NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पाँच वर्षपछि रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि प्रवेश खुला

यसपटक काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन पाइने भएको छ । काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माणकार्य सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । ०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएकाे रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर र पोखरीलाई बेहुलीझैँ सिंगारेको छ । भिडभाड व्यवस्थापन र नियन्त्रणका लागि सुरक्षाको उचित प्रबन्ध गरिएको महानगरका वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनर्निर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएकाे सम्पदा पुनर्निर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाए । पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो । नेसं ७९० ९विसं १७२७, इसं १६७०० मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।