NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओली–प्रचण्ड विवाद उत्कर्षमा : ओलीले नटेरेपछि प्रचण्डले आजै बोलाए सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई दिएको अल्टिमेटमभित्र पनि सचिवालयको बैठक नबोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाएका छन् । उनले अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी बोलाएका हुन् । प्रधानमन्त्री ओलीले औपचारिक बैठक बसे पार्टी विभाजनको विन्दू त्यहीँबाट हुने चेतावनी दिएपछि गत शुक्रबार प्रचण्डसँगै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु अनौपचारिक बैठक बसेका थिए । गत शनिबार उनीहरुले प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा पुगेर ४८ घण्टाभित्र बैठक बोलाउन पत्र दिएका थिए । तर प्रधानमन्त्रीले उनीहरुको पत्रलाई बेवास्था गरेपछि प्रचण्डले कार्यकारीको अधिकार प्रयोग गरी बैठक डाकेका हुन् । मुख्यगरी कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद अविश्वासको प्रस्ताव, मन्त्रीहरु हेरफेर, रअका प्रमुखको नेपाल भ्रमणपछि दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले नै पार्टी फुटाएर अघि बढौं भन्ने प्रस्ताव गरेपछि नेकपाको आन्तरिक राजनीति झन् ध्रुवीकरणतिर गएको छ । प्रचण्डसँग दुरी बढेपछि ओलीले माधव नेपाललाई बोलाएर प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न आग्रह गरेका थिए । तर, संकटमा नेताहरुलाई आश्वासन दिने तर, अघिपछि निरन्तर पेल्ने ओलीको स्वभाव रहेको भन्दै पछिल्लो समय प्रचण्ड, माधव नेपालसहितका नेताहरु ओलीविरुद्ध खुलेरै लागेका छन् ।