाज पनि सँगै ल्याउँदा उपयुक्त हुने निश्कर्षमा निगम पुग्यो । तर, हौसिएर गरिएको निर्णयले राम्रो परिणाम दिएन । जहाज ल्याउने समयमा चीनबाट आएका आइपीसँग भाषाको समस्याका कारण तालिम प्रभावकारी हुन सकेन । जहाजसँगै आएका चिनियाँ आइपीको पनि डेढ वर्षपछि उमेरहदका कारण अवकास भयो । आइपीले अंग्रेजी नै नबोल्ने भएपछि सुरुमै झन्झटिलो वातावरण थियो । जहाज उडाउँदै गएपछि प्राविधिक गडबडी हुन थाले । स्पेयर पार्टस्मा लेखिएका अक्षर सबै चिनीयाँ भाषामै भएकाले त्यो पनि अंग्रेजी अक्षरमा पठाउ भनेर पत्राचार गर्नै समय लाग्यो । बिमा रकम, सिमुलेटर तालिममा चीनको मोनोपोली लगायतका समस्या निम्तिन थालेपछि चिनीयाँ जहाजको व्यवस्थापन खस्किँदै गएको निगमका अधिकारी बताउँछन् । जि टु जि मोडलबाट खरिद भएपनि व्यवस्थापन गर्न गाह्रो हुँदासमेत सरकारले असहयोग गरेको निगम अधिकारीको तर्क छ । ‘सरकारको कमजोर तयारीको फल यतिसम्म हुुने रहेछ भन्ने उदाहरण हो यो’, उनले भने । अबको विकल्प सरकारले गर्ने निर्णयमै भर पर्ने उनको जोड छ ।