NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कोरोना कहरमा घुम्न जाने आकर्षक ‘होलिडे प्याकेज’ : आन्तरिक पर्यटकको रुची बढ्दै

काठमाडौं । कोरोनाको कहरबीच पनि आन्तरिक पर्यटन बजार बौरिन थालेको छ । दसैंयता स्वदेशमै घुमघाममा निस्किने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको पर्यटन व्यवसायीहरू बताउँछन् । आन्तरिक पर्यटक प्रवद्र्धनमा खासगरी निजी क्षेत्रले भूमिका खेलेका छन् । निजी क्षेत्रले ल्याएका ‘होलिडे प्याकेज’मा पर्यटकको रुची बढेको देखिन्छ । दशैंयता सगरमाथा आधार शिविर, अन्नपूर्ण, पोखरा, सौराहातिर पर्यटकको आगमन बढ्दै गएको व्यवसायीहरू बताउँछन् । अहिले खासगरी एयरलाइन्सहरूले निकै सस्तो दरमा ‘होलिडे प्याकेज’ ल्याएका छन् ।पर्यटकका लािग आकर्षक प्याकेज उपलब्ध गराउनेमा यती एयरलाइन्स अगाडि छ । आन्तरिक पर्यटक प्रवद्धन गर्न भन्दै उक्त एयरलाइन्सले १६ वटा प्याकेजको सार्वजनिक गरेको छ । होटल, ट्राभल्स र ट्रेकिङ कम्पनीहरूसँगको सहकार्यमा एयरलाइन्सले सहुलियतमा उपलब्ध गराएका भ्रमण प्याकेजमा पर्यटकको आकर्षण देखिन्छ । ५ असोजमा घोषणा भएको उक्त प्याकेज खरिद गर्नेको संख्या हालसम्म दुई सय २५ नाघेको एइरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । बर्तौलाका अनुसार एभरेष्ट ट्रायल, घान्द्रुक, रारा र चितवन जंगल सफारीको प्याकेजमा पर्यटकको आकर्षण बढी देखिन्छ । एयरलाइन्सले उपलब्ध गराएको यो प्याकेज आगामी अप्रिल सम्म कायम हुने बर्र्तौलाले जानकारी दिए । यो सुविधा पर्यटकका लागि हालसम्मकै सस्तो भएको र भविश्यमा पनि यस्ता प्याकेज आउने सम्भावना नरहेको उनी बताउँछन् । उनका अनुसार प्याकेजमध्येमा पर्यटकको सार्वाधिक आकर्षण एभरेष्ट ट्रायलमा छ । हवाइ भाडाका अतिरिक्त गाइड, होटल र ब्रेकफास्टको सुविधासहित १४ हजारमै लुक्ला पुग्न सकिने यो प्याकेजकै कारण यतिबेला सगरमाथा क्षेत्रमा पर्यटकको घुईंचो लागेको उनी बताउँछन् । त्यसैगरी एयरलाइन्सले १३ हजारमै मुक्तिनाथ यात्राको प्याकेज ल्याएको छ । तीन रात चार दिनको यो प्याकेजमा पनि ब्रेकफास्ट र होटलसहितको जाने–आउने खर्च जोडिएको छ । पाँच रात ६ दिनको घान्द्रुक ट्रिप पनि १२ हजारमै उपलब्ध छ । एकै ठाउँमा होटलको स्तर र सुविधाको स्तरअनुसारका प्याकेज छन् । बुद्ध एयरलाइन्सले २१ सेप्टेम्बरदेखि आन्तरिक उडान सुरुगरेसँगै होलिडे प्याकेजको पनि व्यवस्था गरेकोे थियो । आफ्ना जहाज जुन गन्तव्यमा पुग्छन् ती सबै गन्तव्यमा ‘ट्वीन सेयरिङ’ प्याकेजको व्यवस्था गरेको छ । ‘लकडाउन खुलेसँगै पर्यटकीय क्षेत्रतिर मान्छेको चलहलपहल सुरु होस् भन्ने मनासायले प्याकेज ल्याएका थियौं,’ बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक प्रसरजंग पाण्डेले भने । हालसम्म एक सय ७३ जना जोडी अर्थात् तीन सय ४६ जनाले उक्त प्याकेज खरिद गरेका र ग्राहकको प्रतिक्रिया पनि राम्रो भएको उनको दाबी छ । ‘कोभिड १९ को स्वास्थ्य प्रोटोकोल जहाजदेखि होटलसम्मै कायम गरेका छौं,’ उनले भने । होटल अनुसार एयरलाइन्सले ६ हजारदेखि १० हजारसम्मको प्याकेज मूल्य तोकेको छ । । आधिकांश पर्यटकले ६ हजारको प्याकेज खरिद गरेको पाण्डेले बताए । पाण्डेका अनुसार बुद्ध एयरका सबै गन्तव्यमा प्याकेजको व्यवस्था गरिएपनि पोखरा र भरतपुरको प्याकेजमा आकर्षण धेरै छ । बर्दिया र चितवनमा हालसम्म आठ जनाको टोलीले प्याकेज लिएका छन् । हालसम्म होलिडे प्याकेज ल्याउनेमा यती र बुद्ध एयरलाइन्समात्र छन् । सौर्य एइरलाइन्सले पनि तिहारपछि प्याकेजको व्यवस्था थाल्ने उक्त एयरका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले बताए । ट्राभल एजेन्सीहरूले भने हालसम्म प्याकेज र योजना ल्याएका देखिन्न । ट्राभल एजेन्सीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर्स (नाटा) का अध्यक्ष अच्यूत गुुरागाईं तिहारपछिमात्र प्याकेज ल्याउने योजनामा ट्राभल एजेन्सीहरू रहेको बताउँछन् । ‘एइरलाइन्सहरूले अलि पहिलाबाट नै तयारी थालेका थिए,’ उनी भन्छन्, ‘पर्यटन बोर्डसँग मिलेर तयारी थाल्ने भन्दाभन्दै ढिलो भयो ।’ उनले भने ।