NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

राजदूतमा सिफारिस खतिवडा विरुद्ध उजुरी : क्यापिटल मर्चेन्ट काण्डमा अपराध गरे, रोकिपाउँ

काठमाडौ । क्यापिटल मर्चेन्ट बैंकको करिब दुई अर्बको ठगीमा साथ दिएको भन्दै अमेरिकाको राजदूतमा सिफारिस पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध उजुरी दर्ता भएको छ । पीडितहरुले संसदको सार्वजनिक सुनुवाई समितिमा खतिवडा विरुद्ध उजुरी दर्ता गराएका हुन् । राष्ट्र बैंकको गभर्नर रहँदा खतिवडाका कारण क्यापिटल मर्चेन्ट बैंकबाट ठगिएका दर्जनौं निर्दोष व्यक्तिहरू फस्नुपरेको भन्दै उजुरी दर्ता भएको हो । उजुरीमा उनीहरुले खतिवडालाई राजदूत नियुक्त हुनबाट रोक्न माग गरेको छन् । पीडितमध्येका १३ जनाले सुनुवाई समितिमा संयुक्त उजुरी दिएका हुन् । गत १५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री खतिवडालाई संयुक्त राज्य अमेरिकाको राजदूतका लागि सिफारिस गरेको थियो । सरकारको निर्णयसँगै उनको नियुक्तिको विषय संसदीय सुनुवाईका लागि समितिमा विचाराधीन छ ।नियुक्तिमाथि सुनुवाईका लागि विचाराधीन रहेको बेला पीडितहरूले गत १ कात्तिकमा समितिमा उजुरी दिएका हुन् । ‘सम्मानित सुनुवाई समितिले डा. खतिवडाको राजदूतजस्तो गरिमामय पदको अनुमोदन गर्ने हो भने देश र जनताका लागि दुर्भाग्य हुन्छ,’ पीडितहरूले समितिमा दिएको उजुरीमा उल्लेख छ । खतिवडामाथि देशकै सबैभन्दा ठूलो बैंकिङ ठगी काण्डमा संलग्न भएको, अवसरवादी, कार्यसम्पादन कमजोर, अधिकारको दुरुपयोग, क्षेत्रीय साम्प्रदायिकता र नातावादमा संलग्न, नीतिगत भ्रष्टाचारमा संलग्न भएको लगायतका आरोप लगाइएको छ । ‘डा. खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड काण्ड घटेको थियो । जसले सयौं निर्दोषलाई प्रत्यक्ष र हजारौंलाई अप्रत्यक्ष ढंगले पीडित बनाएको अवस्था छ । अहिले पनि तीन दर्जन जति निर्दोष सोझा–निर्धाले संगठित अपराधबाट सिर्जित बैंकिङ कसुरबापत देशको विभिन्न कारागारमा वर्षौंदेखि बन्दी जीवन विताइरहनुपरेको छ,’ उजुरीमा भनिएको छ । भौतिक रुपमा स्थापना नै नभएका कैयौं परियोजनाहरूमा नेपाल राष्ट्र बैंकका अधिकारीहरूले भूमाफियाबाट घूस लिएर अनुगमन गरेका तथा अनुगमन रिर्पोट फेरेर नक्कली ऋणीहरूविरुद्ध कर्जा अपचलनको मुद्दा दायर गरिएको उजुरीकर्ताहरूको आरोप छ । भूमाफियाबाट घूस लिएर अनुगमन गरेको र अनुगमन रिर्पोट फेरेर नक्कली ऋणीहरूविरुद्ध कर्जा अपचलनको मुद्दा दायर गर्नमा खतिवडाको भूमिका रहेको उजुरीकर्ताको दावी छ । पीडितहरू आकृत खत्री, प्रशान्त कार्की, मोहन तामाङ, सुमित्रा कार्की, गंगा कार्की, विदुर दाहाल, भुषण केसी, नारायणनाथ भट्टराई, मधुकर भट्टराई, सुस्मिता कार्की, रतिना कार्की, विकास कार्की र दुर्गा कार्कीले समितिमा संयुक्त उजुरी दिएका हुन् । उजुरीकर्ताको आरोप, समितिले उजुरी नै लिन मानेन उजुरीकर्ताहरूले समितिले उजुरी लिन मानेको दावी गरेका छन् । ‘हामीले यही कात्तिक १ गते समितिमा उजुरी दिएका थियौं,’ उजुरीकर्तामध्येका विकास कार्कीले नेपालवाचसँग भने, ‘तर, समितिले उजुरीलाई गम्भीरताका साथ नलिएको हामीले महसुश गरेका छौँ ।’ उनले उजुरी पन्छाउन आफूहरुसँग समितिले सम्पर्क नै नगरी संसदीय समिति खतिवडाको पक्षमा उभिएको आरोप लगाए । उहाँहरुसँग सम्पर्क हुन सकेन, अब उजुरी लिइन्छ तर छलफल गर्ने समय सकियो : लक्ष्मणलाल कर्ण, सभापति, संसदीय सुनुवाइ समिति उहाँहरूलाई फोन गर्न खोज्दा सम्पर्क हुन सकेन । यसपछि हामीले सार्वजनिक सूचना जारी ग¥र्यौं । १७ गतेसम्मको समय दियौं । तर, कोही आएन । अब हामीले गर्ने के ? उहाँहरूको उजुरीमा ठेगाना नै थिएन पछि बोलाउँदा आउनु पनि भएन ।उहाँहरूको तोकिएको अवधिभित्र आएको उजुरी दर्ता हुन्छ तर अब छलफलका लागि बोलाउने समय सकियो । अब २७ गते सुनुवाई समितिको बैठक डाकिएको छ । अब त्यहीं छलफल हुन्छ । र, निर्णय हुन्छ । के हो क्यापिटल मर्चेन्ट ठगी काण्ड ? क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडमार्फत् ०६५ सालताका भएको ठगी बैंकिङ इतिहासमा चर्चित काण्डका रुपमा लिइन्छ । लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भूबहादुर केसीको योजनामा यो काण्ड घटेको थियो । सर्वसाधारणलाई झुक्याएर जग्गा धितोमा राखी नक्कली ऋणीका नाममा ऋण प्रवाह गरी लिमिटेडमा दुई अर्ब भन्दा बढी ठगी भएको थियो । काठमाडौं उपत्यका र काभ्रेका विभिन्न स्थानको गरी एक हजार तीन सय रोपनी जग्गा धितोमा राखी ऋण प्रवाह गरिएको थियो । सोझासाझा सर्वसाधारण व्यक्तिका नाममा जग्गा दर्ता गराएर त्यही जग्गा धितोमा राखी ऋण प्रवाह गरी श्रृंखलाबद्ध ठगी गरिएको थियो । ०६८ सालमा लिमिटेडलाई राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको थियो, सोही वर्ष नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले त्यसमा संलग्न दुई सय जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रत्यक्ष ऋणी भएर संस्थालाई हानी पु¥याएको ठहरसहित ४५ जनालाई तत्कालीन पुनरावेदन अदालत पाटनले जेल सजायको फैसला भएको थियो । तीमध्ये १९ जना जेल चलान भएका छन्, तीन जना जेल सजाय काटेर छुटिसकेका छन् भने दुई जनाको जेलमै मृत्यु भयो । अन्य अझै फरार छन् । कसरी जोडिए खतिवडा ? खतिवडा ९ चैत ०६६ देखि ५ चैत ०७१ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर थिए । गभर्नर छँदा लिमिटेडबाट ठगिएकाहरूलाई न्याय दिलाउनुको सट्टा पीडकको पक्षमा लागेर ठगिएकाहरूलाई नै दोषी बनाउन भूमिका खेलेको उजुरीकर्ताहरूको आरोप छ ।