NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जुवातास खेल्ने ९१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट ९१ जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका – ६ बिष्ट गाउँस्थित रबि बिष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ५ जाखाका ३७ वर्षीय महेश थापासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको खबर प्राप्त भएलगत्तै महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले २ लाख ५५ हजार ४ सय ५ रुपैयाँ र २ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकाकै वडा नं. ६ छाप बस्ने अछाम पञ्चदेवल बिनायक नगरपालिका–९ स्थायी घर भएका जनक शाहीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले नगद ५१ हजार २० रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै, धनकुटा नगरपालिका– ७ स्थित योगेन्द्र कार्कीले कोठा भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा धनकुटा नगरपालिका–१ बस्ने ३८ वर्षीय दिलिप रायमाझी लगायत १० जना पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख ११ हजार ६ सय रुपैयाँ पनि बरामद गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिप कुमार गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ८ जना पनि पक्राउ परेका छन् । भोर्लेटारबाट खटिएको प्रहरीले नगद १ लाख ८७ हजार २५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चितवनको रत्ननगर नगरपालिका– १६ खैरेटी बस्ने ५८ वर्षीय उदयबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा उनीलगायत ३० जनालाई पनि पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ३ लाख ५९ हजार ४ सय ९० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ । कास्की पोखरा महानरपालिका–६ लेकसाईडस्थित रोयलईमेज होटलको कोठामा कौडा खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरीले नगद १ लाख ३७ हजार ४ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो । बाराको कोल्हबी नगरपालिका–८ कट्टी टोलस्थित कुखुरा फार्ममा कौडा खेलिरहेका समिरकुमार चौधरीसहित १२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । त्यस्तै, कैलालीको टीकापुर नगरपालिका– १ का टेकबहादुर कडायतको घरमा जुवातास खेलिरहेका उनीहसहित ८ जना पनि पक्राउ परेका छन् । प्रहरीले नगद १ लाख २९ हजार रुपैयाँ र ४ गड्डी ताससमेत बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।