NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महानगरले रोकेपनि खुलामञ्चमा खाना खुवाइयो

काठमाडौं । कोभिड –१९ को कारण रोजगारी गुमाएर खान नपाउनेहरूलाई समाजसेवी केही समूहहरूले काठमाडौंको खुलामञ्चमा खाना खुवाउँदै आएका थिए । देशकै बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले आजदेखि खुलामञ्चमा खाना नखुवाउन निर्देशन दिएको थियो । तर ‘हाम्रो टीम नेपाल’ सामाजिक समूहले आज पनि खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तरता दिएको छ । खाना खानका लागि मानिसहरूको लाइन देखेपछि खाना खाना खुवाउन बाध्य भएको उक्त समूहका अध्यक्ष विमल पन्तले बताए । महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा नभई कुनै ठाउँमा व्यवस्थित गरी खाना खुवाउन ‘हाम्रो टीम नेपाल’ लाई आग्रह गरेको थियो । महानगरपालिका र हाम्रो टिमबीच खुलामञ्चमा खाना नखुवाउने सम्झौता समेत भएको थियो । तर, खाना खुवाउनको लागि अर्को उपयुक्त ठाउँ नभेटिएपछि त्यहीं खाना खुवाएको उक्त समूहले बताएको छ । नियमित खाना खान आउने नागरिकहरूले खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले प्रभावित पार्न खोजेको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले ‘कि काम देउ, कि खान देउ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । उनीहरूले सडकमा बसेर खाना खानु आफुहरूको रहर नभई बाध्यता भएको बताएका छन् । हाम्रो टीम नेपालले लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेकाहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ ।