NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १५ गते

अमेरिकी चुनाव : इलेक्टोरल भोटमा बाइडन अगाडि, किन महत्वपूर्ण छ इलेक्टोरल ?

पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका जो बाइडनले हालसम्म दुई सय ६४ इलेक्टोरल कलेज भोट प्राप्त गरेर अमेरिकाको राष्ट्रपति चुनावको प्रतिस्पर्धामा अग्रता लिएका छन् । उनलाई अमेरिकाको राष्ट्रपति बन्न अब जम्मा ६ इलेक्टोरल कलेज भोटको आवश्यकता छ । अमेरिकामा जसले बढी इलेक्टोरल कलेज भोट प्राप्त गर्छ, उसको चुनाव जित्ने सम्भावना धेरै हुन्छ । अमेरिकामा दुई सय ७० इलेक्टोरल भोटलाई निर्णायक मानिन्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनले पपुलर मत बढी ल्याएकी थिइन, तर इलेक्टोरल भोटको कमीका कारण रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विरुद्ध हारेकी थिइन् । अमेरिकाको संविधानले नै इलेक्टोरल कलेजको व्यवस्था गरेको छ । इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा इलेक्टोरल कलेजद्धारा पाँच सय ३८ इलेक्टर्स चुनिन्छ । पाँच सय ३८ इलेक्टर्समा चार सय ३५ प्रतिनिधि, सय सिनेटर्स र तीन डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुन्छन् । त्यस्तै, अमेरिकाको ५० राज्यमध्ये प्रत्येक राज्यबाट दुई जनाका दरले सिनेटर नियुक्त हुन्छन् । हाउसमा भने सो जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिएको हुन्छ । जस्तै, क्यालिफोर्नियामा हाउसबाट ५३ जना इलेक्टर्स चुनिन्छन् । सिनेटरबाट दुईजना चुनिन्छन् । हाउसबाट चुनिने ५३ इलेक्टर्स र सिनेटबाट चुनिने दुई सिनेटर जोडेर नै क्यालिफोर्नियामा कुल इलेक्टर्सको संख्या ५५ निर्धारण गरिन्छ । यी इलेक्टर्सले नै अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिकोे निर्णय गर्छन् । त्यसैले चुनावी मैदानमा जीत हासिल गर्न इलेक्टर्सको महत्वपूर्ण भूमिका रहने गर्छ । अमेरिकाको जुन राज्यका उम्मेदवारले स्टेट भोटलाई बहुमतले प्रात गर्छन्, उसले इलेक्टोरल भोट हासिल गर्छन् । हार्नेले एउटा पनि इलेक्टाेरल भोट पाउँदैन । अमेरिकाको राष्ट्रपति चुनावमा कुन उम्मेदवारले कुन राज्यमा जित्यो भनेर छुट्याउन मात्र प्रत्येक्ष मतगणना हुन्छ । यस नियम अनुसार नेब्रास्का र मेनमा भने जनसंख्याका आधारमा इलेक्टोरल भोट बाँडिन्छ । बाँकी रहेका ४८ राज्यमा विजेताले सम्पूर्ण इलेक्टोरल भोट प्राप्त गर्छन् । इलेक्टोरल कलेज भोट प्राप्त गर्न उम्मेदवार चुनाव जित्न जरुरी छैन । प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्तिले पनि इलेक्टोरल भोट जित्न सक्छ । सन् २००० को राष्ट्रपति चुनावमा जर्ज डब्लु बुसले अलगोरका तुलनामा कम भोट प्राप्त गरेका थिए । तर, इलेक्टोरल भोट दुई सय ६६ को तुलनामा २७१ भोट प्राप्त गरेर बुस अमेरिकाको ४३ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिकाको हालसम्मको ४५ वटा निर्वाचनको इतिहासमा ५ निर्वाचन (सन् २०१६, २०००, १८८८, १८७६ र १८२४) मा एउटा उम्मेद्वारले धेरै प्रत्यक्ष मत र अर्को उम्मेदवारले धेरै इलेक्ट्रोरल कलेज प्राप्त गरेका छन् ।