NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अमेरिकी सरकारबाट नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

काठमाडौँ । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । भेन्टिलेन्टर हस्तान्तरण लगत्तै मन्त्री ढकालले अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएका छन् । ‘कोरोनाबाट सबैभन्दा प्रभावति अमेरिकाले महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’ स्वास्थ्य मन्त्री ढकालले भने । उनले महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए । मन्त्री ढकालले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिने बताए । मन्त्री ढकालले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने समेत अपेक्षा सुनाएका छन् । कार्यक्रममा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताए । राजदूत बेरीले भने, ‘असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ । जसले कोभिड १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ।’ उनले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका बिधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिवद्ध रहेको बताए ।