NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का

काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ । केही समयभित्रै निर्माणस्थल खाली भइसक्ने भएकाले आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । निर्माण शुरु भएको छ महिनामा सम्पन्न हुने पनि डिभिजनले जनाएको छ । डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार सो स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ । कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौँ महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने बताएको छ । उनले भने “बाँकी काम सकिएपछि अबको एक महिनामा ठेक्का प्रक्रियामा जान सकिन्छ ।” सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुङ्गिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिए । उनले भने, “एक महिनाभित्रमा त्यो विषय पनि टुङ्गिने हाम्रो विश्वास छ ।” काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको तयारी भइरहेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो ।