NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक सकिएको छ ।नेकपाको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्ड प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेको थिए । भेटमा प्रचण्डले ओलीलाई बुधबार सचिवालय बैठक बोलाउनेबारे सहमति जनाउन भनेको थिए । तर, ओलीले आफ्नो अन्तै कार्यक्रम तय भएको जवाफ दिएका थिए । बैठक सकिएपछि पार्र्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसो भए २७ गते बिहीबार बैठक बोलाउँ सहमति जनाउनुस् भन्नु भएछ तर प्रधानमन्त्रीले त्यस दिन पनि बैठक बोलाउने बारे सहमति जनाउनु भएन ।’ प्रधानमन्त्री ओलीले औपचारिक बैठक बसे पार्टी विभाजनको विन्दु त्यहींबाट सुरु हुने चेतावनी दिएपछि गत शुक्रबार प्रचण्डसँगै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू अनौपचारिक बैठक बसेका थिए । गत शनिबार बालुवाटार पुगेर प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले ४८ घण्टाभित्र बैठक बोलाउनेबारे सहमति जनाउन प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्रीले उनीहरुको पत्रलाई बेवास्ता गरेपछि प्रचण्डले कार्यकारीको अधिकार प्रयोग गरी बैठक डाक्ने तयारीमा थिए । तर, आजको बैठक पनि औपचारिकतामा प्रवेश गर्नै पाएन । मुख्यगरी कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद अविश्वासको प्रस्ताव, मन्त्रीहरु हेरफेर, रअका प्रमुखको नेपाल भ्रमणपछि दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले नै पार्टी फुटाएर अघि बढौं भन्ने प्रस्ताव गरेपछि नेकपाको आन्तरिक राजनीति झन् ध्रुवीकरणतिर गएको छ । प्रचण्डसँग दुरी बढेपछि ओलीले माधव नेपाललाई बोलाएर प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न आग्रह गरेका थिए । तर, संकटमा नेताहरुलाई आश्वासन दिने तर, अघिपछि निरन्तर पेल्ने ओलीको स्वभाव रहेको भन्दै पछिल्लो समय प्रचण्ड, माधव नेपालसहितका नेताहरु ओलीविरुद्ध खुलेरै लागेका छन् । बैठकमा कोको अनुपस्थित ?प्रचण्डले बोलाएको आजको बैठकमा सरकारमा सहभागी सचिवालय सदस्यहरू उपस्थित थिएनन् । बैठकमा पूर्वमाओवादीतर्फका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज पनि अनुपस्थित रहे । त्यस्तै, ओली खेमाका महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि बैठकमा गएनन् ।