NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एउटा बहादुर चालक जसले आफ्नो ज्यान गुमाएर बिरामीसहित चार जना बचाए

कालिकोटमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकले आफ्नो ज्यान फालेर बिरामी र तीनजना कुरुवालाई जोगाएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–११ चौखोलाबाट बिरामी बोकेर आएको कर्णाली प्रदेश ०२्००१ च ०१९२ नम्बरको एम्बुलेन्स खाँडाचक्र–८ को सेरावाडामा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा चालक ३३ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ । उनले एम्बुलेन्समा रहेका बिरामी र तीनजना कुरुवालाई भने जोगाएका छन् । स्थानीय बासिन्दाका अनुसार कर्णाली राजमार्गको सेरावाडामा साँघुरो मोडमा विपरीत दिशाबाट बस आएपछि एम्बुलेन्स सडकको किनार पुगेको थियो । अगाडि आउन नसकिने र पछाडि लग्न पनि नसकिने भएपछि चालक शाहीले बिरामी र कुरुवालाई ओर्लिन लगाएको स्थानीय वीरबहादुर मल्लले बताए । ‘साँघुरो मोडमा अगाडिबाट बस आएपछि एम्बुलेन्स लिकबाट बाहिर गएछ । ब्रेक लगाएर बिरामी र कुरुवालाई ओर्लिन लगाएछन्,’ मल्लले भने, ‘बिरामी र कुरुवा ओर्लिएपछि एम्बुलेन्स ब्याक गर्न खोज्दा खसेछ । उनी आफू गएर अरू चारजनाको ज्यान जोगाए ।’ जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार एम्बुलेन्स सडकबाट तीन सय मिटर तल तिला नदीमा खसेको छ । दुर्घटनामा एम्बुलेन्स पूर्ण रूपमा क्षति भएको छ । उनले बिहीबार खाँडाचक्र नगरपालिका–९ की ४३ वर्षीया धर्मकला विष्टलाई जिल्ला अस्पताल ल्याउन लागेका थिए । दमबाट पीडित विष्टको एकाएक पेट दुखेपछि एम्बुलेन्समा अस्पताल लग्न लागिएको स्थानीय बासिन्दाले बताए । दुर्घटनामा परेको एम्बुलेन्स पृथ्वी रक्तदान वीर फाउन्डेसनको हो । खाँडाचक्र–४ ताडीका शाही एक वर्षदेखि यो एम्बुलेन्स चलाउँदै आएको नयाँ पत्रिकामा उल्लेख छ ।