NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जडीबुटी उत्पादन कम्पनीद्वारा उत्पादित सञ्चोका थप दुई उत्पादन बजारमा

काठमाडौं । सरकारी स्वामित्वको संस्थान जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्ना दुई हर्बल उत्पादन ‘सञ्चो वाम’ तथा ‘सञ्चो ह्याण्ड सानिटाईजर’ बजारमा ल्याएको छ । केन्द्रले असोजदेखि आफ्ना उत्पादन विभिन्न ‘डिपार्टमेन्टल स्टोर’ मार्फत बजारमा ल्याएको हो । आफ्ना प्रमुख डिस्ट्रिव्युटर्समार्फत प्रति वर्ष न्युनतम २० लाख पिस बेच्ने सहमतिका साथ केन्द्रले सञ्चोका अन्य उत्पादनको बिक्रीवितरण सुरु गरेको हो । ‘वर्षमा न्युनतम २० लाख पिस बेच्ने सहमति सहित हामीले सञ्चोका नयाँ दुई उत्पादन बजारमा ल्याएका छौ,’ जडिबुटी तथा प्रशोधन केन्द्र, कोटेश्वरका सुचना अधिकारी रेवतीराज अधिकारीले भने । सञ्चो विशेषगरी टाउको दुख्दा, ज्वरो आउँदा, रुघाखोकी लाग्दा प्रयोग गरिन्छ । यसबाहेक, कम्पनीले हिमालय मसाज आयल, शिलाजित लगायतका उत्पादन पनि बजारमा बिक्रीवितरण गर्दै आएको छ । जिएमपीमा जाने तयारी सञ्चो लगायतका उत्पादनको ब्राण्डिङ्ग तथा प्रवद्र्धनकै लागि जडिबुटी प्रशोधन कम्पनीले आफ्ना उत्पादनलाई जिएमपी (गुड म्यानुफ्याक्चरिङ्ग प्राक्टिस)मा लैजाने तयारी सुरु गरेको छ । जिएमपीका लागि कम्पनीले भवन निर्माणको काम अघि बढाउनुका साथै अत्याधुनिक प्रविधियुक्त मेसिनद्धारा सञ्चोलाई अटोमेटिक फिलिङ्ग गर्ने तयारी गर्दैछ । सातै प्रदेशमा विस्तारको योजना कोटेश्वर जडिबुटी तथा प्रशोधन कम्पनी लिमिटेडले अबको डेढ वर्षमा प्रशोधन केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने योजना अघि सारेको छ । जस अन्तर्गत कर्णाली प्रदेशको जाजरकोटमा प्रशोधन प्लान्ट राख्नका लागि प्रारम्भिक वातावरणाीय परीक्षण (आईईई) काम अगाडि बढाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा विस्तार कार्य अघि बढाउनुका साथै सुदुरपश्चिम प्रदेशमा पनि केन्द्र गठनको तयारी सुरु गरेको छ । प्रदेश १ को मोरङ्ग, प्रदेश २ को वारा तथा वागमती प्रदेशको काठमाडौमा कम्पनीको प्रशोधन केन्द्र पहिले नै स्थापना भइसकेको छ । औषधिजन्य वनस्पति उत्पादनकै लागि कम्पनीले मोरङको बेलवारीमा ७० हेक्टर जमिन लिजमा लिएर खेती गर्नुका साथै सुनसरीको तरहलामा २५ हेक्टर जमिन रहेको आफ्नै जग्गामा, बाराको तामागढीमा रहेको तीन सय ५० हेक्टर जमिनमा केमोमाइल, फ्रेञ्च बेसिल, पाल्मारोसा, मेन्था, सिट्रोनेला तथा लेमनग्रास लगायत औषधिजन्य वनस्पतिको खेती गर्दै आएको छ । त्यस्तै, कैलालीको टिकापुरमा चार विघा जमिनमा प्रोसेसिङ्ग प्लान्टद्धारा वनस्पति प्रशोधन गर्दै आएको छ । नेपालमा उत्पादितमध्ये करिब १६ सय २४ जडिबुटीमा औषधिय गुण रहेको संस्थान बताउँछ । जबकी श्रीलंकामा १४ सय, भारतमा २५ सय तथा चीनमा पाँच हजार प्रकारका जडिबुटी रहेका छन् । त्यसबाहेक, नेपालमा झण्डै दुई हजार प्रजातीका विभिन्न वनस्पति, गैरकाष्ठ तथा वन पैदावारको रुपमा पहिचान भएको छ । यसमध्ये आठ सय १९ भन्दा बढी वनस्पतिका प्रजाती जडिबुटीका रुपमा प्रयोग हुने गरेको छ । त्यसमध्ये कम्पनीले औषधीजन्य वनस्पती तथा सुगन्धित जडिबुटीको खेती, संकलन तथा उत्पादन र प्रशोधनगरी विभिन्न विभिन्न हर्बल औषधी लगायत सुगन्धित तेलहरूको उत्पादन गर्दै आईरहेको छ ।‘सरकारले कम्पनी सञ्चालनका लागि ०४९ सालमा एडिबीसँग ३÷४ लिएको ऋण सहयोग बढ्दै गएर १२÷१३ करोड रुपैयाँ पुगेको छ, ऋण चुक्ता गर्न तथा अन्य ठाउँमा केन्द्र विस्तार गर्ने योजना सहित हामीले सरकार समक्ष विजनेश प्लान बुझाएका छौं,’ संस्थानका सूचना अधिकारी अधिकारीले भने । उनका अनुसार हालै सरकारले संस्थानलाई १८ करोड ऋण सहयोग दिएको छ । त्यही सहयोगबाट प्राप्त रकमले विभिन्न ठाउँमा केन्द्र विस्तार गर्नुका साथै संस्थान स्तरोन्नती गर्ने उनले बताए । पुँजी वृद्धिका लागि आगामी पुसको अन्तिम साता साधारणसभा मार्फत कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी पनि कम्पनीको छ । जनशक्ति अभाव मुख्य समस्या जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड वि.सं २०३८ सालमा कोटेश्वर स्थापना भएको संस्था हो । कोरा जडिबुटीको उत्पादन, प्रशोधन तथा बिक्रीवितरण गर्ने उद्देश्यले संस्थान स्थापना भएको थियो । कम्पनीमा हाल ४१ जना कर्मचारी स्थायी जनशक्ति छन् भने बाँकी करारमा कार्यरत छन् । ०७२ सालमा ३० वर्ष माथिका ४० जना कर्मचारी स्वेच्छिक अवकासमा गएपछि कम्पनीमा दक्ष जनशक्तिको अभाव हुँदै आएको थियो । जसका कारण कम्पनीले औषधिजन्य वनस्पतिबाट तेल उत्पादन गर्ने बाहेक अन्य क्षेत्रमा हात हात हाल्न सकेको थिएन । अभाव भएका कर्मचारी पूर्ति गर्न कम्पनीले विनियमावली संसोधन गरी स्वीकृतिका लागि सरकारलाई पठाएको थियो । अर्थ मन्त्रालय र लोकसेवा आयोगले विनायमावलीबारे सहमति दिएपछि अहिले नियमावलीको मस्यौदा वन मन्त्रालयमा छ । वन मन्त्रालयबाट स्वीकृति आउनासाथ आवश्यक जनशक्ति व्यवस्थापनको काम सुचारु गरिने कम्पनीले बताएको छ । सार्वजनिक खरीद ऐन मुख्य बाधक औषधिजन्य वनस्पति एवं जडिबुटीको सहज उपलब्धता नै प्रमुख समस्या रहेको संस्थान बताउँछ । यो समस्या कम गर्नका लागि कम्पनीले छुट्टै खरिद कार्यविधि बनाएर सार्वजनिक खरीद अनुगमन कार्यालयमा बुझाएको थियो । तर, कार्यविधि बुझाएकोे आठ महिना बितिसक्दा समेत कुनै जवाफ नआएको कम्पनीले बताएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहमति आउनासाथ कम्पनीलाई औषधिजन्य वनस्पति सिधै कृषक÷व्यापारीबाट खरीद गर्न सक्ने बाटो खुल्नेछ । सधै ओझेलमा परेको संस्था जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र सरकारको स्वायत्त संस्था हो । तर, दक्ष जनशक्ति, उचित व्यवस्थापन तथा आवश्यक बजेट, व्यवसायीक योजना आदिको अभाव, राजनीतिक अस्थिरता तथा सरकारको प्राथमिकतामा नपरेका कारण अपेक्षित गति लिन नसकेको संस्थान बताउँछ । ‘सरकारको नीति तथा कार्यक्रममा परेसँगै अबको केही वर्षमा यसको स्वरुप फेरिन्छ भन्नेमा हामी आशावादी रहेका छौ’, कम्पनीका सुचना अधिकारी अधिकारी भन्छन् ।