NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओलीलाई ‘भ्रष्टाचारीको संरक्षक’ भनेको प्रस्ताव प्रचण्डले फिर्ता लिन मानेनन्

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि लगाएका आरोपका कारण विवाद झन पेचिलो बन्दै गएको छ । यही विवादकाबीच मंगलबार नेकपा महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । नेकपाभित्रको विवाद ‘पत्र युद्ध’ हुँदै ‘समाजिक सञ्जाल युद्ध’ मार्फत छताछुल्ल भइरहेका बेला प्रधानमन्त्री ओलीको दूतका रुपमा प्रचण्डलाई भेट्न पौडेललाई पठाएका हुन् । आजको भेटमा प्रचण्डसँग पौडेलले सचिवालयको बैठकमा पेस गरेको १९ पृष्ठको राजनीति प्रतिवेदन फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गरेका थिए । तर, खुमलटार स्रोतका अनुसार प्रचण्डले भने बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने आफ्नो पूर्ववत् अडान दोहोर्याएका छन् । प्रतिवेदन फिर्ताका लागि आग्रह गर्न पौडेल हिजो पनि प्रचण्ड निवास पुगेका थिए । तर, उनको प्रयास भने सफल हुन सकेको छैन । यता प्रचण्डले प्रस्ताव फिर्ता नलिए बैठक नै नबस्ने ‘धम्की’ समेत ओली समूहले दिँदै आएको छ । उक्त समुहले सचिवालय बैठक सार्न पनि प्रस्ताव गरेकाे स्राेत बताउँछ । प्रचण्ड समूह भने प्रतिवेदनलाई सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीको बैठकबाट पारित गराउने पक्षमा देखिन्छ । केले चिड्यायो ओली समूहलाई ? गत शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदनमार्फत् प्रधानमन्त्री ओलीमाथि विभिन्न संगीन आरोपहरू लगाएका थिए । प्रतिवेदन मार्फत प्रचण्डले ओलीले भ्रष्टाचार गर्नेलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाएका थिए भने पार्टी कमिटीका निर्णय नमानेको, सरकार संचालन गर्न असफल भएको, गुटबन्दी गरेको लगायतका आरोप पनि लगाएका थिए । ‘वाइडबडी विमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयातमा घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजस्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर कमरेड केपी ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।’ प्रचण्डले बैठकमा पेस गरेको प्रतिवेदनको पक्षमा बहुमत सदस्य छन् । पार्टीभित्र रक्षात्मक अवस्थामा देखिएका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतसँग समेत छलफल गरिरहेका छन् । उनले नेता नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न र उपाध्यक्ष गौतमलाई उप्रधानमन्त्रीसहित रोजेर एउटा मन्त्रालय लिन फकाइरहेका छन् तर उनीहरुले मानिरहेका छैनन् ।