NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विमानस्थलका लागि अब छुट्टै सुरक्षा युनिट !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा सुरक्षामा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवासगृह उद्घाटन गर्ने क्रममा उनले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलप र त्यस्ता गतिविधि नियन्त्रणका लागि भिन्नै सुरक्षा युनिटको आवश्यकता रहेको उनको ठहर थियो । त्यसकै लागि ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको सुरक्षा युनिट गठन गर्न आफूले सम्बन्धित निकायसँग छलफल थालेको उनको भनाई छ । ट्राफिक प्रहरी, लागू औषधलगायतका विभिन्न विधामा नेपाल प्रहरीका भिन्नै सुरक्षा युनिट छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि लामो समयदेखि विमानस्थल सुरक्षाको लागि छ्ट्टै युनिटको व्यवस्था गर्न छलफल गर्दै आएको बताउँछन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्ण । ‘छुट्टै सुरक्षा युनिट खडा भएमा हवाइ तथा विमानस्थल सुरक्षाका लागि त्यही अनुसारको तालिम प्राप्त हुन्छ’ कर्णले भने, ‘एकै विषयमा केन्द्रित भएर लाग्दा विमानस्थलमा हुने आपराधिक गतिविधि, मानव बेचविखन, आतंकवादी हमलाजस्ता क्रियाकलापबाट बच्न सघाउ पुग्छ ।’ विमानस्थलको लागि बन्नुपर्ने सुरक्षा युनिटबारे नेपाल प्रहरी पनि सकारात्मक रहेको जानकारी उनले दिए । विमानस्थलमा खटिने सुरक्षाकर्मीको लागि यसअघि व्यवस्थित भवन थिएनन् । पुरानो जीर्ण भवन विस्थापित गरी नयाँ भवन तयार भएको हो ।