NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कर्मचारीले दिए आविष्कार केन्द्रलाई एक लाख २७ हजार

दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु । गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा थप विकास होस् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा खोज्दै जाँदा यहाँका कर्मचारी राष्ट्रिय आविष्कार केन्द्र पुगे । आफ्ना समस्या लिएर केन्द्रमा पुगेका कर्मचारीले केन्द्रका संयोजक महावीर पुनलाई भेटेर आफ्ना समस्याको विषयमा त जानकारी गराए तर राष्ट्रिय आविष्कार केन्द्रले भोगिरहेको समस्यामा पनि उनीहरुको आँखा पर्यो । लामो समयदेखि नेपालमै आविष्कारको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको यो केन्द्रले आर्थिक समस्यासँग जुधिरहेको छ । निश्चित स्रोत नभएकाले दाताको सहयोग र स्वस्फुर्त आविष्कारमा सहभागी विज्ञहरुको भरमा रहेको आविष्कार केन्द्रलाई कर्मचारीको तर्फबाट सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । टेलिमेडिसिन सेवाको विषयमा बुझ्न केन्द्र पुगेर फर्किएको टोलीले गाउँपालिकाका कर्मचारीको बीचमा सल्लाह गरेर स्वस्फुर्त सहयोग सङ्कलन अभियाननै चल्यो । “कसैलाई करकाप गरेनौँ, सबैले सहयोग गर्नुभयो”, शर्मा भन्छन् “थोरै भए पनि स्वदेशमै हुने आविष्कारमा सहभागी हुनु हाम्रो पनि दायीत्व हो । गाउँपालिकामा कार्यरत कर्मचारीले सङ्कलन गरेको एक लाख २७ हजार १११ रुपैँया आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई उक्त रकम बुधबार हस्तान्त्रण गरे । “हामी अपेक्षा बोकेर केन्द्रमा पुग्दा त्यहाँको समस्याले हामीलाई पोल्यो”, शर्माले भने “सबैले सहयोग गरे आविष्कार केन्द्रले केही गर्न सक्छ ।” आविष्कार केन्द्रले नयाँनयाँ र मौलिक आविष्कार गरेर देश विकासमा टेवा पुगोओस् भन्ने सुभेच्छा राखेर सबै कर्मचारीको तर्फबाट सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँ कार्यपालिकाको कार्यालय, विषयगत कार्यालय र वडा कार्यालयमा समेत कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारी गरी ५८ जनाले स्वस्फुर्त सहयोग गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष