NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अब नेपालमै ‘अपसाइड डाउन वर्ल्ड’

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा क्याप्टेन वेद उप्रेती ट्रष्टद्वारा निर्माणाधीन महेन्द्रनगर म्यूजियम शुक्रवारदेखि खुला गरिएको छ । संग्रहालयको बाहिरी परिसर र शिद्धबाबाको मुर्ति पर्यटकका लागि खुला गरिएको हो । कोरोना संक्रमण कायम रहेसम्म संग्रहालयको भित्री भाग भने बन्द रहनेछ । तर, शिद्धबाबाको मुर्ति र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर स्वास्थ्य सतर्कता अपनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिनेछ । संग्रहालयमा बनेको ‘अपसाइड डाउन वल्र्ड’ त्यहाँको नयाँ पर्यटकीय स्थल बन्ने आशा गरिएको ट्रष्टले गरेको छ । ‘अपसाइड डाउन वर्ल्ड’ मा जुनसुकै वस्तुलाई उल्टो देखिन्छ । सामाजिक सञ्जालको जमानामा यो संग्रहालय राम्रो पर्यटकीय गन्तव्य बन्नेमा उप्रेती विश्वस्त छन् । फ्रान्सबाट सुरु भएको ‘अपसाइड डाउन वर्ल्ड’ एसियाली मुलुकमा पनि लोकप्रिय बन्दै गएको छ । इन्डोनेसियाको, मलेसिया, थाइल्यान्ड, ताइवानलगायत पुगिसकेका यस्तो ‘अपसाइड डाउन वल्र्ड’ देखिसकेको भए पनि नेपालका लागि भने यो पहिलो हो । क्याप्टेन वेद उप्रेतीका अनुसार सात करोड लगानीमा उक्त संग्रहालयमा स्थापना गरिएको हो । विगत सात वर्षदेखि निर्माणाधीन संग्रहालय गत वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी थियो । तर, लकडाउनका कारण निमार्णको काम प्रभावित हुँदा निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको उप्रेतीले बताए । ‘वेद उप्रेती ट्रस्ट’ द्धारा स्थापित एभिएसन म्युजियम अहिले काठमाडौं र धनगढीमा सञ्चालनमा छ ।‘अपसाइड डाउन वल्र्ड’ भएकै कारण यो संग्रहालय अन्यभन्दा फरक भएको उप्रेतीको दाबी छ । म्युजियम परिसर बाहिर शिद्धबाबाको मुर्तिसँगै स्विमिङपुल, नौधारा हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलका हवाईचित्रहरू रहेका छन् । संग्रहालयभित्र भने अपसाइड डाउन, थ्रिडी र इलुजन सेक्सन रहेका छन् । खासगरी युवायुवतीहरुलाई लक्षित गरेर बनाइएको यो संग्रहालय धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ट्रष्टले जनाएको छ । शिद्धनाथबाबाको जटाबाट निस्किने पानीको फोहोरा र विभिन्न देवीदेवताका शालिकहरूले धार्मिक पर्यटकलाई आकर्षित गर्ने ट्रष्टको लक्ष्य छ । म्युजियम निर्माण गर्न क्याप्टेन बेद उप्रेतीले विदेशमा प्रशिक्षक पाइलट रहँदा आर्जन गरेको कमाइबाट चार करोड रुपैयाँ लगानी गरेका छन् । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई संग्रहालय प्रवेश निःशुल्क गरिएको छ भने अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ । संग्रहालय पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि भने विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० प्रवेश शुल्क निर्धारण गरिने ट्रष्टले जनाएको छ ।