NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस बैठक : संस्थापनको अडान, पौडेल पक्षको ढिपी

काठमाडौं । केन्द्रीय समितिको बैठक अघि विवादलाई साँघुरो बनाउन दोस्रो पटक बसेको कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्य बैठकले बिहीबार पनि कुनै सहमति जुटाउन सकेन । दुई दिन अघि केन्द्रीय कार्यालयमा सानेपामा दुवै पक्षले आ–आफ्ना अडान प्रस्तुत गरेका थिए । दुई दिनपछि सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पुनः बैठक बसे पनि कुनै निकास निस्केन । देउवा निवासमा पौडेल पक्षले आफूहरुले अघि सारेका १६ बुँदेका समायोजन, विभाग, क्रियाशील सदस्यताको विषयमा संस्थापनले गल्ती स्वीकानुपर्ने अडान राखेको जानकारी नेता अर्जुननरसिंह केसीले दिए । ‘अघिल्लो बैठकमा जस्तै बिहीबार पनि हाम्रो तर्फबाट प्रकाशमान सिंह, बलबहादुर केसी र चन्द्र भण्डारीले महाधिवेशनको मुखमा विभाग गठन विधान विपरीत भएको, सदस्यता र समायोजनमाा संस्थापनले मनोमानी गरेको भन्दै आफूहरुका १६ बुँदामा परेका यस्ता मागलाई सम्बोधन गर्न आग्रह गर्नुभयो’ केसीले नेपालवाचसँग भने, ‘तर, संस्थापनबाट जति भएका छन् विधानसम्मतः नै भएका छन् भन्ने कुरा आयो । १६ बुँदेभन्दा बाहेकका अरु विषयमा भने छलफल गर्न सकिन्छ भन्ने कुरा सभापतिबाट आएको छ ।’ सभापति देउवाले आफूहरुले विभाग गठन, समायोजन र सदस्यताको कामलाई विधान अनुसार नै अघि बढाएको भन्दै थप आवश्यक विषय भए छलफल गरेर जान तयार रहेको बताए । संस्थापनका तर्फबाट नेता ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले पनि विधानसम्मत नै काम भएको जिकिर गरेका थिए । इतर पक्षले १६ बुँदे माग व्यक्तिगत प्रयोजनका लागि र कुनै प्रतिरोध वा विरोधको लागि नभई पार्टीको लागि भएको तर्क पौडेल पक्षले बिहीबार पनि दोहोर्‌याएको थियो । कुनै सहमति नभएपछि शुक्रबार केन्द्रीय समितिको बैठकपूर्व पुनः सिनियर नेताहरु छलफलमा जुट्नेगरी बैठकबाट बाहिरिएका छन् । याे पनि पढ्नुस् विवाद नमिलेपछि तेस्रोपटक पनि सर्यो कांग्रेस बैठक