NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घुम्ने हैन त ? अल्ट्रालाइट उडानमा विशेष छुट

पोखरा । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको छ । पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरेको बताए । कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान शुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएको आयोजकको दावी छ । पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवर्दनका लागि सहुलियतमा उडान गरेको हो । अहिले पोखरामा पाँच हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ । अल्ट्रालाइट उडानमा विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालेको कम्पनीको भनाई छ । पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जो कोहीका लागि रोजाइको शहर हो । कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखीहरु पोखरामा झुम्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीहरुले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ । केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उडेका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताए । धेरै पहिलेदेखि उड्ने रहर थियो, कोभिड–१९ का कारणले रोकिएको इच्छा यसैबीच नै पूरा भयो । साहसिक खेलमा रुचि राख्ने श्रेष्ठले यसअघि बञ्जी जम्प, प्याराग्लाइडिङ, जीप फ्लायर, स्विङ, ¥याफ्टिङ गरिसकेको र अरूभन्दा अल्ट्रालाइट अझ विशेष लागेको अनुभव सुनाए । पोखराको मौसम निकै खुलेकाले पनि हिमशृङ्खला र फेवातालका दृश्यलाई निकै नजीकबाट अवलोकन गर्न सकिन्छ । माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेली एयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइटले मात्र उडान शुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यहरूलाई समेत सूचीकृत गरेको छ ।