NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कमिशनका लागि ‘ग्लोबल रेस्क्यू’ सँग सम्झौता तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिईओ) धनञ्जय रेग्मी र पर्यटन मन्त्री योगेश भट्टराईको मिलेमतोमा नेपाल आउने विदेशी पर्यटकको बिमा, उद्दार र उपचारको जिम्मा ‘ग्लोबल रेस्क्यु’ नामक विदेशी कम्पनीलाई दिन लागिएको छ । बोर्डले स्वदेशी व्यवसायी तथा बीमा कम्पनीलाई पाखा लगाउँदै अमेरिकी निजी कम्पनी ‘ग्लोबल रेस्क्यू’ सँग एकलौटी प्रस्ताव अघि बढाएको हो । विदेशी पर्यटकको बिमा, उद्दार र उपचारको जिम्मा ग्लोबल रेस्क्युलाई दिने र ग्लोबल रेस्क्युले मुस्ताङ एयरलाई दिने गरी पर्यटन बोर्ड नेतृत्व, ग्लोबल रेस्क्यु र मन्त्री योगेश भट्टराईबीच गोप्य सहमति भइसकेको स्रोतको दावी छ । स्रोतका अनुसार मुस्ताङ एयरमा व्यवसायी पृष्ठभूमिका सिईओ रेग्मीको समेत लगानी छ । उक्त एयरले दुईवटा हेलिकोप्टर ल्याउने प्रक्रिया अघि बढाएको छ । आफ्नै स्वार्थसमेत जोडिएकाले पनि ग्लोबल रेस्क्यूसँग सम्झौता गर्नमा सिईओ रेग्मीको विशेष चाहना देखिएको छ । बोर्ड र ग्लोबल रेस्क्युबीच सम्झौता गर्ने र ग्लोबल रेस्क्युले मुस्ताङ एयरको हेलिकप्टर उद्धारमा प्रयोग गर्ने अर्को सम्झौता गरेर नेपालको पर्यटन रेस्क्युको व्यापार एकलौटी गर्ने खेलमा बोर्ड नेतृत्व लागेको हो । बोर्डका कार्यकारी अधिकृत रेग्मीको यस्तो योजनालाई पर्यटन मन्त्री योगेश भट्टराईले साथ दिएका छन् । बोर्डको निर्णयबाट भविश्यमा हेलिकोप्टर रेस्क्यूमा मुस्ताङ एयरले एकाधिकार जमाउने र पर्यटन व्यवसायलाई सिथिल बनाउने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । पर्यटन बोर्डले अघि बढाएको ग्लोबल रेस्क्युको प्रस्ताव बमोजिम नै सम्झौता भए बोर्ड र ग्लोबल रेस्क्युबीच पर्यटकको फिल्ड रेक्स्यू, मेडिकल सुविधा तथा अत्यावश्यक सेवा दिने लगायतका विषयमा सहकार्य हुनेछ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै यसको स्क्रिनिङ, ट्रयाकिङ र कोरोना संक्रमण पुष्टि भएका पर्यटकलाई क्वारेन्टिनको पनि व्यवस्था मिलाउने प्रस्तावमा उल्लेख छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई बचाउन भन्दै सरकारले एक कात्तिकबाट अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल खुला गरिएको छ । योसँगै पर्यटकको स्वास्थ्य सेवा तथा इमर्जेन्सी सुरक्षा दिनका लागि यो निर्णय गर्न लागेको बोर्डको तर्क छ । तर, एकलौटी रूपमा ग्लोबल रेस्क्यूसँग नै किन सम्झौता गर्नुप¥यो भन्ने जवाफ बोर्डसँग छैन ।पर्यटन बोर्डका एक अधिकारीले भने, ‘भविश्यमा ग्लोबल रेस्क्यूले गर्ने सम्पूर्ण उद्वार मुस्ताङ एयरबाट गर्ने चाँजोपाँजोमा प्रस्ताव आएको हो, अहिलेकै प्रस्ताव अनुसार सम्झौता भए नेपालको आन्तरिक पर्यटन व्यवसाय मारमा पर्छ ।’ बोर्डको नेतृत्व पर्यटन व्यवसायीको हित विपरित लागेको भन्दै एक पर्यटन व्यवसायी भन्छन्, ‘पर्यटन व्यवसायको हितका लागि गठन भएको संस्थाले व्यवसायीकै हित विपरित काम गर्न मिल्छ ? बोर्डका अध्यक्षज्यूले मोनोपोली गर्न खोज्नुभो ।’ विशेषगरी पर्यटकको उद्वार गर्ने काम बिमा कम्पनीको हो । यसअघि पनि बिमा कम्पनीबाटै यी सबै काम हुँदै आएका छन् । ग्लोबल रेस्क्यूसँग एकलौटी सम्झौता गर्नुअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमा कम्पनीलाई पनि आह्वान गर्नुपर्ने बताउँछन्, टानका अध्यक्ष खुमबहादुर सुवेदी । ‘सबै बिमा कम्पनीलाई आह्वान गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘यदि सबैले हात झिके र अन्तिममा ग्लोबल रेस्क्यूमात्र बाँकी रह्यो भने उसैसँग सम्झौता गरिए आपत्ति छैन ।’ एकलौटी रूपमा ग्लोबल रेस्क्यूलाई जिम्मेवारी दिन खोज्नु शंकास्पद रहेको उनको भनाई छ । उनले भने, ‘बोर्डले तोकेका आफ्नै मापदण्ड होलान्, त्यो पूरा गर्नका लागि पनि कम्पनीबीच प्रतिस्पर्धा गर्नुपर्छ ।’ कुनै पनि विषयमा निर्णय लिँदा सरोकारवालाहरूसँग छलफल गर्नु आवश्यक हुन्छ । नेपालमा पर्यटन क्षेत्रमा ३८ वटा छाता संगठन छन् । कुनै पनि सम्झौता गर्नुअघि यी संगठनसँग बसेर छलफल गर्नु जरुरी हुन्थ्यो । तर, यसबारे कुनै पनि निकायसँग राम्ररी छलफल नगरिएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन् । ‘बिमा रकम महंगो भएर विदेशी पर्यटक नआएका बेलामा नयाँ कदम चाल्नुपर्छ तर प्रक्रिया पारदर्शी हुनुपर्छ,’ उनी भन्छन्, ‘कसैलाई कमिसन खाने भाँडोको रुपमा पर्यटन बोर्ड प्रयोग नहोस् भन्ने हाम्रो सरोकार हो ।’ नेपालमा पर्यटकको सुरक्षा, स्वास्थ्य सेवा र इमर्जेन्सी उद्धारका लागि बोर्डले बिना प्रतिस्पर्धा ग्लोबल रेस्क्यूलाई प्रस्ताव गरेको हो । बाहिरबाट एकथरी देखिएपनि पर्यटन बोर्डका कार्यकारी निर्देशक र पर्यटन मन्त्री स्वयंको संलग्नतामा कमिसनकै लागि एकलौटी निर्णय हुन खोजेको पर्यटन व्यवसायीहरुको आरोप छ । प्रस्तावपत्रमा ग्लोबल रेस्क्यूसँग बोर्डले कोरोना परीक्षण, क्वारेन्टिन, ट्राकिङको पनि व्यवस्थाको माग गरेको छ । योसँगै पर्यटकको उद्वारका लागि काठमाडौं एमर्जेन्सी अपरेसन सेन्टरको पनि स्थापना गर्ने प्रस्ताव छ । यसमा उक्त कम्पनीले सहमति जनाइसकेको छ । अब टिओआर बनाएर ग्लोबल टेन्डर गर्छौं : धनञ्जय रेग्मी, सीईओ, नेपाल पर्यटन बोर्ड नेपाल आउने विदेशी पर्यटकको बीमा, उद्दार र उपचारको जिम्मा एकलौटी रुपमा ग्लोबल रेस्क्यूलाई दिन लागेको भन्ने कुरा गलत हो । ग्लोबल रेस्क्यूले प्रस्ताव गरेकोमात्र हो, यस विषयमा कुनै निर्णय नै भइसकेको छैन । यस विषयमा हामीले बोर्ड व्यवसायी र पर्यटनका छाता संगठनहरूसँग पनि छलफल गरेको छ । छलफलका लागि गएपछि नै विषय बाहिर आएको हो । पर्यटकको उद्दारका लागि ग्लोबल रेस्क्युमात्र हुनुपर्छ भन्ने छैन । यसमा काम गर्न सक्ने संसारका जुनसुकै कम्पनी भए पनि हुन्छ । अब ‘टिओआर’ नै बनाएर ग्लोबल टेन्डर गर्ने तयारी बोर्डले गरेको छ । अहिले उद्दारका लागि कम्पनीपिच्छे सबैका आ–आफ्नै ‘रेट’ छन् । विभिन्न कम्पनीहरूले छुट्टाछुट्टै ‘रेट’ मा उद्दारको काम गरिरहेका छन् । यसमा ठगीका गुनासाहरू पनि आएका छन् । कि अहिलेकै अवस्था ठिक छ भन्नुप¥यो, नत्र राम्रोका लागि अघि बढ्नुपर्यो । राम्रोका लागि र सुधार गर्ने भनेरै अगाडि बढेका हौं । जहाँसम्म मुस्ताङ एयरमा मेरो लगानीको कुरा आएको छ, यो विल्कुल गलत हो । यो विषय मलाई नै थाहा छैन, कसरी बाहिर आयो ?